भाष्य बदल्ने कर्णाली–यात्रा
कर्णाली भाषा, सभ्यता र संस्कृतिका हिसाबले नेपालकै सर्वाधिक प्राचीन थलो हो। ऐतिहासिक दृष्टिबाट हेर्दा यो प्रदेश खस साम्राज्यको विरासत नै हो। भूगोलका दृष्टिले यो प्रदेशलाई कर्णाली नदी र यसका शाखाहरूको उपस्थितिले सिँचाइ र जलविद्युत्को भण्डारको रूपमा छ। आर्थिक, धार्मिक र सांस्कृतिक दृष्टिले उत्तर–दक्षिण व्यापार तथा सांस्कृतिक मार्गका रूपमा कर्णाली छ। यही प्रदेश भएर मानसरोवर एवं मध्य एसियाको गेटवे पुगिन्छ। यहाँ रहेका मन्दिर, बिहार, पत्थरनाउली, ज्वाला र पञ्चकोशी धामहरू, मालिकाहरू, ऐतिहासिक गुम्बाहरू, कीर्तिखम्ब र पञ्चदेवल, सिञ्जा र दुल्लुजस्ता गृष्मकालीन र शीतकालीन ऐतिहासिक डोबहरूले कर्णाली प्रदेशको सभ्यता र इतिहासको महŒवलाई थप पुष्टि गरेको छ।
कर्णालीलाई रोग, भोक, अशिक्षा, कुरीति र विकटजस्ता कष्टपूर्ण भाष्यबाट चिनाइयो। यहाँ आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले पनि कर्णालीका चाउरिएका गाला भएका फोटा, विकट गाउँ र कष्टपूर्ण जीवनशैलीका तस्बिर आदि राखेर विदेशी निकायसँग डलर माग्ने खेती गरे। जसका कारण कर्णालीको पहिचान नै रोग, भोक, अशिक्षा, कुरीति र विकटजस्ता कष्टपूर्ण रहेको प्रचार भयो। मध्यपश्चिम विश्वविद्यालय सामाजिक कार्य तथा पत्रकारिता केन्द्रीय विभागका प्रमुख खगेन्द्र अधिकारी भन्छन्, ‘कर्णाली अभाव, दुःख, कष्टको भण्डार हुँदै होइन। प्राचिन कालमा त कर्णाली मुलुककै एक समृद्ध राज्य थियो। अहिले पनि कर्णाली समस्याको थलो होइन। कर्णाली प्रदेश त चुनौतीका साथै अथाह सम्भावनाहरूको भण्डार हो। यहाँको पर्यटन, जडीबुटी र जलविद्युत्को उचित विकास हुने हो भने नेपाल कर्णालीबाटै विश्वकै धनी राष्ट्र बन्छ। त्यसका लागि योजनाबद्ध लगानी आवश्यक छ।’
कर्णालीमा लगानीका लागि सरकारले वातावरण बनाउनुपर्छ। अधिकारीले भने, कर्णालीमा जलविद्युत्को विकासका लागि कर्णालीकै अपनत्व हुनेगरी आयोजनामा लगानी गर्न जनताबाट सेयर माग गर्ने हो भने प्रशस्त लगानी जुट्छ। तर सरकारले त्यस्तो वातावरण बनाउँदैन। कर्णालीमा तथ्यांक बैंक पनि छैन। प्रदेश सरकारको आँगनमा विश्वविद्यालय छ। यहाँ प्रशस्त जनशक्ति पनि छ। प्रदेश सरकारले विश्वविद्यालयसँग सहकार्य गरेर कर्णालीको सबै सम्भावनाका तथ्य संकलन गर्नुपर्छ। तथ्यांकमा बलियो हुनुपर्छ। त्यसैको आधारमा योजनाबद्ध विकास गर्ने हो भने कर्णाली आममानिसको रोजाइको थलो बन्छ। नेपालकै सम्पन्न प्रदेश बन्छ।
