आइडाको २१औं बैठक नेपालमा  : ३५ अर्ब डलर सहायता सिर्जना गर्ने अपेक्षा

आइडाको २१औं बैठक नेपालमा  : ३५ अर्ब डलर सहायता सिर्जना गर्ने अपेक्षा

काठमाडौं : विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा) को २१ औं बैठक नेपालमा बस्दैछ। मुलुकमा पहिलोपटक यस्तो बैठक बस्न लागेको हो। असार ४ गतेदेखि ७ गतेसम्म बैठकको मिति तय भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। आगामी तीन वर्षका लागि आइडा राष्ट्रहरूलाई ठूला अनुदान र उच्च सहुलियत दरमा ऋण उपलब्ध गराउन ३५ अर्ब डलर वित्तीय सहायता सिर्जना गर्ने अपेक्षासहित बैठक आयोजना गर्र्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ। 

यसपटक बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ। अर्थ मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर बैठकबारे जानकारी दिएको हो। आगामी तीन वर्ष आइडाले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमालगायत विषयमा बैठकमा छलफल हुनेछ। 

आइडाको बैठक हरेक तीन वर्षमा बस्छ। यसअघि २०औं बैठक जापानले आयोजना गरेको थियो। उक्त बैठकले विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड— १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो। यो वित्तीय प्याकेज आइडाको ६१ वर्षको इतिहासमा सबैभन्दा ठूलो थियो। सन् १९६० मा स्थापना भएको आइडा विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकका लागि बहुपक्षीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो निकाय हो। आइडाले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी मुलुकमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडाले सन् १९६० यता १ सय १५ वटा राष्ट्रमा लगानीका लागि ५ खर्ब ३३ अर्ब डलरबराबरको वित्तीय सहायता प्रदान गरिसकेको छ। आइडाले आर्थिक सहायताको लगभग २० प्रतिशत अनुदानमा गर्छ भने बाँकी न्यून ब्याजसहित ऋणमा दिन्छ। जुन लामो अवधिमा फिर्ता गर्न सकिन्छ।

नेपाल विश्व बैंकको महŒवपूर्ण संस्था भएकाले यसपटक यहाँ बैठक गर्ने निर्णय गरेको बताउँछन् माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोस। यस पटक यो बैठकबाट नेपाल लाभान्वित हुने उनले बताए। आइडाले दिगो र हरित विकासका लागि करिब १० अर्ब डलरबराबरको वित्तीय सहयोग प्राप्त हुन सक्ने उनको अनुमान छ। हालसम्म नेपालमा गरेका कार्यक्रमले आर्थिक रूपान्तरणको क्रममा रहेर विभिन्न भूकम्प, कोभिड र जलवायु संकटको जोखिममा परेको चुनौतीका बाबजुद नेपालले प्रगति गरेको उनले बताए। विश्व बैंकका राष्ट्रिय निर्देशक जेर्भोसका अनुसार यसअघि नेपालमा आइडाले २४ परियोजनामा २३ अर्ब डलर सहयोग गरेको छ। ‘शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र सामाजिक सुरक्षामा आइडाले सहयोग गरेको छ। अझ आइडा दिगो र हरित विकासका लागि महŒवपूर्ण छ। अहिलेसम्मको सहयोगले ठूलो संख्यामा गरिबी हटाएको छ,’ राष्ट्रिय निर्देशक जेर्भोसले भने। अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आइडा बैठक नेपालका लागि धेरै लाभदायक हुने बताए। उनी भन्छन्, ‘विभिन्न मुलुकका तीन सय बढी प्रतिनिधि बैठकमा सहभागी हुँदैछन्। यति धेरै मुलुकका प्रतिनिधिहरूलाई नेपालबारे चिनाउन र पर्यटन प्रवद्र्धन गर्न पनि यो बैठकले मद्दत गर्नेछ। अझ नेपाल सन् २०२६ मा कम विकसित मुलुकबाट स्तरोन्नति हुने भएकाले अहिले अनुदानका लागि पनि यो बैठक महŒवपूर्ण छ।’ सो बैठकसँगै विश्व बैंकले गरेको परियोजनाको स्थलगत भ्रमणसमेत गरिने सचिव मरासिनीले जानकारी दिए। साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महŒवपूर्ण ठानिएको छ। साथै यसबाट नेपाललाई कूटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ। 

आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेस गरेका थिए। अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो। नेपालले ६ वर्षअघि आइडा–१९ बैठक काठमाडौंमा गर्न डीसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रूपमा लविङ गरेको थियो। उद्घाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ। समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री वर्षमान पुन छन्। अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेको छ। 

आइडा बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, नौ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन्। यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुनेछन्। 

बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारी काठमाडौं उपत्यका आसपासमा विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ। गत वैशाखमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौं आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए। त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यालयमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडिए बैठकबारे कुराकानी गरेका थिए। विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्न लागेको जनाइएको छ।

आइडा के हो ?

आइडा दाताहरू र विश्वका अति विपन्न राष्ट्रहरूबीचको विश्वव्यापी साझेदारी हो। आइडाले विश्वका अति विपन्न राष्ट्रका सरकारहरूलाई १.५ अर्ब मानिसहरूको जीवनस्तर सुधार गर्न मद्दत गर्दछ। बिथोलिएको भूराजनीतिक परिदृश्यमा आइडाले मध्यम तथा उच्च आय भएका दाताहरूलाई कम आय भएका राष्ट्रहरूलाई सहयोग गर्ने कार्यमा सहभागी गराउँछ। देशमा आधारित मोडेलले राष्ट्रिय विकासमा सार्वभौम प्राथमिकताहरू अनुरूप सहायता गर्दछ। सन् १९६० यता ३६ वटा राष्ट्रहरूले आइडाको सहायता प्राप्तकर्तादेखि दाताको पहिचानमा फड्को मारेका छन्। आइडा एकीकृत विकासमा सहायता गर्दछ। आइडा गरिब राष्ट्रहरूको लागि विकासमा गरिने आर्थिक सहायताको विश्वकै सबैभन्दा ठूलो स्रोत हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.