हिमालपारीको जाङ गाउँ नै रित्तियो

गाउँमा स्वास्थ्य संस्था छैनन्, सदरमुकाम पुग्न तीन दिन : उत्पादनले तीन महिना मात्र धान्छ

हिमालपारीको जाङ गाउँ नै रित्तियो

१० वर्षअघि जाङ गाउँमा ६४ घरपरिवार बस्थे। तर, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा र वस्तुसमेत अभाव हुन थालेपछि स्थानीय गाउँ छाडेर सहरकेन्द्रित हुन थालेका छन्। हाल  ५ घरपरिवार मात्र बचेका छन्।

हुम्ला : उत्तरी चीनसँग सीमा जोडिएको हिमाल पारीको गाउँ बेलाबेला राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने भूभाग हो। हुम्लाको लिमी उपत्यका  साविकको लिमी गाउँ विकास समिति र हालको नाम्खा गाउँपालिका –६ मा पर्ने तिल,जाङ,हल्जी गाउँमा खाद्यान्न, र औषधी जहिल्यै अभाव हुने गर्छ। 

बेलाबेला चीनियाँ पक्षले सीमा अतिक्रमण गरेको भन्दै संसद समेतमा आवाज उठछ। तर  लिमी लाप्चाको सीमा सुरक्षाका लागि राज्यका निकाय छैनन्। बरु सीमा रक्षकका रूपमा रहेका जाङ गाउँ रित्तिँदै गएको छ। झण्डै  १० वर्षअघि जाङ गाउँमा ६४ घरपरिवार बस्थे। तर, शिक्षा, स्वास्थ्य, खाद्यान्नलगायतका अत्यावश्यक सेवा र वस्तुसमेत अभाव हुन थालेपछि स्थानीय गाउँ छाडेर सहर केन्द्रित हुन थालेका छन्। जाङमा हाल ५ घरपरिवार मात्र बचेका छन्।

‘छोराछोरी पढाउन, उपचार गर्न सहर नै धाउनुपर्छ। गाउँमा बसेर मात्र के गर्नु ? खाद्यान्नसमेत पाइँदैन। त्यही भएर सबै गाउँ छोडेर सहर हिँडे,’ स्थानीय कुन्चोक तामाङले भने, ‘अहिले गाउँमा १७ घर मात्र बाँकी छन्। त्यसमा पनि धेरैजसो सहर हिँड्ने तरखरमा छन्। अब  ५ घर बाँकी रहेका छन्। गाउँका युवाहरुको पहलमा गाउँ रित्तिन नदिने अभियान चलाउन योजना रहेको तामाङले बताए।

कुन्चोकका अनुसार यहाँबाट बसाइँ सरेकाहरू धेरैजसो काठमाडौं गएका छन्। बसाइँ सर्न बाँकी रहेकामध्ये पनि धेरैजसोले चीनको ताक्लाकोटमा होटेल, पसल थापेका छन्, केही त्यहीँ मजदुरी गर्छन्।
  
जनप्रतिनिधि नै राजीनामा दिएर गाउँ छोडिन् 

कतिसम्म भने स्थानीय तहका जनप्रतिनिधिसमेत राजीनामा दिएर गाउँ छाड्ने तयारीमा छन्। जाङबाट गाउँ कार्यपालिका सदस्यमा निर्वाचित भएकी पुटी लामाले असार २ गते वडामा राजीनामा दिएको नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए। गाउँमा स्थानीय भएकाले आफू पनि गाउँ छोड्ने भन्दै वडामा राजीनामा दिएकी छन्। अब गाउँपालिकामा पनि राजीनामा दिने भन्दै छिन वडाध्यक्ष तामाङले बताए।

तामाङले भने,  ‘स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माणले प्राथमिकता पाएको छ। शिक्षा, स्वास्थ्यसहितका आधारभूत आवश्यकता गाउँमै पूरा गर्न लागिपरेका छौं। तर, स्थानीय बासिन्दा एकपछि अर्को बसाइँ सर्दै जान थालेपछि जाङ गाउँ नै खाली हुन थालेको छ। यसले चिन्तित बनाएको छ।’

