आज १० औं अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै (तस्बिरहरू)
काठमाडौं : आज १०औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । 'आत्म र समाजका लागि योग' भन्ने मूल नारासहित आज योग दिवस मनाइएको हो।
दिवसको अवसरमा अष्टगा योग नेपालले नक्साल नारायणचैरमा सामुहिक योग कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रममा बिहानैदेखि ठूलो संख्यामा योग प्रेमीहरूले उपस्थिति जनाएका छन्।
विभिन्न उमेर समूहका सहभागीहरूले योगको विभिन्न आसन र प्राणायामको अभ्यास गरिरहेको देख्न सकिन्छ। यस अवसरमा स्वास्थ्य र मानसिक शान्तिका लागि योगको महत्त्वबारे प्रमुख वक्ताहरूले मन्तव्य व्यक्त गरेका छन्।
सन् २०१४ मा संयुक्त राष्ट्र संघको महासभाको निर्णय अनुसार २१ जुन २०१५ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
योगले मानिसहरूको स्वास्थ्यमा सहयोग पुर्याउँछ, जसले शारीरिक, मानसिक र आत्मिक सन्तुलन कायम गर्न मद्दत गर्दछ। नियमित योग अभ्यासले तनाव कम गर्न, प्रतिरक्षा प्रणाली मजबुत बनाउन र दीर्घकालीन रोगहरूको जोखिम कम गर्न मद्दत गर्छ।