कोशीमा आज आगामी आर्थिक वर्षको बजेट ल्याइने
विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि आज बजेट ल्याउँदैछ। बजेट ३५ अर्ब हाराहारीको ल्याउने तयारी भइरहेको छ। संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट ल्याउन लागिएको हो। बजेट सार्वजनिक गर्नका लागि आज दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३६ अर्ब ८१ करोड ६७ लाख ९१ हजार रुपैयाँको बजेट ल्याएको थियो।
आगामी आर्थिक वर्षका लागि संघीय सरकारबाट राजस्व बाँडफाँटबापत कोशी प्रदेशले १४ अर्ब ५४ करोड अनुदान प्राप्त गर्नेछ। वित्तीय समानीकरण अनुदान ८ अर्ब ९६ करोड र सशर्तमा चार अर्ब १६ करोड, विशेष अनुदान ७८ करोड र समपूरक अनुदान ६५ करोड ५० लाख प्राप्त गर्नेछ।
संघबाट प्राप्त हुने स्रोतमा वैदेशिक अनुदान र आन्तरिक राजस्व अनुमान थप गरेर सरकारले बजेट ल्याउनेछ।