कर्णाली प्रदेशसँग देशको कुल भू–भागको २०.५३ प्रतिशत भूभाग रहेको छ भने जनसंख्याको हिसाबले केवल ५.७९ प्रतिशत मात्र छ। यहाँ रहेका हिमाल, पहाड, लेकाली घाँसे मैदान, वनजंगल, कृषि भूमि, नदी, तालतलैया आदिले विशिष्ट उत्पादन तथा औषधिजन्य उत्पादनको प्रचुर सम्भावना छ। संस्कृति र सभ्यताको क्युरियो ढुकुटी हो कर्णाली प्रदेश। देउडा सम्राट्का रूपमा चिनिएका कालीकोटका नेत्रराज शाही भन्छन्, ‘संस्कार र मौलिक संस्कृतिमा कर्णाली उर्वर भूमि हो। कर्णालीको रसिलो देउडा, मष्टो देवता र खस सभ्यताको जननी, जोडा, चुट्किला, मागल, हुड्के, पञ्चेबाजा, कर्नाललगायत मौलिक सम्पत्ति हुन्। कस्तुरीले आफ्नै नाइटोबाट आएको सुगन्ध थाहा नपाएर त्यसैको खोजीमा वनभरि भौतारिए झै कर्णालीलाई पनि सम्पन्नताका प्रचुर सम्भावनाहरूलाई बेवास्ता गरी कृत्रिम उपनामले यहाँको पहिचान नै नकारात्मक बनाइएको छ।’
कर्णाली चिनाउने रैथाने बाली
नेपालकै अग्लो स्थानमा फल्ने निकै चर्चा कमाएको जुम्लाको मार्सी कर्णालीकै उत्पादन हो। जुम्लाका सुन्दर फाँटहरूमा फल्ने कालीमार्सी चामलको माग निकै बढ्दो छ। जुन चामल हाई क्यालोरीको खाद्यान्न हो। जुम्लाबाट सुर्खेत, नेपालगन्ज, बुटवल, हेटौंडा, विराटनगर, धनकुटा, काठमाडौंलगायतका बजारमा समेत कालीमार्सी चामल र अन्य स्थानीय उत्पादन पठाउने गरिएको छ। प्रदेशमा उत्पादन हुने ९ वटा रैथाने प्रजातिका बाली प्रदेश सरकारले संरक्षणको नीति लिएसँगै उत्पादनसमेत बढेको छ। कर्णालीमा उत्पादित खाद्यान्न बालीको छुट्टै मूल्यवान् लोगो बनाएर प्रदेश सरकारले बिक्री गर्न अनुमति दिएको छ। चिनो, कागुनो, उवा, लट्टे, फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमीलाई प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरी उक्त खाद्यान्न बिक्री गर्न लोगोसमेत प्रदान गरेको छ। जुन कर्णालीका लागि आर्थिक समृद्धिका लागि महŒवपूर्ण बाली हुन्।
प्रदेश कृषि विकास निर्देशनालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकाया कर्णालीको विशिष्ट भूगोल, रैथाने हावापानी र विषादीरहित खेती प्रणालीबाट उत्पादन गरिने भएकाले आन्तरिक तथा बाह्य बजारमा स्थानीय उत्पादनहरूको माग बढिरहेको बताउँछन्। उनका अनुसार कर्णालीमा गत आर्थिक वर्षमा मात्र ६ हजार ४ सय ११ टन रैथाने सिमी उत्पादन भएकोमा ६० प्रतिशत निर्यात भयो। कर्णालीबाट ७ हजार ७ सय टन मार्सी चामल निर्यात भयो। रैथाने सिमी, कोदो र मार्सी धानको जुम्ला र कालीकोटमा उत्पादन राम्रो छ। उवाको उत्पादन डोल्पा, हुम्ला र मुगुमा उत्पादन राम्रो छ। कर्णालीमा कोदो १८ हजार ४ सय ७३ हेक्टर, फापर २ हजार २९, जौ ९ हजार २ सय ८९, चिनो १ हजार ७ सय ८८, कागुनो १ हजार १ सय १७, लट्टे (मार्से) २४, स्थानीय सिमी ६ हजार ६ सय ५२, जुम्ली मार्सी धान ४ हजार ६ सय १५ र उवा १ हजार ८ सय १४ हेक्टर खेती हुने गरेको छ।
जलविद्युत्को हब कर्णाली
