‘पुल बनाउँदा प्राविधिक पक्षमा विचार पुर्याउनुपर्छ’
नेपालमा धेरै पहिले जति पनि पुल बने, ती विदेशीको सहयोगमा बने। जसले बनाइदियो, उनीहरूले नै डिजाइन गरे। नेपालमा पुलको डिजाइनको काम नेपालीबाट निकै पछिमात्रै भयो। झन्डै २० वर्ष भयो, नेपाली इन्जिनियरहरूले डिजाइन गर्न लागेको। नेपालको सन्दर्भमा डिजाइिङमा विदेशको जस्तो लामो इतिहास छैन। यसबीच पनि नेपाली इन्जिनियरहरूले पुलहरूको डिजाइन त गरे, बने पनि। तुलनात्मक रूपमा राम्रो पनि भए, नराम्रो पनि। कतिपय सन्दर्भमा पुलको डिजाइनमा ‘जियोलोजी स्टडी’ गर्नुपर्छ भने अर्कोतर्फ ‘हाइड्रोलोजी स्टडी’ गर्नुपर्ने हुन्छ अनि अर्को भनेको माटोको ‘जियोटेक्निकल स्टडी’ पछि संरचनाहरू निर्माण हुनुपर्ने हो। यसरी धेरैवटाको ‘कम्बिनेसन’मा पुलहरू डिजाइन गर्ने भएकाले कुनै पनि पाटो फेल भयो भने त्यो पुल फेल हुन्छ।
अहिलेको अवस्थामा धेरै इन्जिनियरले आआफ्ना किसिमका डिजाइन गरे। धेरै राम्रा छन् तर केही असफल पनि भए। जेजति असफल भए ती प्रायः नेपालको सन्दर्भमा पानीको ‘क्यालकुलेसन’ गलत भएर असफल भए। ‘हाइड्रोलोजी’को सवाल देखियो। पानीको बहावबाट र त्यहाँको माटोको परीक्षण (जियोटेक्निकल टेस्ट) उचित मात्रामा भएन। आवश्यकता अनुसार डिजाइन नभएको कारण फेल परे।
(डा. सुवाल पुल डिजाइनका विज्ञ हुन्।)