आली लगाउँदै गरेका पुरुष खेतमा मृत फेला
विराटनगर : मोरङको रंगेलीमा खेतमा आली लगाउँदै गरेका एक जना पुरुष बिहीबार दिउँसो मृत फेला परेका छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार रंगेली नगरपालिका–९ का ६० वर्षीय कात्तिकचन्द ऋषिदेव १२:३० बजेतिर मृत फेला परेका हुन्। मोरङको लेटाङ नगरपालिकाका लालबहादुर घिसिङको खेतमा ऋषिदेव मृत भेटिएको बस्नेतले बताए।
उनका अनुसार घिसिङको रंगेली–९ सखुवाथानस्थित खेतको आली लगाउने ठेक्का ऋषिदेवले लिएको खुलेको छ। ऋषिदेव र रंगेली–९ का देवकुमार राजवंशीले आली लगाउँदै गरेकामा राजवंशी खानेपानी लिन भनेर गएको र उनी फर्किएर आउँदा ऋषिदेवलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जानकारी बस्नेतले दिए।
उनका अनुसार खेतको गराको एउटा आलीमा टाउको र अर्को आलीमा खुट्टा रहेको अवस्थामा शव भेटिएको हो। आली लगाउन प्रयोग गरेको फोरुवा भने मृतककै शरीरले थिचिरहेको अवस्थामा थियो। तत्काल हेर्दा घटना शंकास्पद नदेखिएको प्रहरीले जनाएको छ।
कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट उठाएर शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा लगिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।