तिब्बतमा पक्राउ परेकाको घरमा रुवाबासी

तिब्बतमा पक्राउ परेकाको घरमा रुवाबासी

गोरखा : तिब्बतमा पक्राउ परेका गोरखा छेकम्पारका दुई युवाको परिवारमा अहिले रुवाबासी छ। तिब्बती प्रहरीको नियन्त्रणमा रहेका चुमनुब्री—७ छुलेका कर्मा छेतेन र लामागाउँका कर्मा राप्केको परिवार चिन्तामा डुबेको हो।

अन्दाजी ३० वर्षका यी दुई युवालाई डेढ महिनाअघि तिब्बती प्रहरीले बोलाएर तिब्बती बजार स्याबाट पक्राउ गरेको स्थानीयवासीको भनाइ छ।

जिउँदै छन् कि कुन अवस्थामा छन् भन्दै चिन्ता लागेको कर्मा छेतेनकी श्रीमती दोल्कर लामा दुःखेसो पोख्छिन्। ‘यतिका दिन भइसक्यो, केही अत्तोपत्तो छैन। जिउँदै हुनुहुन्छ कि, कस्तो अवस्थामा हुनुहुन्छ ? कहाँ हुनुहुन्छ केही थाहा छैन’, उनले रुँदै भनिन्, ‘किन पक्राउ गरेको हो नि थाहा छैन। के कस्तो कारबाही गर्छ पनि थाहा छैन। अन्योलै अन्योलमा हामी कति दिन आँसुमा डुबेर बस्ने हो ?’ उनले सत्य तथ्य खोज गरिदिन सरकारसँग माग गरिन्।

कर्मा छेतेन आफूसँगै किरा टिप्न लेक गएको उनी सम्झन्छिन्। ‘हामी सँगसँगै किरा टिप्न गएका हौं। दिनभरि केटाहरू एकातिर जान्थे, हामी केटीहरू अर्कातिर जान्थ्यौं। भरे बेलुका टहरोमा भेट हुन्थ्यो। तर त्यस दिन उहाँ आउनु भएन’, उनले भनिन्, ‘किरा टिप्दा भीरबाट खसे कि, गाउँतिर झरे कि भनेर जताततै खोज्यौंं। आफन्तहरू सबैलाई खबर ग¥र्यौं । तर कतै खबर पाउन सकिएन। १२, १३ दिनपछि पो हल्ला सुनियो, तिब्बतमा प्रहरीले पक्राउ गरेको छ अरे भनेर। हल्लाको कुरा पत्याउने कि नपत्याउने ? बुझ्न जाउँ भने नाका बन्द छ। कसरी जाने ? सत्य कुरा कसरी थाहा पाउने ?’ चिन्तामा डुबेर दिन बितिरहेको उनले पीडा पोखिन्। 

लामागाउँको कर्मा राप्केको घरको अवस्था पनि उस्तै दर्दनाक छ। पत्तै नपाई छोरा गायब भयो। १५ दिनपछि मात्र छिमेकीलाई फोनबाट खबर आएको उनका बुबा निमा दोर्जेले भने। ‘हामीलाई त थाहै थिएन। पल्लो घरमा फोन आएछ। उहाँले भनेपछि पो तिब्बतमा बोलाएर पक्राउ गरेको रहेछ भनेर थाहा भयो’, उनले भने, ‘किन समातेको हो ? अब हामीले के गर्नुपर्छ केही थाहा पनि छैन। माथि (तिब्बत) जाम भने नाका बन्द छ। फोन गरौं भने कसलाई गर्ने ? कोही चिनेको पनि छैन, जानेको पनि छैन। तल  (काठमाडौं) कसरी जाने, कसलाई भन्ने केही थाहा छैन।’ आफ्नो दुःख वडाध्यक्षबाहेक अरू कसैलाई नभनेको पीडित परिवारले बताए।  

दुर्गम ठाउँको मान्छे भएकाले आफूहरूलाई केही थाहा नपाएको उनीहरू बताउँछन्। ‘के गरे के हुन्छ, आफ्नो मान्छे छुटाउन के गर्नुपर्छ केही अत्तोपत्तो छैन’, निमाले भने, ‘सरकारले हेर्दिए हुन्थ्यो। सरकारलाई कसरी भन्ने ?’

करिब डेढ महिनाअघि चिनियाँ प्रहरीले उनीहरू दुवै जनालाई ङुइला नाकाबाट तिब्बती बजार स्यामा बोलाएर पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.