कोशीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

कोशीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार

विराटनगर : कोशी प्रदेशमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना तयार भएको छ। मनसुन सुरु भएर वर्षा, बाढी एवं पहिरोबाट जनधनको क्षति हुन थालेपछि प्रदेश सरकारले योजना तयार पारेको हो। 

प्रदेश सरकारको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८१ बिहीबार पास भएको छ। मुख्यमन्त्रीको अध्यक्षतामा रहेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले योजना पास गरेको हो। योजना पास गर्न मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बैठक बसेको थियो। प्रदेश विपद् व्यवस्थापन परिषद् मुख्यमन्त्रीको अध्यक्षतामा रहने कानुनी व्यवस्था छ। मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पास भएसँगै आगामी आर्थिक वर्षमा सुरुदेखि नै विपद्का कार्यहरू गर्न सहज हुने छ। 

परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले मातहतका निकायहरूलाई विपद्का बेला सबै मिलेर काम गर्न निर्देशन दिए। विपद्का बेला प्रदेश सरकारले आफूले सकेको सहयोग गर्ने र सुरक्षा निकायहरूसँग समन्वय गरेर काम गर्ने उनको भनाइ छ। बैठकमा विपद्का बेला आइपर्ने घटनाहरूलाई मध्यनजर गर्दै गर्नुपर्ने कार्ययोजनाहरूको बारेमा पनि छलफल भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए। 

उनका अनुसार परिषद्को बैठकमा चालु आर्थिक वर्षको असार ५ गतेसम्म प्रदेशभित्र विपदमा परेकाहरूलाई गरिएको राहत सहयोगका बारेमा पनि जानकारी गराइएको छ। प्रदेश सरकारले प्राकृतिक विपदमा परेकालाई ७२ लाख ५५ हजार राहत वितरण गरिसकेको छ। सबैभन्दा बढी उदयपुरमा ४९ जनालाई १६ लाख ९५ हजार र कम ओखलढुंगामा १ जनालाई ३० हजार वितरण गरेको हो। 

त्यस्तै, विपदबाट प्रभावित भएका परिवारका निजी आवास पुनर्निर्माणका लागि १ करोड १४ लाख ४५ हजार खर्च भएको छ। प्रदेश सरकारले जाजरकोटका भूकम्प पीडितलाई समेत १ करोड सहयोग गरेको छ। सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रका लागि ३ ठाउँमा ६ करोड रुपैयाँ खर्च गरिसकेको छ। 

विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले सुरक्षा एवं सरोकारवाला निकायहरूसँग पनि सहयोग र समन्वय गरेर काम गरिरहेको छ। विपद्का बेला खोज, उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राखेर काम गरिने थापाले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.