मेलम्चीको मुख्य बाँध सारिने, एडीबीको २ अर्ब अनुदान

मेलम्चीको मुख्य बाँध सारिने, एडीबीको २ अर्ब अनुदान
फाइल तस्बिर।

काठमाडौं : एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनालाई १५ मिलियन अमेरिकी डलर (करिब २ अर्ब रुपैयाँ) अनुदान दिने भएको छ। आयोजनाको मुख्यबाँध (हेडवक्र्स) सार्नका लागि एडीबीले उक्त अनुदान दिन लागेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इन्जिनियर रत्नप्रसाद लामिछानेले जानकारी दिए। योसँगै एडीबीले पूर्णसूचना प्रणालीका लागि पनि थप ३ मिलियन डलर अनुदान दिने उनले जानकारी दिए। हेडवक्र्सभन्दा माथिल्लो भागमा मौसमी जानकारी दिने गरी उक्त प्रणाली जडान गर्न लागिएको हो। 

०७७ चैत २० गतेदेखि २ महिना अस्थायी रूपमा काठमाडौंमा पानी पु¥याएको आयोजनामा ०७८ असार १ गते बाढि पसेर बन्द हुन पुगेको थियो। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा मेलम्चीको मुख्य बाँध छ। करिब एक अर्ब रुपैयाँमा निर्माणाधीन रहेको मुख्य बाँध असार १ को बाढीले प्रभावित भएपछि यसको भूअवस्थाको अध्ययन थालियो। बाढीका कारण अनिश्चित बन्दै गएको मेलम्चीको मुख्यबाँध नै सार्नपर्ने मुख्य दातृ निकाय एडीबीको अध्ययनले सुझाव दिएको थियो। 

‘मेलम्ची आयोजनाको हेडबक्र्स भएको अम्बाथानभन्दा माथि जोखिम अझै कायमै छ। माथिल्लो भागमा भइरहेको परिवर्तन र मनसुनमा आउने बाढीको जोखिम कायमै देखिन्छ। ‘मेलम्चीमा बाढी आउनुको कारण सहायक नदी पेमदानमा बाढी आउनुलाई मानिएको छ। यसका साथै भू–बनोट कमजोर हुनु र ०७२ सालमा गएको भूकम्पले थप कमजोर बनाउनु नै बाढीको कारण देखिन्छ,’ एडीबीको रिपोर्टमा भनिएको छ। दातृ निकायको सुझावपछि सरकार आफैंले पनि मुख्यबाँध सार्ने वा नसार्ने विषयमा अध्ययन गरेको थियो। 

सरकारको अध्ययनले पनि बाँध सार्दा नै उपयुक्त हुने सुझाएपछि सरकार अब त्यसतर्फ उन्मुख भएको हो। सरकारले गत जेठ अन्तिम साताको मन्त्रिपरिषद् बैठकले मेलम्चीको मुख्यबाँध सार्न निर्देशन दिएसँगै समितिले परामर्शदाता छनोटको प्रक्रिया अघि बढाएको कार्यकारी निर्देशक लामिछानेले बताए।

दुई दशक लामो समयावधि र ६० अर्बभन्दा बढी खर्च भएको आयोजना हो, मेलम्ची। मेलम्चीको मुहानदेखि सुन्दरीजल सुरुङमार्गसम्म करिब ३१ अर्ब ५० करोड र सुन्दरीजलदेखि उपत्यकाको घरघरसम्म पु¥याउन ३० अर्ब गरी करिब ६१ अर्ब रुपैयाँको लगानी मेलम्चीमा गरिएको छ। दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने संरचना हो, यो। 

बाढी आएको ९ महिनापछि अस्थायी संरचनाबाट उपत्यकामा पानी पठाइएको थियो। हालको अवस्थामा पनि हिउँदमा अस्थायी संरचनाबाट काठमाडौंमा पानी पठाइन्छ भने वर्षामा बन्द गरिन्छ। उपत्यकामा करिब ३२ लाख मेलम्ची खानेपानीका उपभोक्ता रहेको बताइएको छ।

मुख्य बाँधलाई अम्बाथानबाट करिब १ हजार मिटरबीचको उपयुक्त स्थानमा सार्ने र त्यसका लागि करिब साढे ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए। अम्बाथानबाट करिब ४ सय मिटर माथितिर सर्कसथली भन्ने स्थानमा नयाँ बाँध बनाउनुपर्ने प्रारम्भिक अध्ययनले देखाएको छ। त्यहाँ दुवैपट्टि नै कडा चट्टान भएकाले बाढी पहिरो आउने जोखिम कम देखिएको अध्ययनले देखाएको छ।

यसको विस्तृत डिजाइन भने बाँकी नै छ। यसका लागि अहिले परामर्श दाता छनोटको प्रक्रियामा रहेको समितिले जनाएको छ। आगामी ६ महिनामा परामर्शदाता छनोट गरी १ वर्षभित्र विस्तृत डिजाइन तयार पार्ने र ४ वर्षभित्र मुुख्यबाँध निर्माण सम्पन्न गर्ने योजना रहेको उनले सुनाए। उक्त परामर्शदाताले यांग्री र लार्केको पानी काठमाडौं लैजानेबारे पनि अध्ययन गर्ने छ। 

यस आयोजनाले पहिलो चरणमा मेलम्ची नदी डाइभर्सन गरी दैनिक १७ करोड लिटर पानी पथान्तरण गर्ने र दोस्रो चरणको कार्यक्रमअन्तर्गत यांग्री र लार्के नदीबाट दैनिक थप १७/१७ करोड लिटर थप ३४ करोड लिटरसमेत गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौं ल्याउने भन्ने थियो। 

यसका लागि थप २ सुरुङ मार्ग निर्माण गरी प्रथम चरणको सोही २६ किमि लामो सुरूङ मार्गबाट काठमाडौं उपत्यकामा वितरण गर्ने र थप ३४ करोड लिटरको पानी प्रशोधन केन्द्र निर्माण गरिने लक्ष्य लिएको थियो। वर्षा सुरु भए पनि बुधबारसम्म भने काठमाडौंमा मेलम्चीको पानी आइरहेको छ। खानेपानी मन्त्रालयले जेठ अन्तिमबाट आवश्यक परे पानी ल्याउन बन्द गर्न सक्ने निर्णय गरे पनि मेलम्चीबाट पानी खुवाइरहेको समितिका कार्यकारी निर्देशकले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.