कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

विराटनगर : सडक सुरक्षा र अनुशासन तथा दुर्घटना न्यूनीकरणलाई मध्यनजर गर्दै कोशी प्रदेशमा ‘ट्राफिक सप्ताह–२०८१’ सुरु भएको छ। 

‘दुर्घटनामुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’ भन्ने मूल नारासहित सुरु भएको सप्ताहको प्रदेश राजधानी विराटनगरमा बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरेका छन्। 

उद्घाटन समारोहमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगर, स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीलगायत प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी अविनारायण काफ्लेलगायतका सुरक्षा अधिकारी र सरोकारवाला उपस्थित थिए। 

त्यस अवसरमा ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याउने र ट्राफिकका भवन बनाउन पहल गर्ने एवं जग्गा प्रदान गर्नेहरूलाई सम्मान समेत गरिएको थियो। ट्राफिक सप्ताहको उद्घाटनअघि विराटनगरमा प्रहरी, नागरिक समाज, विद्यार्थी, विभिन्न संघ संस्था, पेशाकर्मी र सरोकारवालाको उपस्थितिमा प्रभातफेरीको आयोजना गरिएको थियो। प्रभातफेरीका सहभागीहरूले सडक सुरक्षा, ट्राफिक सचेतना र दुर्घटना न्यूनीकरण सम्बन्धी विभिन्न सचेतनामूलक प्लेकार्डहरू बोकेका थिए। 

प्रदेश प्रहरी कार्यालय विराटनगरको सहकार्य एवं आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको संयुक्त आयोजनामा सुरु भएको सप्ताह प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने छ। साताव्यापी विभिन्न सचेतनामूलक कार्यक्रमहरू गरेर मनाइने सप्ताह असार १२ गतेसम्म चल्ने छ। 

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेका अनुसार सप्ताह उद्घाटन भएको पहिलो दिन सवारी चालक, विद्यार्थी तथा पैदलयात्रीलाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण दिइने छ। दोस्रो दिन अर्थात असार ७ गते सवारीसाधनको तीव्र गति नियन्त्रण तथा पार्किङ निषेधलाई कार्यान्वयन गरिने उनले बताए। न्यौपानेका अनुसार असार ८ गते सडक अनुशासन कार्यान्वयन तथा कारबाही, ९ गते प्रशिक्षण, १० गते सवारीसाधनको यान्त्रिक चेकजाँच तथा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागू पदार्थ सेवन) नियन्त्रण, ११ गते अनुगमन तथा कारबाही एवं १२ गते अन्तरक्रिया र समीक्षासहित सप्ताहको समापन गरिने छ। 

सप्ताहको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सडक दुर्घटना र त्यसबाट हुने क्षतिको अवस्था भयावह बन्दै गएकाले न्यूनीकरणका लागि व्यक्ति स्वयं सचेत हुनुपर्ने बताएका छन्। दुर्घटना न्यूनीकरणमा सामूहिक प्रतिबद्धताको खाँचो देखिएको उनले औंल्याए। ‘दुर्घटनाबाट सयौंको मृत्यु हुने गरेको छ भने हजारौं घाइते भइरहेका छन्,’ कार्कीले भने, ‘यो भयावह अवस्थालाई न्यूनीकरण गर्न सवारी चालक, सहचालक र व्यक्ति स्वयं सचेत एवं चनाखो हुनुपर्छ।’ 

आगामी वर्षमा दुर्घटनाको दर ५० प्रतिशत कम हुने गरी काम गर्नलाई सबै पक्षसँग मुख्यमन्त्रीको आग्रह छ। ‘ट्राफिक प्रहरीलाई आवश्यक स्रोत, साधनको व्यवस्थापन गर्ने नीति प्रदेश सरकारले लिएको छ,’ कार्कीले भने, ‘ट्राफिकको संख्या बढाउन प्रहरी संगठन पनि तयार हुनुपर्छ।’ 
झापा, मोरङ र सुनसरीको कुनै निश्चित क्षेत्रमा ट्राफिक व्यवस्थापनमा ‘नमूना सडक’ घोषणा गरेर कार्यक्रम गरेको खण्डमा सकात्मक प्रचार हुने र दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने उनको भनाइ छ। कार्कीले प्रदेश सरकारसँग समन्वय गरेर काम गर्न ट्राफिक प्रहरीलाई निर्देशनसमेत दिएका छन्। त्यस अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको तर्फबाट ट्राफिक व्यवस्थापनका लागि विभिन्न सामग्री हस्तान्तरण गरेका थिए। 

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले ट्राफिक सचेतनालाई घर–घरमा पुर्‍याउन आवश्यक रहेको बताए। ट्राफिक प्रहरीलाई पूर्वाधार र प्रविधियुक्त बनाउनलाई सहयोग गर्न प्रदेश सरकार रहेको उनको भनाइ छ। कोशीका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले दुर्घटना न्यूनीकरणमा राज्यले गम्भीर हिसाबले ध्यान दिन आवश्यक रहेको बताए। यद्यपि, उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने काम भइरहेको उनको भनाइ छ। 

