खच्चरको जुनी, सधैं पहिरोमुनि
गोरखा : धार्चे गाउँपालिका ३ खोर्लाबेँसीका प्रदीप खत्री १४ वटा खच्चर धपाउँदै भोटखोलातिर उकालिँदै थिए। बाटो माथिको भीरबाट ठूलो ढुंगा लडिबुडी खेल्दै उनीमाथि नै आइपुग्यो।
‘चिउरी भीरबाट घरभन्दा नि ठूलो ढुंगो गुडुल्किँदै मैमाथि आइपुग्न लागेको एक्कासि देखेँ’, तीन वर्ष अघिको घटना सम्झँदै उनी भन्छन्, ‘अरू कुरा सोच्नै भ्याइन, सोझै बूढीगण्डकीमा हाम्फालेँ। ढुंगो बाटोमै अड्किएछ। मैले बूढीगण्डकीको पानीभित्रको ढुंगो समात्न पुगेँ। अनि हल्काले छेउमा फाल्दियो र बाँचेँ।’ उनी बाँचे पनि उनको परिवार पाल्ने खच्चर भने बाँच्न सकेनन्। ‘केही दिनपछि पहिरो पन्छ्याउन जाँदा देखेँ, चारवटा खच्चर त अचार भएछन्’, उनी भन्छन्, ‘खच्चर त हामीलाई पाल्ने हाम्रो परिवार जस्तै हो।
एउटा खच्चरको १ लाख २० हजारभन्दा धेरै पर्छ। चारवटा खच्चर मरे। तिनीहरूले बोकेका सामान नोक्सान भयो। अठार सय खोलामा खच्चर गोठालालाई नि गाह्रो छ, खच्चर साहूलाई पनि धेरै गाह्रो छ।’ तीन वर्षअघिको यो घटना अहिलेसम्म उनको मन, मस्तिष्कमा आलै छ। यसले उनलाई मानसिक रूपमा र आर्थिक रूपमा पनि धेरै गम्भीर असर ग¥यो।
बाटोघाटोको सुविधा नभएको दूरदराजको ढुवानीको प्रभावकारी साधन मानिने खच्चर व्यवसायलाई राज्यले चिन्दैन। भोटखोलाका बासिन्दाको भान्सामा नुन, चामल पु¥याउने खच्चर व्यवसायको चुनौती र जोखिमीलाई सरकारले जान्दैन। नागरिकहरूले स्वस्फुर्त रूपमा सञ्चालनमा ल्याएको खच्चर व्यवसायमा हुने यस्ता घटना कुनै चर्चाको विषय पनि बन्दैन।
अठार सय खोलामा खच्चर हिँडाउने काममा असाध्यै जोखिम रहेको तर यसको कुनै चर्चा, परिचर्चा, लेखाजोखा नहुने र राज्यको नजरमा पनि नपर्ने गरेको अर्का खच्चर व्यवसायी ऋषि थापा मगर बताउँछन्। ‘दुई वर्षअघि गाउँपालिकाको केन्द्र फिलिम जोड्ने झोलुङ्गे पुलबाट बहादुर गुरुङको ११ वटा खच्चर खसे। पाँचवटा खच्चर मरे’, उनी भन्छन्, ‘हाम्रो अठार सय खोलामा सात, ८ सय खच्चर हिँड्छन्। कहिले भीरबाट लडेर, कहिले पुलबाट लडेर, कहिले पहिरोमा पुरिएर, कहिले भीरबाट खसेको ढुंगा लागेर खच्चर नमरेको वर्षै छैन। एक वर्षमा कम्तीमा पनि २०, २५ वटा खच्चर यसरी मर्छन्।’ भोटखोलाका जनताको सेवा गर्ने खच्चर हिँड्ने सुरक्षित बाटो बनाउने बारेमा सरकारको ध्यान नगएको भन्दै उनले गुनासो गरे।
‘अब बर्खा लाग्दै छ। बूढीगण्डकीको बाढी पहिरोको पर्वाह नगरी खच्चर हिँडाउनुपर्छ। बाढी, पहिरोमा डराएर खच्चर हिँड्न मान्दैनन्, तैपनि जबर्जस्ती नहिँडाइ हुँदैन’, खच्चर व्यवसायी समितिका कोषाध्यक्षसमेत रहेका थापा भन्छन्, ‘उता भोटखोलाका मान्छेको घरघरमा नुन, चामल नपु¥याए हातमुख जोर्न समस्या, हामीलाई दुईचार पैसाको कमाइको पनि बाटो। त्यसैले बाध्य भएर पनि जोखिम मल्दै खच्चर हिँडाउनुपर्छ।’
स्थानीयवासी हिँड्ने बाटो पनि खच्चर व्यवसायीले नै बनाउने गरेको उनले बताए। भोटखोलामा बाढी, पहिरोले बिगारेको बाटो खच्चर व्यवसायीले नै बनाउँदै हिँड्दै गर्ने उनको भनाइ छ। ‘सार्वजनिक सेवाको काम सरकारले गर्नुपर्ने हो, तर खच्चर व्यवसायी आफंैले बाटो बनाएर अबरोध भएको बाटो खुलाउने गरेका छौँ’, उनले भने। बाध्य भएर जोखिम मल्नु परेको उनको भनाइ छ।