प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बागमती प्रदेश सभाको बैठक स्थगित
हेटौंडा : बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ। प्रतिपक्ष दलहरूले आजको बैठकमा बजेट पुनः लेखनको माग गर्दै अवरोध गरेपछि सभामुख भुवन कुमार पाठकले बैठक स्थगित गरेका हुन्। उनले भोलि बिहान ११ बजे पुनः बैठक आह्वान गरेका छन्।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट सन्तुलित नभएको र आय व्ययको विवरण नै नमिलेको भन्दै बिहीबार कांग्रेस, राप्रपा र नेमकिपाका सांसदहरूले विरोध गरेका हुन्। संसद् बैठकमा प्रतिपक्ष दलका सांसदहरूले बजेट सिस्टमलाई नै उल्लंघन गरेर बजेट कार्यक्रम परक पर्ने गरी पुस्तिका ल्याएको भन्दै विरोध गरेका थिए।
उनीहरूले संसद् बैठकमा नाराबाजी समेत गरेका थिए। सांसदहरूले ‘बजेट पुनः लेखन गर, बजेट सन्तुलित बजेट गर, बजेटलाई समावेशी गर, बजेटमा आर्थिक अराजकता गर्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।
प्रतिपक्ष दलका सांसदहरूको विरोधपछि सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरे पनि दलहरूबीच सहमति नजुटेपछि बैठक स्थगित भएको हो।