जलजलाका सुत्केरीलाई घ्यू र अण्डा
बेनी : पर्वतको जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ। जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो।
संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।
चालु आर्थिक वर्षमा चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’ मार्फत संस्थागत सुत्केरी भएकालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए।
‘२०८० साउनदेखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र एक माना घ्यू वितरण गर्ने कार्यक्रम छ’ उनले भने, ‘पालिकाका–१, ५, ६ र ७ नम्बर वडाको तल्लो धाइरिङका ६४ जनालाई सम्बन्धित वडामा पुगेर वितरण गरिएको हो। बाँकीलाई पनि वितरण गर्ने अभियान निरन्तर छ।’
१ का ११, ५ का २२, ६ का २० र तल्लो धाइरिङका ११ जनालाई अण्डा र घ्यू वितरण गरिएको छ। गाउँपालिकाका सिनियर अनमी अञ्जली बैरागीका अनुसार ९ वटै वडामा पछिल्लो एक वर्षयता १७७ जना सुत्केरी र हाल ८९ जना गर्भवती छन्।
सुत्केरी, गर्भवती तथा बच्चा दुई वर्षको हुँदासम्मको अवस्थामा पौष्टिक आहारको व्यवस्थापन गर्नुपर्ने सन्देश प्रवाह गराउने र संस्थागत सुत्केरी सेवामा पहुँच बढाउने कार्यक्रमको लक्ष्य रहेको छ। लक्षित वर्ग शीर्षकमा विनियोजन भएको बजेटबाट उपाध्यक्षको सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरिएको हो।
गाउँपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख विन्दु शर्माले घ्यू र अण्डा वितरणका क्रममा स्वास्थ्यकर्मीबाट पोषण र पौष्टिक आहार तयार पार्ने विषयमा परामर्श पनि दिने गरिएको बताइन्।