एउटा सहृदयी जीवन

एउटा सहृदयी जीवन

तपाईं जोरजबर्जस्ती गरेर दुनियाँलाई बदल्न सक्नु हुन्न। कसैलाई धेरै अर्ती दिन थाल्नुभयो भने ऊ तपाईंबाट टाढा हुँदै जानेछ। किन्तु प्रेम, सद्भाव र करुणाको माध्यमबाट स्वयंलाई मात्र नभई अरूलाई पनि बदल्न सकिन्छ। प्रश्न उठ्न सक्ला, त्यसो भए हामीले स्वयंलाई बदल्न किन सकेनौं ? उत्तर सहज छ, सायद हामीमा त्यो चाहना नै थिएन।

हामीले चाह्यौं भने सहजै सहृदयता, कोमलता र सज्जनतापूर्वक व्यवहार गर्न सक्छौं। मनुष्यमात्र नभई समस्त जीव जगत्प्रति करुणावान् हुन सक्छौं। जहाँ प्रेम र श्रद्धा हुन्छ, त्यहाँ द्वेष र क्रोधले पनि थकाइ मार्न थाल्छ। जहाँ कसैको हितका खातिर त्यागको भावना अभ्युदय हुन थाल्छ, त्यहीँ आत्मगौरवको उत्पत्ति हुन थाल्छ। जहाँनिर तपाईं अलिकति पर सरेर अर्काेलाई ठाउँ दिन थाल्नुहुन्छ, त्यहीँबाटै अझै परसम्म स्नेहको सुवास प्रसारण हुन थाल्छ। आखिर यो दुनियाँ हामी सबैको योगबाट निर्मित समष्टि त हो।

के सरल र सहृदयी जीवन बिताउन सम्भव छ ? अवश्य छ, तर ईष्र्या, द्वेष र मात्सर्यबाट अलग रहन सकियो भनेमात्र। सहृदयी जीवनको पहिलो सोपान आफ्नै सम्मान हो। जसले ‘म’लाई सम्मान गर्न जान्दछ, उसैले मात्र अरूलाई सम्मान गर्न जान्दछ। जुन कुराले आफूलाई आघात पुग्दछ, त्यसले अर्काेलाई पनि आघात पुग्छ भन्ने सोच सहृदयी जीवनको दोस्रो सोपान हो। धैर्यधारण, आफूमा विश्वास, सकारात्मक सोच एवं सरल र कर्मशील दिनचर्या सहृदयी जीवनको तेस्रो सोपान हो। अनि करुणा, परोपकार, मधुर वाणी र सबैलाई यथोचित सम्मान चौथो।

बुद्ध भन्छन्, ‘जीवनमा दुःख छ’। जीवनमा दुःख छ भन्ने बुद्ध वचनलाई आत्मसात् गर्नुभयो भने जीवन सहज हुनेछ। दुःख स्वीकार गर्ने चिज हो, संगत गर्ने चिज होइन। दुःख निवारण गर्ने कुरा हो, बोकेर हिँड्ने कुरा होइन। दुःख दुई किसिमले सृजित हुन्छ। पहिलो हो– प्रारब्ध या परपक्षबाट र अर्को आफैंबाट। अहंकार, द्वेष, डाह र मनका मालिन्यहरू स्वसृजित दुःखका स्रोत हुन्। परपक्षबाट पर्न आएको दुःख समय क्रममा कम हुँदै जान्छ। किन्तु आफैंले पालन र पोषण गरेर हुर्काएको दुःख उत्तरोत्तर समृद्ध हुँदै जान्छ।

सबै सम्बन्धहरू लाभ या हानिमा आधारित हुँदैनन्। स्वार्थहीन, द्वेषहीन र ईष्र्याहीन सम्बन्धमा कहिल्यै पनि मनमुटाव र वैमनस्य आउँदैन। हार्दिकता, सम्मान र स्नेह आपसी सद्भावका सबल माध्यम हुन्। हाँसो, ठट्टा–मस्करी, घुमघाम र चियापानले सस्तैमा आपसी सद्भाव समृद्ध हुन्छ। बेला–बेलामा कसैलाई कष्ट नपर्ने गरी गरिने आपसी मनोरञ्जनात्मक 

व्यंग्यले वातावरण रमणीय बन्छ। परिश्रमी युवालाई उनको ससानो सफलतामा प्रशंसा गर्दा अझै अगाडि बढ्ने उत्साह र उमंग पैदा हुन्छ।

