गुल्मीको मालिकामा ब्रिकेट कोइला उत्पादन

गुल्मीको मालिकामा ब्रिकेट कोइला उत्पादन

गुल्मी : गुल्मीको मालिका गाउँपालिकाले बनमारा झारबाट ब्रिकेट कोइला उत्पादन गर्ने नीति ल्याएको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष देविराम अर्यालले गाउँबस्तीमा पर्याप्त बनमारा झार पाइने तर यो प्रयोगविहीन र जग्गालाई रुखो बनाउने भएकाले यसबाट कोइला उत्पादनको नीति ल्याएको बताएका हुन्। बिहीबार १६ औं गाउँसभामा गाउँपालिका अध्यक्ष अर्यालले १९४ बुँदामा प्रस्तुत गरेको आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन,रोजगारी र शिक्षालाई प्राथमिकता दिइएको छ।

गाउँपालिकाले कृषितर्फ ‘एक वडा, दुई उत्पादन’को नीतिलाई अगाडि सारेको छ। एक वडा दुई उत्पादन कार्यक्रम अन्तर्गत वडा नम्बर १ नेटामा बंगुर र मौरी पालन, २ दर्लिङमा बाख्रा पालन  र आलु उत्पादन , ३ ह्वाङ्दीमा बाख्रा र उखु , ४ अर्खाबाङमा आलु र मकै उत्पादनमा जोड दिइएको छ। त्यस्तै वडा नम्बर  ५ छापहिलेमा बाख्रा र हलुवावेद उत्पादन , ६ अर्जैमा मौरी र धान उत्पादन , ७ घमिरमा केरा र कफी उत्पादन र ८ मर्भुङमा बेसार र कफी उत्पादन लाई व्यावसायिक रुपमा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

गाउँपालिकाले बढ्दो बसाइँसराइका कारण बाझिएका जमिनमा कृषि खेती प्रवर्द्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ। गाउँपालिकालाई  अर्गानिक पालिकाको रुपमा स्थापित गर्नको लागि सबै ८ वटामा भर्मकम्पोष्ट र झोलमोल बनाउने  योजना बनाएको छ। तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यका अनुरुप ‘एक घर एक करेसाबारी’कार्यक्रम सञ्चालन गरिने पालिका अध्यक्ष अर्यालले बताए।

पुष्पजन्य व्यवसायलाई प्रवर्द्धन गर्दै गाउँपालिका भित्र सञ्चालन हुने सम्पूर्ण सार्वजनिक कार्यक्रमहरूमा फूलहरूको प्रयोग र व्यावसायिक उत्पादन बढाउन ‘एक घर एक बगैँचा कार्यक्रम’सञ्चालन गरिने भएको छ। उत्पादनमा आधारित अनुदान कार्यक्रममा निरन्तरता दिँदै कृषकलाई आवश्यक मागमा आधारित तालिम सञ्चालन अध्यक्ष अर्यालले बताए।

पशु तथा बाली स्वास्थ्यलाई ध्यानमा राखी सम्पूर्ण वडामा  पशु स्वास्थ्य शिविर तथा बालि संरक्षण शिविर कार्यक्रम सञ्चालन गर्ने र जंगली वन्यजन्तुले पुर्‍याएको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायसँग समन्वयमा बाली संरक्षणको लागि आवश्यक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कृषि र पशुपक्षी क्षेत्रमा उत्पादन वा प्रविधि हस्तान्तरणमा उदाहरणीय योगदान पुर्याउने कृषकलाई सम्मान तथा गाई गोरुपालन गर्ने कृषकलाई प्रोत्साहन गरिने नीति ल्याइएको छ। गाउँपालिका अध्यक्ष अर्यालले बढ्दो वैदेशिक रोजगारलाई  रोक्नको युवालाई  इलेक्ट्रीसियन,हेयर कटिङ,ड्राइभिङ,पलम्बिङ,सिलाइकटाइ,बुटिक,सेनिटरी प्याड निर्माण,पेन्टिङ जस्ता सीपमूलक तालिम सञ्चालन गरिने बताए।

युवालाई राष्ट्र निर्माणको अभियानमा सक्रिय बनाउन ‘निर्माणमा युवा परिचालन कार्यक्रम ‘ सञ्चालन गरिने भएको छ। श्रमिकको अधिकारको सम्मान तथा रोजगारीका क्षेत्रमा देखिएका समस्या,रोजगारीका सम्भावना तथा नागरिकलाई रोजगारीमा आकर्षित गर्न ‘रोजगार संवाद मञ्च’को कार्यक्रम सञ्चालन  गरिने अध्यक्ष अर्यालले नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन्।

