नगरसभाको बैठक स्थगित गरेर काठमाडौंका मेयर बालेन ब्राजिल प्रस्थान

नगरसभाको बैठक स्थगित गरेर काठमाडौंका मेयर बालेन ब्राजिल प्रस्थान

काठमाडौं : काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नगरसभाको बैठक १० गतेसम्म स्थगित गरेर ब्राजिल प्रस्थान गरेका छन्। असार ५ र ६ गते ब्राजिलको साओ पाउलोमा हुने मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै ब्राजिल प्रस्थान गरेका हुन्।

आइतबार नगरसभा बैठक सुरु भएपछि एमाले र कांग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बहिष्कार गरेपछि महानगर प्रमुख शाहले नगरसभा असार १० गतेसम्मका लागि स्थगित गरेका थिए। बैठक सुरु हुनासाथ महानगर प्रमुख शाहले आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिएका थिए। त्यसपछि केहि जनप्रतिनिधिहरुले बैठक बहिष्कार गरेपछि शाहले बैठक स्थगित गरे।

उनी बैठकमा सहभागी भएर असार ८ गते स्वदेश फर्कने कार्यतालिका छ। प्रमुखका साथमा पूर्वाधार सल्लाहकार सुनिल लम्साल गएका छन्। 

किन ब्राजिल गएका हुन् शाह ?

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य छन्। मेट्रोपोलिस विश्वका ठूला महानगरहरुका बिचमा विश्वव्यापी सहयोग, संवाद, ज्ञान र समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज बुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो।   

प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह लगायतले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट बिदाइ गरेका थिए।

सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ। सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ। बैठकमा प्रमुख शाहले सम्बोधन गर्ने बताइएको छ।

कार्यक्रमअन्तर्गत ‘मेयरल राउण्ड टेवल’ शीर्षकमा बुधबार हुने आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन्। 

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति बहस हुनेछ। नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तररराष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ। बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिने बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.