विद्युत् विकास विभागको तथ्यांकअनुसार कर्णाली प्रदेशमा करिब १८ हजार (१७ हजार ७ सय ९९) मेगावाटभन्दा बढी विद्युत् उत्पादनको क्षमता छ। विद्युत् उत्पादन सम्भावनाका हिसाबले ७ प्रदेशमध्ये कर्णाली दोस्रो स्थानमा पर्छ। तर कर्णालीमा हालसम्म पाँच साना जलविद्युत् आयोजनाबाट १६.५४ मेगावाट मात्रै बिजुली उत्पादन भइरहेको छ। कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार झन्डै १४ वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन्। जसबाट ९ सय ११.९ मेगावाट विद्युत् उत्पादन हुनेछ।
२०५६ सालदेखि चर्चामा रहेको निर्माणाधीन आयोजना माथिल्लो कर्णाली जलविद्युत् कर्णालीको विकासमा कोशेढुंगा बन्नेमा दुई मत छैन। यस्तै कर्णालीको अर्को ठूलो जलविद्युत् आयोजना हो– फुकोट कर्णाली अर्धजलाशययुक्त आयोजना। कालीकोटमा निर्माण हुने ४ सय ८० मेगावाटको यो आयोजनाको विस्तुत परियोजना प्रतिवेदन (डीपीआर) को काम सन् २०२२ मै सम्पन्न भइसकेको छ। यो कुल ९२ अर्ब लागतमा बन्न लागेको छ। डोल्पाको जगदुल्लामा बन्ने विद्युत् आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बन्यो– २०७८ सालमा। डोल्पाको जगदुल्ला र मुड्केचुला गाउँपालिका हुँदै बग्ने जगदुल्ला नदीमा निर्माण हुने आयोजनाबाट १ सय ६ मेगावाट विद्युत् उत्पादन हुनेछ। यो विद्युत् आयोजनाको लागत २० अर्ब छ।
यस्तै कर्णालीको अर्को ठुलो जलविद्युत् आयोजना जाजरकोटको नलगाड आयोजना हो। ४ सय १७ मेगावाट क्षमताको जलाशययुक्त यो जलविद्युत् आयोजना निर्माण हँुदैछ। जसको अनुमानित लागत १ खर्ब आठ अर्ब २६ करोड रुपैयाँ छ। कर्णाली प्रदेशमा प्रस्तावित सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ। १ हजार ९ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम अन्तिम चरणमा छ। कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिमको अछाम जिल्लाको सिमानामा निर्माण हुने बेतन कर्णाली जलविद्युत् आयोजना कर्णालीको अर्को ठुलो जलविद्युत् आयोजना हो। जुन ४ सय ३९ मेगावाटको यो आयोजना निर्माण गर्न ८८ अर्ब लाग्ने अनुमान छ।
कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा जम्मा ३ लाख ७१ हजार ६ सय ३८ घरधुरी छन्। जसमा हालसम्म विद्युतीकरण भएका २ लाख ७२ हजार ७ सय ९४ घरधुरी छन्। बाँकी ९८ हजार ८ सय ४४ घरधुरीमा विद्युतीकरण हुन बाँकी छ। विद्युतीकरणको काम तीव्र रूपमा भइरहेको छ। विद्युतीकरण भएका घरधुरीमा पनि २ लाख ११ हजार ५३ घरधुरीमा नेपाल विद्युत् प्राधिकरणको विद्युत् सेवा जडान छ भने ६१ हजार ७ सय ४१ घरधुरीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र अन्य निकायबाट वैकल्पिक ऊर्जा जडान गरिएको छ।
पर्यटनमा उज्यालो भविष्य