मालिका गाउँपालिकाले स्वास्थ्य तर्फ शहीद, बेपत्ता परिवार, द्वन्द्व पीडित, गरिब, दलित ,अपाङ्गता भएका तथा उत्पीडित समुदायका व्यक्तिहरूलाई सर्वसुलभ र पहुँचयोग्य बनाउन स्वास्थ्य बिमा कार्यक्रम मा गाउँपालिकाको सहभागिता बढाउने नीति ल्याएको छ।

‘गुणस्तरीय स्वास्थ्य सेवा कम मूल्यमा’अवधारणा अवलम्बन गर्दै स्वास्थ्यकर्मीहरूको ज्ञान,सीप र क्षमता विकास गरी दक्ष स्वास्थ्यकर्मी निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइने अध्यक्ष अर्यालले बताए। खाद्य सुरक्षा सँगै महिला,बालबालिका तथा किशोर किशोरीको  पोषणको अवस्थामा सुधार गरी आगामी वर्ष पोषणमैत्री गाउँपालिका घोषणा गरिनेछ।

त्यस्तै गाउँपालिकाले शिक्षा तर्फ हाम्रो स्कुल बनाउँ राम्रो स्कुल’अभियान अन्तर्गत सामुदायिक विद्यालयहरूमा स्थानीय तहबाट विषयगत दक्ष शिक्षक दरबन्दीको व्यवस्था मिलाइनेछ। आगामी तीन वर्ष शिक्षाको गुणस्तरमा वृद्धि गर्न  शैक्षिक अवस्था सुदृढीकरण अभियानको रुपमा कार्यान्वयन गर्ने नीति ल्याएको छ।

विपन्न,अशक्त परिवार तथा फरक क्षमताका बालबालिकाहरूलाई सिकाइमा सहजीकरण गर्न"मालिका गाउँपालिका सबैको आस्था,सुधारिदिन्छ सबैको अवस्था’भन्ने कार्यक्रम सञ्चालन गरी सोको लागि आवश्यक छात्रावृत्तिको व्यवस्था गरिने भएको छ। विद्यार्थीहरूलाई उद्यमशीलता,स्वरोजगारी र स्वावलम्बी भाव सिर्जना गर्न ‘पढ्दै कमाउदै तथा सिक्दै कमाउँदै कार्यक्रम’हरू सञ्चालन गरी विद्यालयमै करेशाबारी निर्माण गर्ने,मौरी पालन गर्ने जस्ता नमूना कार्यक्रमहरू सञ्चालन गरिनेछ।साथै विद्यार्थीमा अन्तरनिहित विशिष्ट प्रतिभाको पहिचान प्रफुस्टन गराउने उद्देश्यका साथ फाइडे फर फ्यूचर सञ्चालन भएको छ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारका निमित्त विद्यालय व्यवस्थापन समिति,अभिभावक संघ तथा समग्र अभिभावकहरूको क्षमता विकास गर्न ‘अभिभावक शिक्षा कार्यक्रम’, विद्यालय र विद्यार्थी प्रोत्साहन कार्यक्रम’, ‘शैक्षिक जागरण अभियान कार्यक्रम’ सञ्चालन गरिनेछ।

शैक्षिक अन्तरकृयालाई व्यवस्थित गर्न शैक्षिक सम्मेलन आयोजना गर्ने नीति ल्याएको छ। आधारभूत र प्राथमिक तहका विद्यालयको लागि क्रमागत रुपमा ‘एक विद्यालय एक कम्प्युटर प्रिन्टरको ‘व्यवस्था गर्ने र एकै स्थानमा पाँच वर्ष काम गरेको शिक्षकलाई जेष्ठता र अनुकूलनका आधारमा आन्तरिक सरुवा गर्ने नीति समेत लिइनेछ।

पर्यटन क्षेत्रको विकास र प्रचारप्रसार गर्न ‘घुमौ मालिका, चिनौं मालिका अभियान सञ्चालन गर्ने भएको छ। त्यस्तै मालिका गाउँपालिकाले जेष्ठ नागरिकको ज्ञान सीप र अनुभवलाई समृद्धिको लागि ‘जेष्ठ नागरिक पुनर्मिलन कार्यक्रमको नीति ल्याएको छ।

बालअधिकारको सुनिश्चतताको लागि बालमैत्री स्थानीय शासन विकास र प्रवर्द्धन गर्न आवश्यक प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आगामी ३ वर्ष भित्रमा बालमैत्री स्थानीय तह घोषणा गरिने लक्ष्यको नीति गाउँपालिकाले लिएको छ। मालिका गाउँपालिका वडा नम्बर  १,२ र ३ का नागरिकहरूलाई स्वास्थ्य पहुँचको विस्तार गर्न दर्लिङ स्वास्थ्य चौकीमा अत्याधुनिक उपकरण सहितको ल्याब आगामी वर्षदेखि सञ्चालनमा ल्याइने पालिका अध्यक्ष अर्यालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.