घाटवेशी पुल जीर्ण, जोखिम मोल्दै स्थानीय
गोरखा : बूढीगण्डकी डुबान क्षेत्रमा विगत १० वर्षदेखि सरकारी बजेट तथा कार्यक्रम ठप्प छ। नयाँ विकासका योजना ठप्प छन्। पुराना योजनाहरू पनि मर्मत सम्भार हुन सकेका छैनन्। बूढीगण्डकी आयोजना सुरु हुन सकेको छैन। तर सोही आयोजनाका कारण विकास निर्माण तथा सेवा सुविधाबाट बूढीगण्डकी क्षेत्रका बासिन्दा वञ्चित छन्।
त्यसको प्रत्यक्ष उदाहरण हो, घाटवेशी पुल। गोरखाका भीमसेन थापा गाउँपालिका-८ घाटबेशी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ बुटार जोड्ने बूढीगण्डकीमाथि रहेको झोलुङ्गे पुल निकै जीर्ण अवस्थामा रहेको छ। पुलको फलेकहरू मक्किएर, कुहिएर भाँचिदै गएका छन्। कुहिएर फलेक झरेका ठाउँहरूमा स–साना लौरो राखेर छोपछाप पार्ने प्रयास गरिएको छ। पुलको बिमहरू पनि कुहिन थालेका छन्। मक्किएको, भाँचिएको फलेकमाथि टेकेर दैनिक सयौँ पैदलयात्री बूढीगण्डकी वारपार गर्न बाध्य छन्। कुहिएका बिमहरू भाँचिएर कुन बेला अप्रिय घटना घट्ने हो, थाहा छैन।
यो पुल घाटबेसी र बुटारका स्थानीय आवतजावत गर्ने मुख्यमार्ग भएको भूमिस्थान टोल विकास समितिका अध्यक्ष रामेश्वर तिमिल्सिना बताउँछन्। बुटारका ५० प्रतिशत स्थानीयहरू सोही पुल हुँदै खेती गर्न घाटबेशी आउँछन्। घाटबेशीका बालबालिकाहरू पढ्नका लागि त्यही जोखिम पुलबाट बुटार पुग्छन्।
बूढीगण्डकी डुबान क्षेत्र भएका कारण पुलको कुनै पनि मर्मत सम्भारको काम हुन नसकेको तिमिल्सिनाले बताए। पुल मर्मतको लागि बजेट माग गर्दा डुबान क्षेत्र भनेर टार्ने गरेको उनले गुनासो गरे। ‘पुल मर्मत गर्नुपर्यो भनेर बजेट माग्न जाँदा डुबान क्षेत्रमा किन बजेट खर्च गर्ने ? भनेर फर्काइदिन्छन्’, तिमिल्सिना भन्छन्, ‘विभिन्न ठाउँहरूमा डुबान क्षेत्र पर्दा पनि विकास निर्माणको काम भइरहेको छ, यहाँ चाहिँ नयाँ विकासको काम पनि हुँदैन, बिग्रे भत्केको ठाउँमा मर्मत सम्भार पनि हुँदैन।’
पुल जीर्ण हुनाले निकै जोखिम सहेर वारपार गर्नु परेको उनी सुनाउँछन्। ‘डुबान क्षेत्र भनेको छ, न आयोजना बन्छ, न विकास निर्माणको काम हुन्छ। हामी दोहोरो चपेटामा पर्यौँ। साह्रै बेहाल छ’, उनले भने, ‘आयोजनाको अहिलेसम्म कुनै प्रगति भएको छैन। बिसौँ वर्षसम्म हामी यहीँ बस्न पर्ने होला, अनि डुबान क्षेत्र भनेर हामीलाई किन पछाडि पारिएको हो ?’ २०५६/०५७ सालमा बनेको १९० मिटर लामो सो झोलुङ्गे पुल साह्रै जोखिम रहेको उनले बताए।
पुल जीर्ण भएको भन्दै पालिकाबाट दुई चोटीसम्म सर्भे भइसकेको तर काम भने नभएको अध्यक्ष तिमिल्सिना बताउँछन्। ‘पालिकाबाट दुई चोटीसम्म सर्भे गर्न प्राविधिक टोलीहरू आए’, उनले भने, ‘तर लठ्ठाले धान्दैन भनेर गए।’
दुई वर्षअघि गाउँको टोल टोलबाट काठ उठाएर पुलको फलेक फेरिएको तर सो फलेक पनि अहिले कुहिएको अर्का स्थानीय रामचन्द्र कुमालले बताए। यत्तिका जोखिम पुलबाट पनि स्थानीयहरू मोटरसाइकलमा यात्रा गर्ने उनी बताउँछन्। भीमसेन थापा गाउँपालिका वडा नं. ४, ७ र ८ का स्थानीय सामाजिक सुरक्षा भत्तादेखि अन्य बैंकिङ सुविधा लिन घाटबेशी पुल हुँदै धादिङको बुटार जान्छन्।