के छन् गोरखाका मठमन्दिरमा ?
२०८१ जेठमा गोकर्णेश्वर नगरपालिकाले ज्येष्ठ नागरिकलाई गोरखा भ्रमण गराउने कार्यक्रम राखेको थियो। ११ दर्जन बढी तीर्थयात्रीसँगको यात्रा त्यति सहज त थिएन। त्यसका बाबजुद केही तथ्य उजागर गर्ने प्रयास गरेको छु। देशमा घरभन्दा बढी मठमन्दिर छन्। गोकर्णेश्वर शिवसर्जक स्वयं ब्रह्माजीले स्थापना गरेको चर्चा छ पुराणहरूमा। गोकर्णेश्वर शिवकै नामले नगरपालिका छ। पंक्तिकार भने मठमन्दिरको दर्शनपछि गोरखा, गोरखा दरबार, गोरखकाली, गोरखनाथ र मनकामनासमेतको अध्ययनमा सरिक भयो।
बाटो पनि सहज थिएन, झन्डै १ सय ५० किलोमिटर दूरीको यात्रामा १२ घण्टा बढी समय लागेको हो। बेलुकी बत्ती नहुनु र बिहान नुहाउन पानी नहुनु सायद देशैभरकै रोग होला, जुन धेरै ठाउँमा भोगियो। देशैभरि भत्केटुटेका भग्नावशेष भेटिनु राष्ट्रिय समस्या हो, जुन यात्रामा पनि देखियो। अहिले सिंहदरबार र नयाँ सडकको जुहारी छ, त्यतिबेला बाइसी र चौबिसीहरूको जुहारी अनि काठमाडौंमै पनि थरीथरीका राजारजौटाले राज÷विराज गरेको इतिहास साक्षी छ। गोरखाबाट सूत्रपात भएको एकीकरण र वीर रसको इतिहास सन् १८१६ को सुगौली सन्धिपछि भक्ति रसमा परिणत भएको हो। जसको श्रेय पनि गण्डकीकै भानुभक्तलाई जान्छ रामायणमार्फत्।
काठमाडौंमा मल्ल शासकहरूको इष्टदेवी तलेजु भवानी हुन्, भक्तपुर र हनुमानढोकामा अहिलेसम्म छन्। गोरखा, शाहवंशका इष्टदेव गुरु गोरखनाथ, गोरखकाली र मनकामना हुन्। गोरखाको गोरखा दरबारमा नाथ सम्प्रदायका सिद्ध गुरु गोरखनाथको गुफा छ, ढोका बाहिरबाटै दर्शन गरिन्छ। गोरखनाथका गुरु भने मत्स्येन्द्रनाथ हुन्, काठमाडौंमा सेतो र पाटनमा रातो मत्स्येन्द्रनाथ छन्। भोटो देखाउने जात्रासँग सम्बन्ध रातो मत्स्येन्द्रनाथको जात्रा देश, अझ भनौं संसारकै लामो जात्रा हो वैशाखदेखि असारसम्म चलिरहन्छ। पहिले गोरखाको शासनसत्ता गुरु गोरखनाथकै प्रेरणाबाट सञ्चालित हुन्थ्यो। गोरखा जिल्लाको नाम उनैको कारणबाट रहेको हो। एकपल्ट गोरखनाथ साँझको बेला लमजुङ पुगे, खीर वितरण भइरहेको रहेछ, द्रव्यशाहको गोठमा। द्रव्य शाहले उनलाई पनि खीर खुवाए। आफू बिदा हुँदा उनलाई गोरखाका राजा हुने आशीर्वाद पनि दिए।
गोरखा दरबार निर्माण गर्ने श्रेय रामशाहलाई जान्छ, जहाँ पृथ्वीनारायण शाह जन्मेका थिए। छ, सात वर्षको बाल्यकालमा गोरखनाथले पृथ्वी नारायणलाई दुई हात थाप्न लगाए, उनले मुखबाट केही ओकलिदिए, पृथ्वीनारायणले घिनाएर त्यो नखाई खुट्टातिर खसाले। खाएको भए वाक सिद्धि हुने थियो, जे बोल्योे त्यो पूरा हुन्थ्यो। खुट्टामा परेकाले तिमीले टेकेको भूमि तिम्रै हुनेछ भनिदिए। गोरखनाथ दरबारमा हरेक पूर्णिमामा एक पाथी चामलको पिठोको रोठ बनाई गोरखनाथलाई चढाउने गरिन्छ अहिले पनि। गोरखा सदरमुकाम गोरखाको माथि डाँडामा ऐतिहासिक दरबार छ। यसै दरबार परिसरमा माता गोरखकाली देवी रहेकी छन्। रामशाहले हरेक दिन बिहान उनको दर्शनपछि मात्रै राजकाजको काम सुरु गर्थे। सिँढी चढेर उकालो लाग्दै गर्दा बाटैमा रामशाह चौतारो छ, यही चौतारोमा बसेर राजा रामशाहले न्याय निसाफ गर्थे। यहाँबाटै न्याय नपाए गोरखा जानु भन्ने उखान चलेको हो।
