नेपालगन्जमा १२ वर्षपछि अत्यधिक गर्मी

नेपालगन्जमा १२ वर्षपछि अत्यधिक गर्मी

नेपालगन्ज  : बाँकेको खजुरा गाउँपालिका–२ घर भइ खजुरा बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका टोपेन्द्र सुनारको अत्यधिक गर्मीका कारण आइतबार निधन भयो। खजुरा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष एकमाया विश्वकर्माका अनुसार मोटर साइकल चलाउँदै गर्दा अत्यधिक गर्मी भएकाले सुनार बाइक रोकेर सडक छेउमा बस्दा चक्कर आएर ढलेका थिए। उनलाई अस्पताल लैजाँदा लैजाँदै मृत्यु भएको हो। पूर्वउपाध्यक्ष विश्वकर्मा भन्छिन्, ‘चर्को घाम र तातो हावा (लु)बाट सबै जनाले सावधानी अपनाउन अनुरोध छ।’

विगत एक महिनादेखि दिनदिनै बाँकेमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम छ। दिउँसो घर बाहिर निस्कन पनि गाह्रो छ। सहरका विभिन्न स्थानमा निःशुल्क पानीको व्यवस्था गरिएको छ। नेपाल रेडक्रस सोसाइटी बाँकेले त तातो हावा (लु)बाट जोगिन सचेतनामूलक कार्यक्रम गर्दै आएको छ। रेडक्रसका कार्यालय प्रमुख दोलखबहादुर डाँगी भन्छन्, ‘तातो हावाको लहरबाट जोगिन हामीले सहरमा माइकिङ गरेका छौं। बाट बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी बढी जोखिममा पर्ने भएकाले उनीहरुलाई सतर्कता अपनाउन भनेका छौं।’ यो काम रेडक्रसको तातो हावा लहर प्रतिकार्य कार्यक्रमले गरिरहेको छ। 

विश्वभर सन् २०२३ मा सबैभन्दा धेरै तापक्रम मापन भयो तर नेपालगन्जको हकमा भने विगत १२ वर्ष यता सबैभन्दा बढी गर्मी भएको छ। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार सन् २०१० यता पहिलो पटक लगातार एक महिनादेखि वर्षा नभएर लु चलिरहेको छ। कार्यालय प्रमुख राम विवेक राय भन्छन्, ‘गर्मी त अरु वर्ष पनि हुन्थ्यो। विगत ३०/४० दिनदेखि औसत ४० डिग्री सेल्सियसको तापक्रम भएको यो पहिलो पटक हो।’ 

विगत १२ वर्षमा नेपालगन्जमा सबैभन्दा बढी तापक्रम ४५ डिग्री सेल्सियस मापन गरिएको थियो। सन् १९९५–१९९६ मा पनि ४५ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो। गत १८ जेठमा नेपालगन्जमा १२ वर्ष यताकै सबैभन्दा उच्च ४४.२ डिग्री सेल्सियस तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सोमबार नेपालगन्जमा न्यूनतम् ३०.६ र अधिकतम् ४२.६ डिग्री सेल्सियस तापक्रम मापन भएको विभागले जनाएको छ। विभागले आगामी तीन दिनसम्म पनि लुम्बिनी बाहेकका प्रदेशमा मनसुनी प्रभाव पर्ने जनाएको छ। नेपालगन्ज लगायतका क्षेत्रमा भने अझै लु रहनेछ।

तातो हावाका कारण बाँकेका एकाध स्थानीय तह बाहेक सबैले झन्डै दुई सातादेखि विद्यालय बन्द गरेका थिए। केही स्थानीय तहमा भने विद्यालय विस्तारै खुल्न थालेका छन्। लामो समयदेखि वर्षा नभएका कारण आकासे पानीमा भर पर्ने किसानले धानको बिउ नै राख्न पाएका छैनन्। 

लामो समय  पानी नपरेपछि सोमबार बाँकेको राप्तीसोनारी गाउँपालिका–९ महादेवाका थारु समुदायका महिलाहरुले इन्द्र भगवानसँग पानी मागेका छन्। थारु महिला र पुरुषको परम्परागत पोशाक लगाएर गीत गाउँदै पानी माग्ने यो परम्परालाई (गैया बेहोर्ना) भनिन्छ। समयमै वर्षा नहुँदा त्यसको असर कृषि उत्पादनमा हुने किसानहरु बताउँछन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.