कोशीका ट्राफिक प्रहरी प्रमुख एसपी सरोज पौडेलले सवारी चालक, सडक प्रयोगकर्ता र आमनागरिकलाई सडक सुरक्षा, ट्राफिक नियम, दुर्घटना न्यूनीकरणलगायतका बारेमा सुसूचित गराउने, सडक अनुशासन र सडकको सुरक्षित प्रयोग एवं महत्वका बारेमा जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा सरोकारवालालाई  आआफ्नो भूमिका र जिम्मेवारी बोध गराउने उद्देश्यले ट्राफिक सप्ताहको आयोजना गरिएको जानकारी दिए। 

कोशीमा पछिल्लो समय ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। सडक संरचनाको विकास एवं स्तरोन्नति नहुनु, सवारीसाधनको संख्या उल्लेख्य वृद्धि हुनु, सहर केन्द्रित बसाइँसराइ, बढ्दो सहरीकरण, जनघनत्वमा वृद्धि, प्रविधिको अभाव, साँघुरो र जीर्ण सडक, भौगोलिक विकटता, फुटपाथ अतिक्रमण, सडक प्रयोगकर्तामा ज्ञानको कमी तथा ट्राफिक नियमको उल्लंघन गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापन दैनिक रूपमा जटिल बन्दै गइरहेको एसपी पौडेलको भनाइ छ। 

‘उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गर्दै ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरणमा जनशक्ति परिचालन गरिएको हुन्छ। अहिलेसम्म ट्राफिक प्रहरीको हातकै इसारामा मात्रै ट्राफिक व्यवस्थापन चलिरहेको छ,’ उनले भने, ‘ट्राफिक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोगलाई बढाउनुपर्ने देखिन्छ। प्रविधिको उच्चतम प्रयोगले मात्रै ट्राफिक व्यवस्थापन चुस्त हुन्छ।’ केही स्थानमा जडान गरिएका एनपीआर क्यामेरा, ट्राफिक लाइट, सीसी क्यामेरा तथा राडार गनको प्रयोगले ट्राफिक व्यवस्थापनमा सहजता ल्याएको पौडेलले बताए।

आवश्यकताका आधारमा आकाशे पुल, अण्डर पास, ट्राफिक आइलेन्डलगायत सडक पूर्वाधार निर्माण र एनपीआर क्यामेरा, ट्राफिक लाइट, सीसी क्यामेरा जडान तथा राडार गनको प्रयोगले थप सहज हुने उनको विश्लेषण छ। ‘पार्किङ व्यवस्थापन, सडक विस्तार र सवारी चाप व्यवस्थापन अति नै आवश्यक छ,’ उनी भन्छन्, ‘वैकिल्पक सडकको व्यवस्था नहुनु र रिङरोड निर्माणले पूर्णता नपाउनुले ट्राफिक व्यवस्थापन थप जटिल बनेको छ।’

आवश्यक पूर्वाधारको अभाव र सडक सभ्यता अभिवृद्धि हुन नसकेका कारण दुर्घटनाबाट हुने मानवीय, आर्थिक एवं भौतिक क्षति न्यूनीकरण सम्भव नभइरहेको एसपी पौडेल बताउँछन्। क्षति कम गर्न र सडक सभ्यता अभिवृद्धि गर्न ट्राफिक सप्ताहले महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ। उनका अनुसार कोशी प्रदेशमा दैनिक साना ठूला गरेर करिब ५ लाख सवारीसाधन सञ्चालन हुन्छन्। गत वर्ष ३ हजार ५ सय १० वटा दुर्घटना भएका थिए। दुर्घटनामा ४ सय १२ जनाको मृत्यु र ५ हजार ६ सय ७ जना घाइते एवं अंगभंग भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ। 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता डीएसपी मोहनविक्रम दाहालका अनुसार मानवीय त्रुटि, यान्त्रिक गडबडी, सडकको दुरावस्था, मौसम, छाडा चौपायालगायतले दुर्घटना अत्यधिक हुने गरेको छ। चालकको असावधानी एवं लापरबाहीका कारण दुई पांग्रे सवारीसाधन दुर्घटना धेरै हुने गरेको उनले बताए। 

दाहालका अनुसार मापसे, लापसे, तीव्र गति, लेन अनुशासनको उल्लंघन, जथाभावी सडक प्रयोग, क्षमताभन्दा बढी यात्रु ओसारपसार, सवारी सञ्चालनका दृष्टिले असुरक्षित मानिने सडक, सडक प्रयोगकर्तामा ट्राफिक संकेतको ज्ञानको कमी, समयानुकूल भौतिक पूर्वाधार सुधार नहुनु, सडकको अवस्था र प्रविधिको अभाव दुर्घटनाका कारकहरू हुन्। दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी, नागरिक समाज, यातायात व्यवसायी, विभिन्न संघ संस्थालगायतसँग समन्वय एवं सहकार्य गर्दै सडक र सवारी क्षेत्रलाई समेटेर दैनिक जनचेतनामूलक कार्यक्रम गर्ने गरिएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.