गुणस्तरीय स्वास्थ्य छैन सदरमुकाम पुग्न तीन दिनको बाटो

जाङ गाउँ आधारभूत स्वास्थ्य सेवाबाट पनि वञ्चित छ। स्वास्थ्य इकाइसमेत छैन। हल्जी गाउँमा रहेको सामुदायिक स्वास्थ्य इकाइबाट औषधिमूलो गर्न पनि आउजाउ गर्न चार घन्टा लाग्छ। त्यहाँ पनि अहेब र अनमी मात्र कार्यरत छन्।  चिकित्सकसहितको सेवाका लागि जिल्ला सदरमुकाम सिमकोट पुग्नुपर्छ। जहाँ पुग्न हिँडेर तीन दिन लाग्छ। १२ महिनामा दुई महिना मात्र जिप चल्छन्। अरू बोला पैदल नै जानुपर्छ। 

सिमकोटमा जिल्ला अस्पताल छ। त्यहाँ पनि उपचार हुन नकसके हेलिकोप्टर चार्टर गरेर नेपालगन्ज वा काठमाडौं जानुपर्छ। सिमकोट विमानस्थलमा जहाज आउने टुंगो हुँदैन। सदरमुकाम सिमकोटदेखि लिमीको कच्ची सडक पनि पहिरो तथा खोलामा बाढी आएर बेलबेलामा अवरुद्ध हुने गरेको जाङका फुवु लाामाले बताए। 

गाउँ रित्तिन थालेपछि आधारभूत विद्यालय पनि बन्द 

जाङ गाउँ रित्तिन थालेपछि विद्यालय पनि बन्द भएको छ। कक्षा ३ सम्म पढाइ हुने भृकुटी आधारभूत विद्यालय थियो। तर, स्थानीयले गाउँ छाड्न थालेपछि यो शैक्षिक सत्रमा दुई विद्यार्थी मात्र भर्नाका लागि आएपछि विद्यालय नै बन्द गरिएको नाम्खा गाउँपालिकाका शिक्षा शाखा प्रमुख मनराज बुढाले बताए। 

उनका अनुसार भृकुटी माविका शिक्षक राजबहादुर ऐडीलाई केर्मीमा रहेको तातापानी आधारभूत विद्यालय र शिक्षक सन्तबहादुर रोकायालाई हल्जीमा रहेको सुनखानी आधारभूत विद्यालयमा खटाइएको छ। सुनखानीमा भने ५१ विद्यार्थी छन्। सुनखानीमा यस वर्षबाट कक्षा ६ सम्म पठनपाठन भइरहेको छ।
 
उत्पादनले तीन महिना मात्र धान्छ 

जाङमा आलु र उवा फल्छ। दाल, चामल, तेल किनेरै खानुपर्छ। गाउँमा उत्पादन भएको आलु, उवाले पनि मुस्किले तीन महिना धान्छ। त्यही भएर जाङ मात्र होइन, लिमी उपत्यकामा जहिल्यै खाद्यान्न अभाव हुन्छ।

सरकारी अनुदानको चामल समयमा पुग्दैन, चीनसँगको नाका हिल्सा हुँदै ताक्लाकोट पुगेर खाद्यान्न किनेर खानुपर्छ। जाङबाट ताक्लाकोट पुग्न पनि पैदल दुई दिन लाग्छ। यहाँका बासिन्दाले ताक्लाकोटबाट चामल, पिठो, मैदा, भोटेचिया, घिउलगायत दैनिक उपभोग्य वस्तु किन्ने गरेको स्थानीय कुन्चोक तामाङले बताए। यहाँका बासिन्दाले ताक्लाकोटमा होटेल, पसल थापेका छन् भने केही मजदुरी पनि गर्छन्।
 
हजार वर्ष पुरानो गुम्बा जोगाउने हल्जी गाउँ

हजार वर्ष पुरानो हल्जी गुम्बाको संरक्षण गर्न हल्जीका स्थानीय लागिपरेका छन्। यहाँका ९६ घरपरिवार हल्जी गुम्बाको संरक्षण गरेर बसेका छन्। धार्मिक तथा ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने हल्जी गुम्बाको संरक्षणले बसाइँसराइ कतै नगरेको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले बताए। ‘हल्जीका गाउँलेले नै गुम्बाको रेखदेख गरेका छन्’, तामाङले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.