पार्टीलाई निःशुल्क जग्गा
सिन्धुली : सिन्धुलीको दूधौली नगरपालिका-१४ का तबल सिं राईले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई निःशुल्क जग्गा प्रदान गरेका छन्। उनले एमाले वडा कमिटीको भवन निर्माणका लागी दूधौली नगरपालिका १४ मा दश धुर जग्गा निःशुल्क उपलब्ध गराएका हुन्।
राईले पार्टी कार्यालय निर्माणका लागि दश धुर जग्गा मालपोत कार्यालय सिन्धुलीमा रजिष्ट्रेसन पास गराएर दिएका हुन्। उता पार्टीलाई निःशुल्क जग्गा उपलब्ध गराउने राईलाई नेकपा एमाले सिन्धुलीले सम्मान गरेको छ।
बुधबार नेकपा एमाले सिन्धुलीले आजाद स्मृति भवनमा राईलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो। नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले राईले पार्टी कार्यालयका लागि जग्गादान गरी कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएकाले पार्टीको तर्फबाट सम्मान गरिएको बताए।
राईको सहयोगले उक्त अवसरमा अध्यक्ष श्रेष्ठले एमालेको राजनीतिक उचाइलाई अझ माथि पुर्याउन सहयोग पुगेको बताए। सोही अवसरमा राईले निःशुल्क दिएको जग्गाको लालपूर्जा दूधौली नगरपालिका १४ वडा कमिटीका अध्यक्ष बलबहादुर कटवाललाई हस्तान्तरण गरिएको छ।