संसद भवनको सुरक्षामा खटिएका प्रहरी जवानले आफैंलाई हाने गोली
काठमाडौं : नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षामा खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानेका छन्। ड्युटीमा रहेका बेला बुधबार बिहान ८ बजेतिर २२ वर्षीय अजित गोलेले आफूले बोकेको इन्सास राइफल आफ्नै निधारमा हानेर आत्महत्या गरेको प्रहरी स्रोतले जनाएको छ।
संसद भवनको पश्चिम गेटको २ नम्बर गेटमा सुरक्षार्थी खटिएका उनको घटनास्थलमै मृत्यु भएको हो। बिहान ६ बजेदेखि ड्युटीमा रहेका गोले ८:१५ बजेतिर शौचालयमा मृत भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए।
दोलखाको मेलुङ गाउँपालिका-४ घरका गोले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन दरबन्दी भई संघीय संसद सुरक्षा वेस नयाँबानेश्वरमा कार्यरत थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।