कर्णाली प्रदेश प्राकृतिक स्रोतसाधनले धनी छ। नेपालको पर्यटन प्रवद्र्धनको हिसाबले ‘भर्जिन’ क्षेत्र हो कर्णाली। समृद्ध कर्णाली प्रदेश बनाउन पहिलो र सजिलो विकल्प भनेको पर्यटन नै हो। नेपालकै सबैभन्दा ठूलो ताल रारा, स्वर्ग जस्तै सुन्दर नेपालकै गहिरो ताल से–फोक्सुण्डो ताल डोल्पा, नेपालकै अग्लो दाबी गरिएको कालीकोटको पचालझरना, पेट्रोलियम खानीका साथै आफैं ज्याला बल्ने पञ्चकोसीधाम दैलेख, कर्णालीको शक्तिपीठ चन्दानाथ बाबा जुम्ला, खस भाषाको उद्गमस्थल जुम्ला सिजा, गुम्बाहरूको धरोहर सुर्खेत काँक्रेबिहार, सुन्दर कालीकोटको त्रिवेणी पाटनजस्ता मनोरम प्राकृतिक स्थलहरूले कर्णाली भरिभराउ छ। चीनको स्वशासित क्षेत्र तिब्बतस्थित पवित्र तीर्थस्थल कैलाश मानसरोवरको प्रवेशद्वार पनि कर्णाली प्रदेश नै हो।
धेरैलाई कर्णाली विकट र सुविधाविहीन स्थान हो भन्ने भान छ भने भू–प्राकृतिक र भू–सांस्कृतिक हिसाबले यसले पर्यटकलाई पार्न सक्ने मनमोहकता र अक्षत (भर्जिन) अवस्थाको गन्तव्य हो कर्णाली। यसलाई प्रचार गर्न सकिरहेको अवस्था छैन। कर्णाली प्रदेशको प्रचुर सम्पदाले नेपालको समग्र समृद्धिलाई टेवा दिन सक्ने भए पनि यसको समुुचित उपयोग हुन सकेको छैन। कर्णाली प्रदेशमा मुगुको रारा राष्ट्रिय निकुञ्ज, विश्वकै अग्लो स्थानमा रहेको छायाँनाथ मन्दिर, डोल्पाको शेगुम्बा र वाला त्रिपुरा सुन्दरी, जुम्लाको नेपाली भाषा तथा सभ्यताको उद्गमथलो सिञ्जा उपत्यका, सुर्खेतको बुलबुले ताल, देउती बज्यै मन्दिर, कालीकोटको रास्कोटको देउरा पाटन, पञ्चदेवल, हुम्लाको लिमी उपत्यका, सबैभन्दा पुरानो हाल्जी गुम्बा, रलिङ गुम्बा, याल्वाङ गुम्बा, खार्पुनाथदेखि मानसरोवर कैलाशको पैदलयात्रा, सल्यानको कुपिन्डेदह, रुकुमको स्यार्पुदह, जाजरकोटको ठाकुरजी दह आदि प्रमुख पर्यटकीय सम्पदा छन्। दैलेखमा दुल्लु दरबार, विभिन्न जातिका ३२ थरको उद्गमस्थल पनि यही हो।
काँक्रेबिहार नेपालको एक प्राचीन सभ्यताको भग्नावशेष हो। सुर्खेत जिल्लाको लाटीकोइली गाविसमा अवस्थित यस स्थानमा बौद्ध धर्मसम्बन्धी पुराताŒिवक भवन तथा बिहारहरूको भग्नावशेष भेटिएको छ। काँक्रेबिहार भग्नावशेष नेपालको सबैभन्दा ठूलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार हो। यस्तै सर्वाधिक उचाइमा रहेको मानव वस्ती डोल्पाको छार्का भोट आकर्षणको अर्को गन्तव्य हो। कर्णाली नदीमा ¥याफ्टिङदेखि सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा प्याराग्लाइडिङजस्ता पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रयास पनि भइरहेको छ। अहिले कर्णाली प्रदेशमा वर्षमा करिब ५० हजार पर्यटक पुग्ने गरेका छन्। पर्यटन व्यवसायी मनराज सिम्खडा भन्छन्, ‘कर्णाली पर्यटन व्यवसायका लागि भर्जिन भूमि हो। तर पूर्वाधार बनिसकेका छैनन्। यसतर्फ सरकारको ध्यान जान जरुरी छ।’
