एक प्रेरक नमुना स्कुल

एक प्रेरक नमुना स्कुल

विराटनगर : मोरङको ग्रामथान २ झोराहाटस्थित रवि आधारभूत विद्यालयमा सबै बालबालिका दलित समुदायकै छन्। दलित जातिको बसोबास रहेको बस्तीमा सञ्चालित विद्यालयको स्थापना पनि दलित समुदायकै पहलमा भएको हो। कोशी प्रदेशको पहिलो आधारभूत उक्त स्कुलमा अध्ययनरत विद्यार्थी सबै दलित समुदायकै छन्। 

विद्यालयमा दलित विद्यार्थी मात्र भएको शिक्षक अभिभावक संघका अध्यक्ष किरण सरदारले बताए। सरदारका अनुसार विद्यालयमा कटहरी गाउँपालिका र ग्रामथानका तरार्ईका दलित परिवारका ४ सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयमा शिक्षक भने दलित र गैरदलित समुदायका छन्। 

१० जना शिक्षकमध्ये प्रधानाध्यापकसहित ५ जना दलित र अन्य गैरदलित छन्। २०४५ सालमा स्थापना भएको सो विद्यालयमा कोशी प्रदेशकै सबैभन्दा बढी विद्यार्थी बालविकासमा अध्ययनरत छन्। विद्यालयमा हाल बालविकासमा १ सय ३० जना बालबालिका अध्ययनरत छन्। उनीहरू सबै दलित हुन्। 

‘यसअघि दलित समुदायका विद्यार्थी निरन्तर विद्यालय नआउँदा सो विद्यालय अर्कोमा गाभ्ने अवस्थामा पुगेको थियो। उचित वातावरण र शिक्षाप्रति अभिभावक जागरुक नहुँदा दलित बालबालिका पठनपाठनबाट बञ्चित थिए,’ प्रअ जितेन्द्र्र सरदारले भने, ‘अन्य विद्यालयमा गएर दलित बालबालिकाले पढ्ने वातावरण पनि थिएन। त्यसैले गाउँमै स्थापना गरिएको विद्यालयमा अभिभावकलाई शिक्षा प्रतिजागृत गराइयो। 

त्यसपछि विद्यार्थीको चाप बढेको हो।’ दलित समुदायको बाहुल्यता भएको त्यस क्षेत्रमा शिक्षा, चेतना, सरसफाइ, पूर्वाधारलगायतको अभाव छ। तर, निरन्तर विद्यालयका शैक्षिक र भौतिक रूपमा विकास गरेर अभिभावको भावनाअनुसार पठनपाठन सुरु गरेपछि विद्यार्थी र अभिभावको विद्यालयप्रतिको आकर्षण बढेको हो। ‘दलित बालबालिकालाई शिक्षण गर्न पाउँदा खुसी छौं,’ प्रअ सरदारले भने। पूर्वाधार विकासका हिसाबले अझै अभिभावकको चाहनाअनुसार विद्यालय सञ्चालन गर्न समस्या भएको उनको भनाइ छ। 

४० देखि ५० जनालाई एउटै कक्षाकोठामा राखेर अध्यापन गराउनु बाध्यता रहेको प्रअ सरदारले बताए। भौतिक संरचना प्रतिसरोकारवालाहरूले ध्यान नदिँदा सोचे अनुसारको काम गर्न नसकेकोमा प्रअ सरदारले दुःख व्यक्त गरे। 

विद्यालयमा भवन, खेलमैदान, फर्निचर, शैक्षिक सामग्रीको अभाव छ। ‘दलित बस्तीको विद्यालय भएकाले सरकारी निकायको नजर परेको छैन,’ सरदारले सुनाए। बालविकासदेखि कक्षा चारसम्म अंग्रेजी माध्यम र ४ देखि ८ सम्म नेपाली माध्यममा अध्यापन हुने सो विद्यालयमा भौतिक संरचनाको अभावले विद्यार्थीको चापलाई भित्र्याउन नसकेको उनको भनाइ छ। 

प्रअ सरदारले आफ्ना दुवै छोरीलाई सोही विद्यालयमा भर्ना गरेर पढाउन थालेपछि अन्य अभिभावकले पनि विद्यार्थी निरन्तर रूपमा विद्यालयमा पठाउन थालेका हुन्। प्रअ सरदारको जेठी छोरी अंकिता ७ र कान्छी छोरी मोनीका कक्षा २ मा पढ्छिन्।

आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको आधारभूत विद्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापन भएको आधारभूत विद्यालयका रूपमा उक्त विद्यालयलाई प्रदेश सरकारले पुरस्कृत गरेको थियो। राज्यले भौतिक संरचना बनाउन सहयोग गरे प्रदेशकै नमुना दलित पढ्ने विद्यालयका रूपमा स्थापित गर्ने योजना रहेको प्रअ सरदारले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.