मुस्ताङका सबै नागरिकले सीमापार पास पाउने

मुस्ताङका सबै नागरिकले सीमापार पास पाउने

जोमसोम : मुस्ताङका पाँचवटै स्थानीय तहका नागरिकले उत्तरी कोरलानाका हुँदै चीन जाने प्रस्थान अनुमतिपत्र सीमापार पास पाउने पक्का भएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङद्वारा बिहीबार आयोजित जिल्लास्थित राजनीतिक पार्टीहरूसँगको छलफल तथा अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो।

यसअघि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङका दुई पालिकाका नागरिकलाई मात्रै चीन जाने प्रस्थान अनुमतिपत्र सीमापार वितरण गरिएको थियो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका गरी चैत्र मसान्तसम्म १५२० जनालाई सीमापार पास वितरण गरेको थियो। जिल्लाका राजनीतिक पार्टीहरूसँगको छलफलमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उपल्लो मुस्ताङको दुई पालिकालाई चीन जाने प्रस्थान अनुमतिपत्र (पास) वितरण हुँदै आइरहेकोमा चालु आर्थिक वर्षको अन्तिम वा आगामी आर्थिक वर्षको सुरुवाती चरणबाटै जिल्लाका पाँचवटै पालिकाका नागरिकलाई पास वितरण गर्ने गृहकार्य भइरहेको जानकारी दिए। उनले प्रस्थान अनुमतिपत्रका आधारमा अब मुस्ताङका सबै नागरिकलाई सीमापार पास उपलब्ध गराउने तयारी भइरहेको जनाए। मुस्ताङका पाँचवटै पालिकालाई चीनको स्वशासित क्षेत्र लिजीमा पुगेर मालसामान किनेर ल्याउने सहजताका लागि सीमापार पास वितरणको आवश्यक प्रक्रिया अघि बढिसकेको प्रजिअ पन्तको भनाइ छ।

कोरना कहरले लगातार चार वर्षसम्म पूरै बन्द अवस्थामा रहेको मुस्ताङको उत्तरी कोरला नाका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को चीन भ्रमणपछि गत कात्तिक २७ गते खुल्ला भएको थियो। कोरला नाका खुल्ला गर्न स्थानीय प्रशासनसँगै संघ तथा प्रदेशका वर्तमान तथा पूर्वसांसदहरू, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरूले पहल गरेका थिए। नाका खुल्ला गर्न चीन पक्षले औपचारिक कार्यक्रम राखेर आतिसबाजी गरेर तामझामका साथ नाका खुल्ला गरेको उद्घोष गरिएको थियो। त्यस समय पनि चीन पक्षले तत्कालका लागि उपल्लो मुस्ताङका सीमावर्ती दुई गाउँपालिकालाई मात्रै पास वितरण गर्ने र त्यसपछि क्रमशः मुस्ताङका सबै नागरिकलाई सीमापार पास वितरण गर्दा फरक नपर्ने जनाउ दिएको थियो।

 कोरला नाकामा जिल्लाका पाँचवटै स्थानीय तहका नागरिकले चीन जाने प्रस्थान अनुमति पाउने भएपछि कोरलाको तिब्बती भूमिमा व्यापारिक चहलपहल वृद्धि हुने अपेक्षा गरिएको छ। हाल उपल्लो मुस्ताङका नागरिकले मात्रै पास पाएका कारण नाकामा खासै व्यापारिक चहलपहल देखिँदैन। तर, सरकारले कोरला नाकामा आवश्यक भौतिक पूर्वाधार निर्माण गरी छिटोभन्दा छिटो कोरला नाका सबैका लागि खुल्ला गरिनुपर्ने एमाले मुस्ताङका सचिव तिलक विकको धारणा छ।

उत्तरी कोरला नाका खुल्ला भएसँगै सीमावर्ती क्षेत्रको नेचुङ भन्सार कार्यालय आंशिक रूपमा चलायमान हुन थालेको छ। उपल्लो मुस्ताङी नागरिकले चीनको लिजी हाटबजार पुगेर दैनिक उपभोग्य वस्तु आयात गर्न सहज भइसकेको छ। उपल्लो मुस्ताङी नागरिकले चीनको लिजी पुगेर खाद्यान्न, किराना सामान, कस्मेटिक सामानलगायतका सामग्री आयात गर्ने गरेका छन्। नेपाल पक्षबाट उपल्लो मुस्ताङले स्थानीय उत्पादनका साथै नेपालमा पाइने सामान, भेडाच्याङ्ग्रा र यार्सा गुम्बा जडीबुटीलगायतको निर्यात गर्ने गरेका छन्।

कोभिडअघि बर्सेनि असार र भदौ महिनामा उपल्लो मुस्ताङीलाई लक्षित गरी चीन पक्षले अन्तरदेशीय व्यापार मेला सञ्चालन गर्ने गथ्र्यो। तर, यसपटक भने चीन पक्षले जिल्ला प्रशासन कार्यालयले वितरण गर्ने सीमापार पासको आधारमा बाह्रैमहिना कोरला नाका खुल्ला गरेको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.