दैलेख नेपाली भाषाको पहिलो अभिलेख भएको जिल्ला हो। अहिले पनि दुल्लुमा सो अभिलेख सुरक्षित छ। त्यस्तै, श्रीस्थान, नाभिस्थान, धुलेश्वर, पादुका र कोटिला पञ्चतीर्थस्थल पनि दैलेखमै छ। श्रीस्थान र नाभिस्थानमा रहेको कहिल्यै ननिभ्ने ज्वाला दैलेखको अर्को जीवन्त परिचय हो। प्रदेशसभा सदस्य तथा सामाजिक विकास समितिका सभापति घनश्याम भण्डारी भन्छन्, ‘विश्व सम्पदामा सूचीकृत हुनका लागि ‘क’ वर्गमा परेका भूर्तिका बाइस देवल, दैलेख गढी, दुल्लुको कीर्ति खम्बा यहाँका पर्यटकीयस्थल हुन्। तर, प्रचार–प्रसारको अभावमा यिनको चर्चा त्यति भएको छैन। मारुनी, गर्रा, दमाह, हुड्के, पैसरीजस्ता मौलिक नाचहरूले त्यहाँको संस्कृतिलाई पनि जीवन्त राखेको छ।’
कर्णालीको पर्यटन प्रवद्र्धनका लागि हवाई सेवा प्रभावकारी बन्न जरुरी छ। सिम्रिक एयरका पश्चिम इन्चार्ज कमल गौतम भन्छन्, ‘कर्णालीमा पर्यटन र समग्र विकास र समृद्धिका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा रहेको विमानस्थलमा सरकारी ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज राखेर हवाई सेवा नियमित बनाउनुपर्छ। यति सरकारी जहाजले त्यो सेवा दिन सक्दैन भने, निजी जहाजलाई अनुमति दिनुपर्छ। कर्णालीमा सहज यातायातका लागि हवाई सेवा निकै उपयुक्त छ। त्यसका लागि प्रदेश र संघीय सरकारले आवश्यक पूर्वाधार निर्माण र अन्य व्यवस्थापनमा ध्यान दिन जरुरी छ।’
बहुमूल्य जडीबुटीको खानी
कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा धेरै औषधिजन्य जडीबुटी पाइन्छन्। यस प्रदेशमा १ सय ४७ भन्दा प्रकारका बहुमूल्य जडीबुटी पाइन्छन्। तीमध्ये अधिकांश औषधिजन्य जडीबुटी छन्। यिनै औषधिजन्य जडीबुटीको प्रशोधन, अध्ययन तथा अनुसन्धान गरेर औषधि उत्पादन गर्ने हो भने कर्णाली नेपालकै औषधि उत्पादनको मुख्य आधारभुमि बन्न सक्छ।
नेपालमा औषधिजन्य जडीबुटीमध्ये सबैभन्दा मूल्यवान् औषधि यार्सागुम्बा हो। जसको उत्पादन कर्णालीमा व्यापक रूपमा हुन्छ। कर्णालीको डोल्पा जुम्ला, हुम्ला, मुगु, कालीकोट, जाजरकोट, रुकुम, रोल्पा जिल्लाका उच्च क्षेत्रमा यार्सागुम्बा उत्पादन हुने गरेको छ। यार्सागुम्बामा विश्वको दोस्रो धनी देश नेपाल हो। समुद्री सतहबाट ३ हजार मिटर देखि ६ हजार मिटरसम्मको उचाइमा पाइने एक प्रकारको जडीबुटी नै यार्सागुम्बा हो।