बालबालिकाले कान सुनेनन् भने यहाँका कानदेवताको दर्शन गराउने चलन छ अहिले पनि। माथि डाँडामा राम शाहले बनाएको ढुंगैढुंगाको दरबार छ, उभिएका गणेश छन्, डाँडाबाट चारैतिर हेर्न सकिन्छ, पर्यटकीय नगरी नै हो यो क्षेत्र। दरबारको सानो कोठामा देवी गोरखकालीलाई राखिएको छ, चतुर्भुजा छ रूप, कालीलाई हरेक अष्टमी र नवरात्रिमा मात्र यहाँ राखिन्छ र उनलाई त्यहाँ लाने ल्याउने गर्दा उत्तर ढोकाको प्रयोग हुन्छ, पूर्व ढोकाबाट भक्तहरूले दर्शन गर्ने गर्छन्, ढोका बन्द नै हुन्छ। अगाडिको चोकमा ध्यानमा मग्न रहेका साधकहरूको भीड नै देखिने गर्छ।
दरबारको माथिल्लो तलालाई कैलाश भनिन्छ र देवीलाई त्यहीँ राखिन्छ। यहाँ अर्याल थरका ब्राह्मणहरूले पूजा गर्ने गरेका छन्। प्रसिद्ध शक्तिपीठ हुन् गोरखकाली। हाल त्यहाँ उपल्लोकोट, बज्रभैरवथान, चण्डीथान, सिद्धपाइला, हनुमान भन्ज्याङ, श्रीविद्या मन्दिर, चौघेरा दरबार, रोठपाटी, शीतल पाटी, नगरापाटी, गणेश मन्दिर, गोरखनाथ गुफा, पशुपतिनाथ, गुजेश्वरी, पण्डितपाटी, मूलदरबार, रंगमहल धेरै विषयको अवलोकन गर्न सकिन्छ र केही तल गुरुको गुफा छ, दर्शनपछि केही न केही भक्तहरूले पाउँछन् भन्ने मान्यता छ।
गोरखाको प्रसिद्ध अर्को पीठ हो मनकामना देवी। गोरखाबाट खैरेनी आउँदा सीधै सवारीबाट मनकामना पुग्ने सडक बाटो छ। पहिलेजस्तो खैरेनीबाट हैं हैं गर्दै पसिना काढ्दै जानु पर्दैन, कुरिनटारबाट केवलकार सहज छ। केवलकारको श्रेय देशकै पहिलो केवलकार सञ्चालन गराउने श्रेय स्व.लक्ष्मणबाबु श्रेष्ठलाई जान्छ, अहिले पनि छ त्यो। अहिले नजिकै मौलाकालीलगायत अरू पनि धेरै केवलकार छन् र धेरै नै लामो म्याग्दी मुक्तिनाथसम्मको अवधारणा पनि आएको छ, विदेशतिर त यस्ता धेरै हुन्छन्।
उहिले दानव भष्मासुरले शिवजीसँग वर माग्यो, जसको शिरमा हात राख्छु, उसको भष्म हुने भनेर। शिवजीकै शिरमा हात राख्न खोज्दा लक्ष्मीले बचाउनु भयो। संकटमोचन भएका शिवले मनले चिताएको कुरा पुगोस् भन्ने शक्ति दिनुभयो। लक्ष्मीको नाम मनकामना भयो। उनले अंशस्वरूप भई रामशाहकी रानीमा प्रवेश गरिन्। राम शाहको मृत्यु हुँदा उनी सती गइन्। सती जानुपूर्व उनले लखन थापालाई भनिन्– मेरो मृत्यपछि दूध र रगत बग्ने शिलामा प्रविष्ट हुन्छु भनेर। हाल मन्दिर भएको ठाउँमा शिला उत्पन्न भयो, यिनै शिलालाई मनकामनाको रूपमा पूजा गरिन्छ, मन्दिर पछि बनेको हो। लखन थापाका पछिल्ला पुस्ताले पूजा चलाएका छन् अहिलेसम्म।
मन्दिरमा इन्द्र, बराह, विष्णु, कुमार, शिव, सरस्वती, दुर्गा, इन्द्रायणी, बाराही, लक्ष्मी, कुमारीका मूर्तिहरू छन्। गर्भगृहमा मनकामना, दायाँ, बायाँ गणेश र भैरवका मूर्तिहरू छन्। गणेशका छेउको शिलालाई कुमारी र पछाडि चामुण्डा देवीको रूपमा पूजा गरिन्छ, पश्चिममा बेतालको मूर्ति छ। मनकामनाको स्तुति यस्तो छः हे देवी, मनले चिताएको कुरा पुर्याइदेऊ, देवी अम्बिका बारबार नमन छ। यहाँ तान्त्रिक विधिले पूजा हुन्छ। बिहानको नित्य पूजामा चन्दन, अक्षता, काँचो नरिवल, अवीर, फल फूलहरू, धूप, बत्ती, नैवेद्य अर्पण हुन्छ भने तान्त्रिक विधिले पूजा सकेपछि बलि दिइन्छ। बडादसैंमा गोरखकाली मन्दिरबाट फूलपाती र टीका मनकामनामा ल्याउने गरिन्छ।