जीवन रहुन्जेल सम्भावनाहरू पनि रहिरहन्छन्। भरोसा र हौसला राख्नलाई बुढ्यौलीले पनि छेक्दैन। भाग्यको भरोसाले होइन, कर्मको भरोसाले सफल हुन्छ जीवन। भाग्यवादले डुबाउँछ भने कर्मवादले उतार्छ। समयको पंख कसैलाई पर्खेर बस्दैन। प्रतिभाशालीका लागि पनि गुमेको समय फेरि फर्केर आउँदैन। समयलाई जसले च्याप्प समात्न सक्यो, त्यही सफल भयो।

जीवनमा विषम परिस्थितिहरू पनि आउँछन्। सदैव सुखै सुख हुने भए सुखको अस्तित्व नै रहने थिएन। बेला बखतमा दुःख हुन्छ र त सुखको महŒव छ। दुःखले जिउने कला सिकाउँछ भने सुखले आनन्द लिने कौशल। जीवन संघर्ष हो, त्यसै हुनाले नै यो उत्सव पनि हो। सधैं मस्ती नै मस्ती हुने भए जीवनमा साँच्चैको मस्ती कहाँ पाइन्थ्यो ?

कोही कसैका लागि प्रेरणा र प्रोत्साहनको माध्यम बन्न सक्ला, किन्तु आफ्नो भविष्यको निर्माण त आफैंले गर्ने हो। जीवन एउटा कठिन यात्रा हो। यात्रामा भेटिने उबडखाबडको सामना आफैंले गर्नुपर्छ। आफैंले सहनु र मुकाबिला गर्नुपर्छ। असफलता पराजय होइन, अपितु त्यो त एउटा प्रयोग विफल भएको मात्र हो। एउटा प्रयोग विफल हुँदैमा सारा सम्भावना समाप्त हुँदैनन्। आफ्ना भूल र गल्तीहरूमा अरूलाई दोष दिनुको पनि अर्थ छैन। परिस्थितिलाई दोष दिएर उम्कने प्रवृत्तिले अगाडि बढ्ने शक्ति समाप्त हुन्छ। आफ्नो जीवनको अँध्यारोलाई निवारण गरेर उज्यालो रश्मि फैलाउने ल्याकत आफैंभित्र खोज्नु जरुरी छ। बुद्धको आह्वान छ, अप्प दीपो भव।

यो सृष्टिमा लाखौंलाख जीवहरू छन्। जसमध्ये एउटा संयोगले हामीलाई मनुष्य जुनी प्राप्त भएको हो। मनुष्य मात्र यस्तो प्राणी हो, जसले यो ब्रह्माण्डलाई बुझ्ने चेष्टा ग¥यो। मनुष्यमात्र यस्तो जीव हो जसले म को हुँ ? भनेर प्रश्न गर्न जान्यो। मनुष्यमात्र यस्तो प्राणधारी हो, जसले प्राकृतिक सुन्दरताको मूल्यांकनमय अवलोकन गर्न सक्यो। मनुष्यमात्र यस्तो जीव हो जसले आहार, निद्रा, भय र मैथुनभन्दा माथि उठेर ‘कर्म’ गर्न थाल्यो। मनुष्यमात्र यस्तो प्राणी हो जसले प्राकृतिक अवस्थाबाट उँभो उठेर मानवीय संस्कृतिको निर्माण ग¥र्यो। मनुष्यमात्र यस्तो प्राणी हो, जसमा करुणा, परोपकार, परसेवा र उत्सर्गजस्ता कुराको चेतना छ। मानवमात्र यस्तो प्राणी हो, जसमा सहृदयी जीवन जिउने कलालाई उन्नत र समृद्ध बनाउने चैतन्यको निवास छ।

सजग नरहने हो भने त हेर्दाहेर्दै बेहोसीमै जीवन समाप्त हुन्छ। कामको बेफुर्सदीको बहानामा आफ्ना प्यारा मान्छेहरूसँग समय गुजार्ने अवसर बित्थामा गुमेर जान्छ। आफ्ना मान्यजनको सेवा र टहल गर्ने भाका राख्दाराख्दै उनीहरू बितेर जान्छन्। अलिकता अझै कमाइ गरेर रमाउँला भनेर म्याद सार्दासार्दै आफैं वृद्ध भएको पत्तो नै हुँदैन। व्यवस्थापन गर्न जान्नेका लागि समय पनि एउटा पुँजी हो भने नजान्नेका लागि एउटा दुईधारे कैंची।