नेपालको सबैभन्दा ठूलो प्रदेश कर्णालीमा ४७ प्रतिशतभन्दा धेरै भूभाग ४ हजार मिटरभन्दा माथिको उचाइमा अवस्थित छ। यस प्रदेशमा वन क्षेत्र करिब ३७ प्रतिशत छ। भौगोलिक र जलवायुको विविधताका कारणले कर्णाली जैविक वनस्पतिको हिसाबले उन्नत प्रदेश मानिन्छ। यस्ता वनस्पतिमा विशेष किसिमका रासायनिक तŒव उत्पादन गर्छन्। कर्णाली प्रदेशमा संसारकै दुर्लभ र महँगा जडीबुटी पाइन्छन्। कर्णाली प्रदेशमा मात्र १ सय ४७ प्रजातिका वनस्पति छन्। जसमा यार्सागुम्बा, अतिस, अमला, कटुको, काउलो, कुरिलो, कयर, गनाइने, गुच्चिच्याउ, गुर्जो, घोडटाप्रे, चिउरी, चिराइतो, चुक, चुत्रो, चुली, टिमुर, तीतोपाती, धुपी, लेखी सल्लो, धुपजडी, निर्मसी, पदमचाल, पाषणभेद, पाँचऔंले, पोडे, बर्रो, बज्रदन्ती, बुकीफुल, भाले चिराइतो, भुतकेश, मजिठो, रातो च्याउ, रिठ्ठा, वनतरुल, वन लसुन, विष, विषफेज, सतुवा, सर्पगन्धा, सुगन्धकोकिला, सुनपाती, सेतोमसली, हर्रो पर्छन्।
लोपोन्मुख वन्यजन्तुको बासस्थान
कर्णालीमा लोपोन्मुख वन्यजन्तुहरू पनि व्यापक रूपमा पाइन्छन्। प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयका अनुसार खासगरी कर्णाली प्रदेशका कालीकोट, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, डोल्पा,लगायतका जिल्लामा विभिन्न प्रकारका दुर्लभ वन्यजन्तुहरूका बासस्थान छन्। कर्णालीमा रारा राष्ट्रिय निकुञ्ज र से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहेक अन्य वनजंगल दुर्लभ वन्यजन्तु बेवारिसे छन्। भौगोलिक विविधता र सबैखाले हावापानी भएका कारण प्रदेशभरि लोपोन्मुख वन्यन्तुको बसोबास छ।
विश्वमा हिउँचितुवा पाइने १२ देशमध्येको एक हो, नेपाल। यहाँका संरक्षित क्षेत्रमध्ये शे–फोक्सुन्डो निकुञ्जको हिमाली तथा पठार क्षेत्र हिउँचितुवाका लागि आहारविहारका हिसाबले सबैभन्दा उपयुक्त बासस्थान मानिन्छ। सन् १९७३ मा अमेरिकी वैज्ञानिक जर्ज स्यालरले यस क्षेत्रको सर्वेक्षण गरी सन् १९७४ मा वन्यजन्तु आरक्ष स्थापनाका लागि प्रस्ताव गरेका थिए। त्यसपछि सन् १९८० (२०४० साल) मा आधिकारिक रूपमा यस राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो। झन्डै ४० वर्षअघि अमेरिकी वन्यजन्तु जीवशास्त्री डा. रोड्नी ज्याक्सनले पाँचवटा हिउँचितुवाको घाँटीमा रेडियो कलरनामक उपकरण जडान गरी वैज्ञानिक अनुसन्धान गरेका थिए। सन् १९८१ देखि १९८५ सम्म गरिएको सो अनुसन्धानले हिउँचितुवाको विचरण क्षेत्र र आनीबानीका बारेमा महŒवपूर्ण जानकारी दिएको थियो। डोल्पामा प्रतिसय वर्गकिलोमिटरमा १० हिउँचितुवासम्म हुन सक्ने देखाएको थियो। जहाँ काँडेभ्याकुर, लोखर्के, रेडपान्डा, कस्तुरीलगायत सयौं प्रजातिका जीवजन्तुको बासस्थान छ।
सिरानीमा सुन, खोजी छ नुन
नेपाली भाषाको उद्गमस्थल, जैविक साधनको विश्वभण्डार, विशाल खस आर्य साम्राज्य, गोरखा राज्य विस्तारको क्रममा गोर्खालीसँग नझुकेर बहादुर शाहको पालामा नेपालको एकीकरणपश्चात् केन्द्रिकृत शासन प्रणालीवाट आर्थिक, राजनैतिक विभेदवाट वा आन्तरिक उपनिवेशको पीडा भोग्न बाध्य भयो। यसरी यो क्षेत्र सुन्दर भएर पनि दुर्गम अनि उपेक्षित बन्न पुग्यो। अर्थात्, सुन सिरानीमा राखेर नुनको खोजीमा हिँड्नेहरूको क्षेत्र हो कर्णाली।
