गुणी गिद्ध
गिद्ध ‘प्रकृतिको कुचीकार’ हुन्। यिनले मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर खाई हाम्रो वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउँछन्। संसारमा गिद्ध मात्र यस्ता प्राणी हुन् जसको आहार मरेका जनावरको सडेगलेको मासु मात्रै हो। गिद्धले सिनोबाट हुने जमिन, जल र वायु प्रदूषण तथा त्यसबाट उत्पन्न हुने सरुवा रोगको महामारीलाई नियन्त्रण गर्न सहयोग गर्छन्।
हिन्दू धर्ममा गिद्धलाई सनी देवताको बहानका रूपमा हेरिन्छ। नेपालको हिमाल पारीका जिल्लामा बसोबास गर्ने तिब्बती लामा समुदायले आफन्तको मृत्युपश्चात् शव गिद्धलाई खुवाउने प्रचलन अहिले पनि कायम छ। नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन्। करिब अढाइ दशक अघिसम्म संसारमा सबैभन्दा सजिलै र ठूलो संख्यामा देख्न पाइने चरा गिद्ध आज सबैभन्दा तीव्र गतिमा घटिरहेको प्रजाति हो।
सन् १९८० को दशकमा नेपालमा अनुमानित १० देखि १६ लाखको संख्यामा पाइने गिद्ध हाल ९० प्रतिशतभन्दा बढीले घटी २० हजारभन्दा कममा सीमित छन्। गिद्ध विनाशको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो। यसलाई नेपाल सरकारले सन् २००६ मा प्रतिबन्ध लगाएको थियो। गिद्ध संरक्षणका लागि सुरक्षित औषधि मेलोक्सिक्यामको उत्पादन, गिद्धलाई सुरक्षित आहार खुवाउने जटायु (गिद्ध) रेस्टुरेन्टको सञ्चालन, हानिकारक औषधिको प्रयोगमा निरुत्साहान र समुदाय सचेतना जस्ता कार्यले पछिल्ला वर्षहरूमा गिद्धको घट्ने दर रोकिएको छ। तर, पनि गिद्ध अभैm खतरामुक्त छैनन्।
जिउँदो जनावरलाई आक्रमण नगरी मरुन्जेल कुर्ने, आजीवन एउटै जोडी मिलेर बस्ने, भाले पोथी मिलेर काम गर्ने, समूहमा बस्ने र खाने गुनी गिद्धको संरक्षणका लागि पशु उपचारमा हानिकारक औषधिको प्रयोग रोक्नुपर्छ। सिनोमा विष नहालौं, गिद्धलाई शुद्ध आहरको ब्यवस्था गरौं र यिनको बासस्थान जोगाउँ।
(भुसाल बिगत डेढ दशकदेखि नेपालमा गिद्धको अध्ययन र संरक्षणमा लागिपरेका छन्। उनले हालै ‘गिद्धः प्रकृतिका कुचीकार’ पुस्तक पाठकमाझ ल्याएका छन्।)