पुर्जाखोलाको पानीले बाँसबोट हराभरा

पुर्जाखोलाको पानीले बाँसबोट हराभरा

बेनी : पुर्जाखोला सिँचाइ आयोजना निर्माण भएपछि पर्वतको जलजला गाउँपालिका–७ बाँसबोटको फाट हराभरा भएको छ। जलजला गाउँपालिका म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो। 

गण्डकी प्रदेश सरकारको बजेटमा खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वत मार्फत २ वर्षअघि सुरु भएको पुर्जाखोजा सिँचाइ आयोजनाले पूर्णता पाएसँगै खडेरीमा पनि बाँसबोटको फाँट हराभरा बनेको हो। 

बास्कोट म्याग्दीको बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका-७ धाइरिङमा पर्दछ।  पुर्जाखोला सिँचाइ योजनाको उपभोक्ता समितिका उपाध्यक्ष रामचन्द्र रिजालले पुस्तौदेखिको सिँचाइको सपना पुरा बताए। 

‘पुर्जाखोलाको पानी ल्याएर फाँटमा सिँचाइ गर्ने बाउबाजेको सपना थियो। यो सपना पूरा होला भन्ने हामीले सोचेका थिएनौँ,’ उनले भने ‘प्रदेश सरकारले हाम्रो सपना पूरा गरिदिएको छ। प्रदेश सरकारप्रति आभारी छौँ।’

सिँचाइ सुविधा पुगेपछि ताजा तरकारी उत्पादन गरेर किसानले राम्रो आम्दानी लिन थालेको उनको भनाइ छ। सिँचाइ गर्न पाएपछि सबैतिर हराभरा देखिएको छ। खेतबारीमा गोलभेँडा, काँक्रा, घिरौला, करेला, काउली लगायतका ताजा तरकारी फलेको छ। असारको पहिलो हप्ता नै खेत रोपाई सुरु भएको रिजालले बताए।   

जलजलाको वडा नम्बर ९ बनौंको सीमानामा रहेको पुर्जाखोलाबाट दुईसय एमएमको एचडिपी पाइपमा ३ हजार ८ सय असी मिटर लामो दूरीको पाइपलाइनमार्फत बास्कोट गाउँको सिरानमा पानी ल्याइएको छ। सिँचाइ योजनाबाट बास्कोटका साथै फोक्सीङ, छहरा र एकपाटेका कृषकहरू लाभान्वित भएका छन्। 

तीन सय घरधुरीको ६ सय भन्दा बढी रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको पुर्जाखोला सिँचाइ योजना उपभोक्ता समितिका उपाध्यक्ष रिजालले बताए। बाह्रै महिना सिँचाइ पुगेको छ। ‘पहिला आकाशे पानीको भर पर्नुपर्दथ्यो,’ उनले भने ‘सिँचाई सुविधाले कृषि उत्पादनमा पचास प्रतिशत वृद्धि भएको छ। खडेरीमा पनि सिँचाइ गरेर ताजा तरकारी उत्पादन हुन थालेपछि कृषकको मुहारमा खुसी छाएको छ।’

सिँचाइको सुविधा पुगेपछि यहाँका किसानहरूको आम्दानीको स्रोत बढ्ने र अबको दुईचार वर्षभित्र जनजीवनमा धेरै परिवर्तन देखिने वडाध्यक्ष टुंगनाथ आचार्यले विश्वास व्यक्त गरे।   ‘गण्डकी प्रदेशका पूर्व सभामुख नेत्र अधिकारी, उनका स्वकीय सचिव लोकराज आचार्यको पहलमा भित्रिएको योजना सम्पन्न गर्न सिँचाइ कार्यालय र निर्माण व्यवसायीको पनि साथ सहयोग प्राप्त भयो,’ उनले भने ‘सिँचाइ योजना सम्पन्न गर्न सिँचाई कार्यालयका प्रमुखदेखि कर्मचारीहरू उपभोक्ता सरह काममा खटिनुभएकाले कार्यालयप्रति आभारी छौँ।’

सिँचाइ योजना सम्पन्न भएर कुलोमा पानी सञ्चालन भएपछि असार १५ भित्रमै धान रोपाइ हुन्छ। ताजा तरकारी उत्पादन गरेर किसानले आर्थिक लाभ पनि लिन थालेका छन्। सिँचाइ योजनाले बास्कोटवासीको जीवनस्तरमा सकरात्मक परिवर्तन देखिन थालेको छ।

पुर्जाखोलाको पानीले खेतमा सिँचाइ गर्न पाएपछि किसानहरू खुसी भएको जलजला गाउँपालिका ७ का वडा सदस्य लक्ष्मीकुमारी आचार्यले बताइन्। लामो खडेरी परे पनि सिँचाइ सुविधाले तरकारी र अन्य बाली राम्रो भएको उनले बताइन्। 

‘आकाशे पानीको भरमा रोपाइँ गर्ने र धेरैजसो जग्गामा मकै लगाउने गरिन्थ्यो। सिँचाइ नभएपछि कृषि पेसा पनि निर्वाहमुखी थियो,’ वडा सदस्य आचार्यले भनिन्, ‘सिँचाइ सुविधाले बास्कोटका सबैको घरपरिवारले तरकारी फलाएका छन्। सिँचाइ सुविधा भएपछि यहाँ बाह्रै महिना तरकारी उत्पादन हुन थालेको छ।’

गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन गरेको हो। 

कार्यालयले एक करोड ३३ लाख ६४ हजार तीन सय ४१ रुपैयाँमा तुलाचन कन्स्ट्रक्सन कुस्मा पर्वतसँग ठेक्का सम्झौता गरेर योजना सम्पन्न गरेको कार्यालयका प्रमुख विष्णुहरि अधिकारीले बताए। योजनामा इन्टेक, वितरण च्यामबर, ८ वटा पाइप क्रसिङ पुल लगायतका संरचना निर्माण भएको अधिकारीले बताए। निर्माण व्यवसायीले तोकिएकै समय अवधिमा योजना सम्पन्न गरेर उदाहरण प्रस्तुत गरेको उनको भनाइ छ। 

योजना अन्तर्गत उपभोक्ता समितिले निर्माण गर्नुपर्ने चारसय मिटरको नहर बनाउन बाँकी रहे पनि अन्य काम सकिएकाले पानी सञ्चालनमा आएको उनले बताए। यसै आर्थिक वर्षभित्र योजनाको सबै काम सम्पन्न हुने र कृषि उत्पादनमा थप वृद्धि हुने आशा गरिएको उनले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.