बंगलादेशविरुद्ध नेपालले गुमायो चौथो विकेट, कप्तान पौडेल र ओपनर शेख आउट
काठमाडौं : आईसीसी टी-२० विश्वकप क्रिकेटमा बंगलादेशविरुद्धको खेलमा नेपालले चार विकेट गुमाएको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा पावर प्लेमै नेपालको चार विकेट गुमेको हो।
५.४ ओभरमा नेपालका ओपनर आशिफ शेखलाई बंगलादेशका मुस्ताफिजुर रहमानले आउट गरेका हुन्। शेखले १४ बलमा चार चौकासहित १७ रनको योगदान गरे।
यसैगरी ४.२ ओभरमा कप्तान रोहितकुमार पौडेल १ रनमै आउट भएका छन्। पौडेलले ६ बलमा १ रन बनाएर बाहिएका हुन्।
नेपालका ओपनर कु्शल भुर्तेल र तेस्रो नम्बरमा आएका अनिश शाहलाई तेस्रो ओभरको दोस्रो र चौथो बलमा तन्जिम हसन साकिबले आउट गराएका थिए।
भुर्तेलले ८ बलमा १ चौका प्रहार गरे। उनी बोल्ड आउट भएका हुन्। शाह ४ बलमा शून्य रनमै पेभिलियन फर्किए।
नेपालले छैटौ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा २४ रन बनाएर खेलिरहेको छ।