कर्णालीका लागी काठमाडौं र काठमाडौंका लागी कर्णाली दुर्गम भएको हो। कालीकोटका पूर्वसभापति कटकबहादुर शाही भन्छन्, ‘नेपाल एकीकरणपछि वर्षौंदेखिको शासनमा कुनै पनि कर्णालीवासीको फोटो बालुवाटारको भित्तामा झुन्डिएन। त्यसको असरले विकासका सबालमा कर्णाली सधंै पछाडि परेको हो।’ यो प्रदेशमा विश्वसम्पदा सूचीको सूचीमा पर्न सक्ने सम्पदाहरू पाँचौं शताब्दीमा निर्माण भएको चन्दननाथ, भैरवनाथ, छायाँनाथ क्षेत्र हुन्। प्राचीन सभ्यताको झल्को दिने राउटे जातिको बसोबास पञ्चकोशी क्षेत्र यही प्रदेशमा पर्दछ।
कर्णाली नदीको नाममात्र होइन बरु त्यस्तो भुगोल हो, जहाँ सबै रोगको प्राकृतिक निदान सम्भव छ। प्रतिकिलो १० हजार डलर पर्ने केशरदेखि २५ हजार डलर पर्ने यार्सागुम्बासँगै ७ सयभन्दा बढी प्रजातिका जडीबुटीको एकमात्र खानी हो यो प्रदेश। यहाँका वनजंगलमा ‘ग्रिनडलर’ कुदिरहेको छ। तामा, चुनढुंगा फलाम, सिसा, काइनेट, तुर्मालिन, ग्रानेट, क्वार्ज सुनजस्ता औद्योगिक तथा बहुमूल्य खनिजको अपार भण्डार हो यो प्रदेश।
फलाम भाँच्ने संस्कृति
हेर्दाहेर्दै काँधको सरिया (लुगा लौरी) आफैं भाँचिन्छ। सुन्नेले त पत्याउनै सक्दैन यो यथार्थ। घटनास्थलमै पुगेर साक्षात् देख्नेलाई पनि पत्याउन कठिन पर्छ। त्यति मोटो फलामको डन्डी अचानक अनि अचम्म तालले कसरी भाँचिन्छ ? प्रत्यक्षदर्शीले पनि केही समय आफैंलाई प्रश्न गरिरहन्छ। कालीकोटको पचालझरना गाउँपालिका—५ स्थित देहडुका धामी देउमल कुमालले हरेक वर्ष देवताको पूजा मेलाका दिन सरिया (लुगा लौरो) भाँच्दै आएका छन्। यस्तो अचम्मको संस्कृति पनि कर्णालीमै छ। मानिस त्यो शक्ति देखेर दंग पर्छन्। हरेक जात्रालुले मोबाइल वा क्यामेरामा धामीले काँधमा राखेर सरिया भाँचेको फोटो र भिडियो कैद गर्छन्। जुन शक्ति प्रदर्शन हेर्नकै लागि हजारौंको भीड लाग्छ।
यस्तै, पचालभरना–८ बयालाका नयाँरूप संज्याल बल्दै गरेको आगोको ज्वालामा धामी काँप्छन् र बज्यौमष्टोको माडू (मन्दिर)मा रहेको सानो मुगा (प्वाल) मा छिर्छन्। कालीकोटमा रहेका अन्य मष्टो देवताका १२ भाइले पनि देवताका भित देखाउने (शक्ति देखाउने) गर्छन्। कालीकोटका अन्य मष्टो देवता दारेमष्टाले लामो दाँत देखाउने, सिमष्टाले हातमा नुन देखाउने, खोदाई मष्टाले मृग देखाउने, बज्यूमष्टाले आगोको रापभित्र छिरेर धामी काप्नेलगायतका १२ भाइ मष्टाका आआफ्नै शक्ति देखाउँछन्। कर्णालीको मष्टो सस्ंकृति कर्णालीको पर्यटन प्रवद्र्धनको एक आधार हो। खस जातिका कुल देवताका रूपमा लिइने (मष्टो देवता) कर्णालीवासीका घरघरमा छन्। मष्टो सस्ंकृतिको उद्गमस्थलसमेत कर्णाली प्रदेशको जुम्ला सिन्जालाई मानिन्छ।