मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना : धारापानी–झिनडाडा खण्डको स्तरोन्नति गरिँदै

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक आयोजना : धारापानी–झिनडाडा खण्डको स्तरोन्नति गरिँदै

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका-७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडासम्मको सडक स्तरोन्नतिको तयारी भएको छ। 

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडकअन्तर्गत धवलागिरी गाउँपालिकाको धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्रे र ग्राभेल गर्न लागिएको हो। 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ करोड रुपैयाँ विनियोजन गरेको यस सडकका लागि २५ करोड रुपैयाँ बराबरको बहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो। 

प्रतिस्पर्धा मार्फत आयोजना निर्माणका लागि छनौट भएको निर्माण कम्पनी रामसागर-बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउने काम थाल्ने तयारी गरेको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिए।  

४ किलोमिटर दूरीको यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले १४ करोड ६१ लाख ६१ हजार रुपैयाँमा गत जेठ २० गते ठेक्का सम्झौता गरेको छ। २ वर्षको ठेक्का अवधि भएको आयोजना एकै वर्षमा सम्पन्न लक्ष्य सहित मजदुर र उपकरण परिचालन गरिने निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन्। 

म्याग्दी देखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बताए।  

यो सडक आयोजना अन्तर्गत झिनडाडादेखि मुना तर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रे सहित स्तरोन्नति गर्न प्रदेश र संघीय सरकारको लागत साझेदारीमा १ अर्ब रुपैयाँ बजेटको आयोजना आगामी आर्थिक वर्षदेखि सुरु हुने उनले जानकारी दिए। 

हाल मरेनी पुगेको कच्चि सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालय मार्फत कार्यान्वयन हुने गरि थप ६ करोड ५० लाख रुपैयाँ विनियोजन भएको जुग्जालीले बताए। स्थानीयबासीको सहमति र आग्रह अनुसार धारापानी र ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन भएको उनले बताए। 

२०६६ मा धारापानीमा पुगेको सडक स्तरोन्नति गर्नका लागि स्थानीयबासीले जग्गा उपलब्ध गराउने सहमति गरेका टोल सुधार समितिका संयोजक रिम बहादुर थापाले बताए। सडक स्तरोन्नति भएपछि धवलागिरी गाउँपालिकाका बासिन्दामा खुसीयाली छाएको छ। यो सडक धवलागिरि गाउँपालिकाको ५ वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो। 

धारापानीका अगुवा किरण थापाले ८ मिटर फराकिलो सडक बनाउन जग्गा दिन प्रभावित क्षेत्रका जग्गाधनी सहमत भएको बताए। धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सडक विस्तारका लागि धारापानीका जग्गाधनीहरुले दिएको सहमतिले काम गर्न सजिलो हुने र छिटो सम्पन्न हुने अपेक्षा गरे।

सडक विस्तारका क्रममा बस्तीमा क्षति कम हुने र ढल व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीयबासीले माग गरेका छन्। गण्डकी प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब ७ किलोमिटर सडक हालै ग्राभेल भएको छ। 

झिनडाडादेखि धवलागिरीको केन्द्र मुना र दरवाङदेखि धारापानीसम्म कालोपत्रे गर्न संघीय र प्रदेश सरकारको एक अर्ब रुपैयाँको समपुरक योजनाका लागि यस वर्ष संघीय सरकारले १२ करोड र प्रदेश सरकारले १२ करोड रुपैयाँ बिनियोजन गरेका छन्। 

संघीय सरकारले मरेनीदेखि जलजला ढोरपाटन जोड्ने सडकका लागि ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकलाई मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बनाउन पूर्व प्रतिबद्धता अनुसार काम भइरहेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.