सहकारी ठगीमा दम्पती पक्राउ

सहकारी ठगीमा दम्पती पक्राउ

काठमाडौं : ललितपुर–५ कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था केही समयअघि निकै चर्चामा थियो। उक्त सहकारीले धेरै ब्याज दिन्छ भन्दै बचतकर्ताहरूले करोडौं रकम सहकारीमा जम्मा गरे। केही समयसम्म ब्याज लिने/दिने दुवै काम राम्रैसँग पनि चलेको थियो। तर, एक्कासि बचतकर्ताले आफ्नो रकम फिर्ता पाउन छाडे। सहकारीका सञ्चालक, अध्यक्ष तथा व्यवस्थापन कर्मचारी फरार भए। 

यो सहकारी हाल बन्द अवस्थामा छ। सहकारीले बचतकर्ताको निक्षेप फिर्ता नगरेको भन्दै पीडितहरूले सहकारी विभागमा  १३ जनाविरुद्ध उजुरी दर्ता गरेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले यो मुद्दामा अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेश सुवेदीका अनुसार सहकारीमा रकम ठगी भएको भन्दै ६५ वटा निवेदनमा ५ सय ६६ जना पीडितले उजुरी दिएका  छन्। सुवेदी भन्छन्, ‘उक्त सरकारीमा २ हजार ५ सय ३२ जनाको २ अर्ब ८० करोड लगानी रहेको थियो।’ 

यो सहकारी ठगीमा संलग्न भएको आरोपमा सहकारीका अध्यक्ष तेजविक्रम थापा, उनकी पत्नी सजना राजकर्णीकार, कीर्तिपुरका भीमसेन महर्जन र चाबहिलका सञ्जय सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चारै जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। ७ जना फरार छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता अंगुर जिसीका अनुसार तेजविक्रम र सजनाको जोडीले अन्य व्यक्तिसँग मिलेर सरकारीको करोडौं रुपैयाँ ठगी गरेका हुन्।  तेजविक्रम थापा  २०६० सालदेखि नै सहकारीको अध्यक्ष छन्। उनी अध्यक्ष भएकै बेला पत्नी सजना राजकर्णिकार कृषि सहकारी संस्थाको व्यवस्थापकको जिम्मेवारीमा थिइन्। महर्जन र सापकोटा उक्त सहकारीको सदस्य थिए। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार तनहुँ घर भएका ४३ वर्षीय तेजविक्रम र सजनालाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बाट पक्राउ गरिएको हो। उनीहरूले बेला–बेला मोबाइल नम्बर परिवर्तन गरेर काठमाडौंमा नै लुकिछिपी बस्दै आएका थिए। तेजविक्रमले त नाम नै परिवर्तन गरेर अन्य संघ–संस्थामा पनि काम गरेका थिए। तेजविक्रमको ठगी धन्दा यो मात्रै हैन, अन्य विभिन्न संघ–संस्थामा पनि लाखौं रुपैयाँ ठगी गरेको उजुरी प्रहरीमा दर्ता भएका छन्। प्रहरीका अनुसार सजना दम्पती टोखामा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए। 
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता सुवेदी भन्छन्, सहकारीमा रकम जम्मा गर्ने सबै बचतकर्ताको रकम अपचलन भएको छ। तर, सबै जना उजुरी लिएर आउनुभएको छैन। सजना दम्पतीसहित १३ जनाले बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेका हुन्। 

प्रहरीका अनुसार उक्त सहकारीको अध्यक्ष रहेका तेजविक्रम थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउन्टेन्टका रूपमा सहकारीमा प्रवेश गरेका थिए। उनी संस्थापक सदस्यसमेत हुन्। २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेका थिए। २०७० देखि अन्नपूर्ण किसान फिड एन्ड फर्टिलाइजेसन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोर्खा टेलिभिजन (साझा संसार मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष थिए। यस्तै  २०७४ सालदेखि यती हर्बस प्रालिको अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिभ एग्रिकल्चर कम्पनी प्रालिको अध्यक्ष, २०६६ देखि कृषि इन्भेस्टमेन्ट प्रालिको अध्यक्ष बनेका थिए।  २०७० देखि कृषि फ्रेस प्रालिको अध्यक्ष र २०७६ देखि यती टेक्निक प्रालिको अध्यक्ष रहेका थिए। उनले विभिन्न संघ–संस्थाको नेतृत्वमा रहेर अन्य रकम पनि हिनामिना गरेको हुनसक्ने प्रहरीको अनुमान छ। 

तेजविक्रम थापाविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुरको मुद्दा परेको थियो। यस्तै जिल्ला प्रहरी परिसर ललितपुरमा ९५ लाखको बैंकिङ कसुर मुद्दा दर्ता भएको र उनी फरार रहँदै आएका थिए। उनले गोर्खा टिभीको परिचयपत्रमा आफ्नो नाम राज ठकुरी बनाएका थिए। उनी गलत नाम प्रयोग गरेर पनि आर्थिक ठगीमा सक्रिय रहेका थिए।

 पक्राउ परेका सजना दम्पतीबाट ६ वटा मोबाइल, ३ वटा पेनड्राइभ, ३ वटा चेक, बा २५ च ४२९६ नम्बरको इको भ्यान एउटा, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाको एक थान छाप, यती टेक्निक फर्मको छाप बरामद गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.