देहातमा देखिँदैनन् भकारी र माटोको कोठी
विराटनगर : अन्न सुरक्षित राख्न तराईको देहातमा सर्वसाधारणले घरमा राख्ने माटोको कोठी र भकारी पछिल्लो समय हराउँदै गएको छ। देहातमा जमिन्दार परिवार भएको सन्देश दिने भखारी र अन्नलाई वर्षभरि सुरक्षित राख्न महिलाले बनाउने माटोको कोठी अचेल हराउन थालेको हो।
सबैभन्दा सुरक्षित भाँडोका रूपमा तराई मधेसको ग्रामीण भेगमा माटोको कोठी बनाएर अन्न राख्ने र सम्पन्नताको सन्देश दिन आँगनमा राखिने भकारी (ठेक)को चलन परापूर्वकालदेखि नै चलिआएको हो। ‘देहातमा किसानहरूले अन्नलाई सुरक्षित राख्न माटोको कोठी बनाउने गरेका थिए’, हनुमाननगर कंकालनी नगरपालिका—४ का नुनु मण्डलले भने, ‘ग्रामीण भेगमा आगलागी हँुदा बस्ती नै सखाब भएका बेला पनि माटोको कोठीमा राखिएको अन्न सुरक्षित हुन्थ्यो।’ मण्डलका अनुसार जतिसुकै भीषण आगजनी भए पनि माटोको कोठीको अन्नमा केही हुँदै थियो।
भखारी त जमिन्दारले दलानमा सबैले देख्ने स्थानमा राख्ने गरेका पनि मण्डलले बताए। मण्डलका अनुसार पहिले भकारीमा राखिएको धानलगायतका अन्नलाई जमिन्दारहरूले सवैया वा डेरहामा विपन्न परिवारलाई दिने चलन थियो। घरमा अन्नको अभाव भएकाले विपन्न परिवारले जमिन्दारलाई उक्त धान मंसिर महिनामा फिर्ता गर्ने गर्थे। तर, उक्त चलन अहिले हराएको मण्डलले बताए।
अहिले खेतबाट आएको धान, गहुँलगायतका सबै खाद्यान्न काँटामा बेच्ने गरेकाले भकारी राख्ने प्रथा अन्त भएको उनले बताए। सबै समुदायका मानिस मजदुरी गरेर जीविकोपार्जन गर्ने क्रममा बाहिर जाने गरेकाले धान सवैया वा ढेरहामा लिने चलन पनि हटेर गएको उनको भनाइ छ।
पहिले तराई–मधेसका गाउँका घरघरमा रहेको माटोको कोठी र भकारी हेरेर परिवारको सम्पन्नता आकलन गर्ने गरिन्थ्यो।
खेतबारीमा उब्जेको अन्नपात सुरक्षित भण्डारण गरेर राख्ने माटोको कोठी वा भकारी जति ठूलो हुन्थ्यो, उक्त परिवार त्यति नै धेरै सुखी र सम्पन्न रहेको आम जनमानसको ठम्याइँ हुन्थ्यो।
तर अहिले ती माटोको कोठी र भकारी लोप नै भइसकेको भन्दा अत्युक्ति नहुने स्थानीय रमेश मेहताले बताए। उनले भने, ‘अहिले माटोको कोठीभन्दा प्लास्टिकको भाँडो वा ड्रममा अन्न राख्ने चलन आयो।’
तराई मधेसमा छोरीचेलीको वैवाहिक सम्बन्धको कुरा गर्न आउँदा छोरी पक्षले छोरा पक्षको घरमा रहेको कोठी र भकारी हेरेर उसको आर्थिक हैसियतको आकलन गरेर वैवाहिक सम्बन्ध गाँस्ने गरेको अर्का स्थानीय महेन्द्रनारायण ठाकुरले बताए।
परम्परा, संस्कृति, कला र साहित्यको अनुपम उदाहरणका रूपमा रहेको विशिष्ट पहिचानयुक्त माटोको कोठी बनाउन उपयुक्त माटोमा भुसालगायतका सामग्री मिसाएर महिलाले तयार पार्ने गर्थे। अन्नपात भण्डारणका लागि घरघरमै बनाइने माटोको कोठीको ठाउँमा अब कर्कटपाता तथा प्लास्टिकका भाँडावर्तनहरूले ठाउँ लिइसकेपछि कोठीको निर्माण हुन छाडेको हो।
तराई–मधेसमा व्यक्तिको स्वामित्वमा जग्गाको क्षेत्रफल पनि घट्दै गएपछि घरमा भित्रिने खाद्यान्नको मात्रासमेत कमी भएर कोठी बन्न छाडेको ग्रामीण क्षेत्रका किसान बताउँछन्।
खासगरी हिउँदमा कोठी बनाउने लहर नै देखिन्थ्यो। ‘नयाँ पुस्तामा त्यस्तो रौस र लहर नदेख्दा अब पुराना रीतिथिति, परम्परा, कला र आफ्नो भन्ने विशेषता नै हराउने चिन्ता बढेको छ’, मिथिला कलासंस्कृतिको संरक्षण अभियानमा लागेका विराटनगरका प्रवीणनारायण चौधरीले बताए।
मिथिला क्षेत्रकै कला, संस्कृति, परम्परा र मौलिक पहिचान झल्किने र स्वास्थ्यको लागिसमेत अति उपयुक्त हुने माटोको कोठी र भकारी बनाउने कार्यलाई जगेर्ना गर्न कोठी बनाउने तालिमहरू सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए।