गति लिँदै लघुबिमा व्यवसाय

गति लिँदै लघुबिमा व्यवसाय

काठमाडौं : लघुबिमा व्यवसायले सुस्त रूपमा गति लिन थालेको लघुबिमकहरूले बताएका छन्। सुरुवाती चरणमा लघुबिमा व्यवसाय विस्तारमा चुनौती देखिए पनि यसले क्रमशः गति लिन थालेको उनीहरूको भनाइ छ। 

हुन त एकातर्फ अर्थतन्त्र सुस्ताएका बेला अर्कोतर्फ प्रतिस्पर्धी बजारमा सुरुवाती चरणमा लघुबिमा कम्पनीहरूलाई भने सञ्चालनमा चुनौती देखिएको छ। न्यून आय भएका वर्गलाई लक्षित गरेर उनीहरूको भविष्यमा हुन सक्ने जोखिमको बिमा गर्ने लघुबिमाको इतिहास नेपालमा धेरै लामो छैन।

अधिकांश ठूला बिमा कम्पनीहरू बढी सहर केन्द्रित भएको भन्दै नेपाल बिमा प्राधिकरणले प्रदेशमा प्रधान कार्यालय हुने गरी २०७९ मंसिरमा तीन जीवन र चार निर्जीवन बिमा कम्पनीलाई लाइसेन्स दिएको थियो। हाल नेपाल बिमा प्राधिकरणले लघुबिमा निर्देशन, २०७९ जारी गरेसँगै हाल सात वटा लघुबिमा कम्पनीहरू सञ्चालनमा छन्। लघुबिमाको लक्षित वर्ग राज्यका गरिब, न्यून आय भएका वर्ग, पिछडिएको सीमान्तकृत समुदायहरू भनेर निर्देशनले नै तोकेको छ।

आर्थिक वर्ष २०८०/८१ को वैशाखसम्मको तथ्यांकअनुसार जीवन लघुबिमा कम्पनीले ५२ हजार ९ सय ९९ बिमालेख जारी गर्न सफल भएका छन्। यो सक्रिय बिमालेख संख्या हो। उक्त बिमा गर्दा बिमितबाट प्रथम बिमाशुल्कबापत १० करोड १९ लाख रुपैयाँ संकलन भएको छ भने नवीकरणसहित १० करोड २० लाख रुपैयाँ रहेको छ। यस अवधिसम्म सञ्चालनमा रहेका तीन जीवन लघुबिमामध्ये क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले ३४ हजार ७ सय बिमालेख जारी गर्दा ६ करोड ३३ लाख रुपैयाँबराबर बिमाशुल्क संकलन भएको छ। यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १४ हजार ३ सय ५४ बिमालेख जारी गर्दा २ करोड ४८ हजार रुपैयाँबराबर बिमाशुल्क आर्जन गरेको छ। लिवर्टीले ३ हजार ९ सय ३६ बिमालेख बिक्रीबाट १ करोड ३७ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको छ।

जीवन लघुबिमा कम्पनीको व्यवसाय सीमित क्षेत्र, अझ दूरदराज केन्द्रित छ। समग्रमा अझै उद्देश्यअनुसार लघुबिमा विस्तार गर्न नसकेको स्वीकार्दै नेपाल लघुबिमक संघका अध्यक्ष चिरायु भण्डारी अधिकांश विपन्न वर्गलाई लघुबिमा भनेकै थाहा नभएकाले बुझाउनै समय लागेको बताउँछन्। उनी भन्छन्, ‘सिकर्मी, डकर्मी, ज्यामी, कृषकहरू लघुबिमाबारे पूर्ण जानकार छैनन्। अझ कृषि बिमा गरिसकेकाले भने यसबारे धेरैलाई थाहा छ। तर अरूलाई लघुबिमाबारे प्रचारप्रसार जरुरी छ।’ गार्डियनका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका भण्डारीका अनुसार लघुबिमा भनेको न्यून आय भएका व्यक्तिहरूको धन (सम्पत्ति), जनको सुरक्षण हो। ‘आयआर्जन गर्ने घरमुलीको मृत्यु भएको अवस्थामा परिवारको आम्दानीको मुहानै सुक्छ। त्यस्तो परिवार विपन्नबाट झन् विपन्न हुन्छ। अहिले हामीले बिमांक रकमका साथै बिमितको मृत्यु भएको खण्डमा काजक्रिया खर्च पनि दिएका छौं,’ उनले भने, ‘कलकारखानामा काम गर्ने मजदुर, घरेलु उद्योगहरूलाई पनि बिमाको दायरामा ल्याउनुपर्छ भनेर स्थानीय निकायमार्फत गरिरहेका छौं।’ 