सबैको एउटा विगत छ। सबैसँग सुख र दुःखका कथनी र कहानी छन्। सबैसँग अतीतमा घटित अविस्मरणीय र अद्भुत घटनावली छन्। मानसपटलमा आफूले माया गरेका र आफूलाई माया दिएका अनेकौं पात्रहरू जीवन्त छन्। हामी कहिल्यै एक्ला थिएनौं र आज पनि एक्लै छैनौं। हामी सबैसँग आपसमा बाँड्न योग्य प्रशस्त विषय र अभिज्ञान छन्।

वृद्धहरूसँग अरू केही नभए पनि अनुभव र इतिहास हुन्छ। बालबालिकासँग भविष्यको सम्भावनाको पुँजी हुन्छ। पाका मान्छेहरू अनुभवका खानी हुन्। जीवनमा सफल भएका पाकाहरूबाट सफल हुने तरिका थाहा हुन्छ। जीवनमा असफल भएकाबाट असफल हुनाको कारण थाहा हुन्छ। वृद्धहरूको विगत जे जस्तो भए तापनि वर्तमान उनीहरूले प्रदत्त गरेको नासो हो। आजका युवाले पाकाहरूको सम्मान र सुरक्षा गर्ने संस्कृति कायम गरे भने बालबालिकाले त्यसबाट पाठ सिक्नेछन्। त्यस्तो प्रवृत्तिले आजका युवाको भविष्यको वृद्धावस्था पनि सुरक्षित र सम्मानित हुनेछ।

जीवनको सबैभन्दा ‘कम्फोर्ट जोन’ बिछ्यौना हो। परन्तु सुतेर त जीवन चल्दैन। कम्फोर्ट जोन त खानपिन, दोस्तहरूसँग रमझम र मोजमज्जामा छ। किन्तु त्यसले दिने सुख नितान्त तात्कालिक र तदर्थ मात्र हुन्छ। समाजमा कम्फोर्ट जोनको चक्करमा परेर जीवन बिगार्नेको संख्या ठूलो छ। क्षणिक सुख दिने कम्फोर्ट जोन खोज्नुमा कुनै गलत इरादा थिएन होला, तर जीवन जिउने प्रक्रिया र विधि गलत भयो। मानसिक अन्धवेगबाट प्रेरित भएर उठाएको पाइलाले असल गन्तव्यतर्फ लैजान सक्दैन। आलसीको जीवन जन्ममा मिठाई बाँडेर र मृत्युमा खिर बाँडेर सकिन्छ। परन्तु त्यो बाँड्ने कार्यमा समेत ऊ स्वयं नभई अरू नै कोही सरिक भएको हुन्छ।

अरूको खुसीमा खुसी हुने मानिस सहृदयी हो भने अरूको खुसीमा दुःखी हुने अभागी। जो जति परोपकारी, दयालु र मिलनसार हुन्छ उति नै ओजस्वी र प्रतापवान् हुँदै जान्छ। जीवनमा धनवान्, बलवान् र विद्यावान् हुन नसकिएला, परन्तु गुणवान् हुनबाट कसैले रोक्न सक्दैन। सुहृदय, सरल र सुरम्य हुनबाट कसैले रोक्न सक्दैन। अरूप्रति ईष्र्या र द्वेषभाव नराख्ने नरनारीहरूको मुहारमा कान्ति र दीप्ति हुन्छ। त्यस्ता निर्भय सुजनहरूलाई निद्रादेवीको पनि कृपा हुन्छ। उनीहरू मानसिक र शारीरिक तबरले स्वस्थ, दुरुस्त र सुखी हुन्छन्। सुखमा अभिमानरहित आनन्द लिनु र दुःखमा त्यसको समाधान खोज्नु नै सहृदयी जीवनको कुन्जी हो।

मनुष्यको जीवन सदासर्वदा अन्योन्याश्रयमा निर्भर रहँदै आएको छ। अरूको अस्तित्वमा मेरो अस्तित्व छ। अरूको शुभकामना र सद्भावमा मेरो सुनाम छ। अरूको पहिचानमा मेरो परिचय छ। अरूको माया र सम्मानमा मेरो महŒव र महिमा छ। अरूको उदार कृतज्ञतामा मेरो गरिमा र विशालता छ। अरू परोपकारी र गुणवान् छन्, त्यसैले म उपकृत र गुणग्राही हुन पाएको छु। मेरा स्वजन, छिमेकी र हितैषी मित्रहरू छन्, त्यसैले म पनि छु।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.