शालिग्राम र कालिगण्डकी नदी संरक्षण अभियान
बेनी : विश्वमा कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिला संरक्षणका लागि नागरिक स्तरबाट अभियान सञ्चालन भएको छ। शालिग्राम संरक्षण अभियानले शालिग्रामको चोरी निकासी र दोहन रोकेर संरक्षणका लागि समुदायमा सन्देश प्रवाह गराउने तथा सरोकारवालालाई दवाव दिन कालीगण्डकीको शिलाहरूमा हिन्दु धर्मावलम्बीहरूको नाम लेख्ने अभियान चलाएको हो।
कालिगण्डकी नदी र शालिग्राम शिलालाई विश्वसम्पदा सूचीमा समावेश गर्न, नदीको स्वच्छता र पवित्रता कायम गरी प्रकृति र पर्यावरणको जगेर्ना गर्ने अभियानको उद्देश्य रहेको अभियानको बेनी नगर समितिका संयोजक नेत्रबहादुर महतले बताए।
कालीगण्डकी नदी सभ्यता र त्यहाँका शालिग्राम शिलाको संरक्षणका सोमबार बेनी स्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानका शिलामा भगवानका विभिन्न नाम अंकित गरिएको महतले बताए। अभियन्ता, साधु, सन्त र पर्यावरण प्रेमीहरूको समूहले हरहर गङ्गे, मच्छेमूर्ति, महाकुर्ममूर्ति, बराहमूर्ति, लक्ष्मीनारायण लगायत देवी देउताका नाम शिलामा कोरेका थिए। दुई नदीको दोभानमा सरसफाई गर्नुका साथै भजनकीर्तन र कविता वाचन गरेका थिए।
‘कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलालाई संसारभरका हिन्दूमार्गीले विष्णु भगवानका रूपमा पुज्ने गर्छन्,’ महतले भने ‘अवैज्ञानिक उत्खननले एकातिर नदीको पारिस्थितिकीय प्रणाली नै खल्बलिने र अर्कातिर दुर्लभ शालिग्राम शिला लोप हुने जोखिम बढेपछि कालीगण्डकी जोगाउने अभियान थालेका हौ।’
‘कालीगण्डकी बचाऔँ अभियान’ र ‘प्रकृति, पर्यावरण र शालिग्राम संरक्षण समिति’मा आबद्ध अभियानीहरूले गत जेठ ६ गतेदेखि म्याग्दीको प्रसिद्ध गलेश्वरधामबाट बागलुङ हुँदै पर्वतको मोदीवेणीधाम सम्मको क्षेत्रमा अवस्थित प्रमुख धर्मघाटहरूमा शालिग्राम भगवानका नाम शिलाङ्कित गरेका छन्। गण्डकी स्नान गरी हरिहर सङ्कृतनका साथ शिलाहरूमा भगवान्का नाम अङ्कित गरिएको अभियानका प्रवक्ता हरेमबहादुर खत्रीले बताए।
कालीगण्डकी नदीको पवित्रता एवम् चक्राङ्कित र निष्चक्राङ्कित शालिग्राम शिला र नदी संरक्षणको सन्देश दिनु पनि अभियानको उद्देश्य रहेको उनले बताए। ‘अस्तित्व सङ्कटबाट गुज्रिरहेको कालीगण्डकी नदी संरक्षणमा सरोकार भएका पक्षको ध्यानाकर्षण होस्, जनस्तरमा सन्देश पुगोस् भनेर यो अभियान थालिएको हो’, प्रवत्ता खत्रीले भने, ‘सभ्यता बोकेको नदी मानवीय अतिक्रमणको चपेटमा छ, यसतर्फ बेलैमा सबैको ध्यान जानु जरुरी छ।’
नदी र खोलाका किनारैकिनार खनिएका सडक, अव्यवस्थित सहरीकरण र विकास गतिविधि, प्रकृति दोहन आदि कारणले मानव र प्राणी जगत जोखिममा परेको उनको भनाइ छ। पर्वत, बागलुङ र म्याग्दी आसपासमा पर्ने आनन्द बगर, फोर्से, सती बगर, राजा बगर, सहश्रधारालगायत क्षेत्रमा सञ्चालित दर्जनौँ क्रसर उद्योगले मनोमानी नदीजन्य पदार्थ उत्खनन गर्दै आएका छन्। अव्यवस्थित उत्खननका कारण नदी कुरुप बन्दै गएको मात्र छैन, ठाउँठाउँमा नदीको धार नै परिवर्तन भइरहेको छ।
अभियन्ताहरूले गिट्टी, बालुवाका लागि खानीको विकास गर्नुपर्ने र ‘ड्याम’ बनाएर सङ्कलित नदीजन्य पदार्थलाई प्राधिकरणमार्फत वितरण गर्न माग राख्दै आएका छन्। कालीगण्डकीको शिर मुक्तिनाथ र दामोदरकुण्डलाई हिन्दू र बौद्धमार्गी दुवैले पवित्र क्षेत्र मान्दछन्।
कालीगण्डकीको जलाधार क्षेत्रमा आठ हजार मिटरभन्दा अग्ला तीनवटा हिमालय पर्वत श्रृङ्खला धवलागिरि, अन्नपूर्ण र मनाश्लु रहेका छन् भने आठ हजारदेखि छ हजार मिटरसम्मका दुई दर्जनभन्दा धेरै हिमशिखर रहेका छन्। कालीगण्डकीको जलाधार क्षेत्रमा मुस्ताङ, म्याग्दी, पर्वत, बाग्लुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ, नवलपुर, नवलपरासी गरी १० जिल्ला रहेका छन्। नदीको अप्राकृतिक दोहनले मुक्तिनाथदेखि देवघाटसम्म कालीगण्डकी तटमा रहेका दर्जनौँ तीर्थस्थलसमेत सङ्कटमा छन्।
हिमालय क्षेत्रको दामोदरकुण्ड, मुस्ताङको मुक्तिक्षेत्र हुँदै दक्षिण बग्ने कालीगण्डकीसँग आफ्नै प्राचीन सभ्यता छ। यससँग जोडिएको हिमालय सभ्यताको पौराणिक तथा धार्मिक साहित्यमा चर्चा गरिएको पाइन्छ। यस क्षेत्रका फाँटहरूमा प्राचीनकालदेखि नै सांस्कृतिक गतिविधि हुने गरेको विभिन्न धर्मग्रन्थहरूमा उल्लेख छ। चिनियाँहरूले रेशम व्यापारका क्रममा हिमालय भञ्ज्याङ पार गरी कालीगण्डकीको किनारैकिनार पोखरा, पाल्पा, तानसेन, लुम्बिनी हुँदै भारतसम्मको यात्रा गरेको इतिहासमा उल्लेख छ।