निर्जीवन लघुबिमाका साढे ८५ हजार बिमालेख जारी

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा चारवटा लघुनिर्जीवन बिमा कम्पनीले जम्मा ८५ हजार ५ सय ४५ बिमालेख जारी गरेका छन्। उक्त बिमालेखबाट १९ करोड ३८ लाख ६३ हजार रुपैयाँबराबरको व्यवसाय गरेका छन्। जसमध्ये सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले बिमालेख जारी गरेको छ। यस अवधिमा ३८ हजार ४ सय ९२ बिमालेख जारी गर्दा ७ करोड ६७ लाख ९० हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ।

यस्तै, प्रोटेक्टिभले २०  हजार ३  सय ३३ बिमालेख बिक्रीबाट ६ करोड १४ लाख ८० हजार रुपैयाँबराबरको आम्दानी गरेको छ। यसैगरी स्टारले २१ हजार १ सय २९ बिमालेख जारी गरेकोमा ४ करोड २५ लाख रुपैयाँ आम्दानी गरेको छ। यससँगै ट्रस्ट माइक्रोले ५ हजार ५ सय ९१ बिमालेखबाट १ करोड ३० हजार रुपैयाँ विमाशुल्क संकलन गरेको छ। 

लघुबिमाबाट यसरी फाइदा

न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको संरक्षण गर्नु लघुबिमा हो।  लघुबिमा निर्देेशका, २०७१ ले ‘लघुबिमा व्यवसाय’ भन्नाले न्यून आय, आर्थिक, सामाजिक तथा भौगोलिक कारणबाट जोखिम उन्मुख वर्गका व्यक्ति तथा समुदायलाई लक्षित गरी निजहरूको जीवन तथा सम्पत्तिको संरक्षण गर्न यस निर्देशिकाबमोजिम गरिने बिमा व्यवसाय भनेर परिभाषित गरेको छ। 

लघुबिमा कायर्यक्रम अरू बिमालेखले समेट्न नसकेको वा पहुँचमा पुग्न नसकेका वर्गहरूप्रति लक्षित रहको छ। ग्रामीण क्षेत्रमा बसोबास गर्ने बिमाको दायराले समावेश गर्न नसकेका, न्यून आय भई जीविकोपार्जन गर्ने समुदायको दैनिक जीवनमा आई पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने एक कार्यक्रम नै लघुबिमा हो। यस्ता कार्यक्रमलाई सफल पार्न सकेमा आम मानिसहरूलाई बिमा क्षेत्रको दायराभित्र ल्याउन सकिने अपेक्षा छ।

लघु बिमा दाबी प्रक्रिया सरल र छोटो, थौरै बचतले बिमा शुल्क तिर्न पुग्ने, सरल प्रकृतिको बिमा, कम अपवाद, कम कागजी प्रक्रिया, बिमा गर्न धेरै झन्झट गर्नु नपर्ने थोरै बिमांकको बिमा गर्न सकिन्छ। विशेष गरेर लघु बिमा करिब ९ प्रकारका देखिन्छन्। यसअन्तर्गत गार्हस्थ्य, स्वास्थ्य, दुर्घटना, बाली, लघु व्यवसाय, पशुपन्छी, सावधिक, म्यादी लघु जीवनबिमा र गम्भीर प्रकृतिका रोग बिमा पर्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.