बैतडीको भुवनेश्वरी माध्यमिक विद्यालयमा 'मास हिस्टेरिया'को त्रास
बैतडी : बैतडीको सिगास गाउँपालिका-५ मा रहेको भुवनेश्वरी माबि खैरकोटमा विद्यार्थीहरूमा देखिएको ‘मास हिस्टेरिया’ अर्थात् ‘कन्भर्जन डिसअर्डर’ को समस्याले विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ।
विगत लामो समयदेखि किशोरीहरूमा देखिएको यस्तो समस्याले पठनपाठन प्रभावित बन्न पुगेको विद्यालयले जनाएको छ।
विद्यालय उमेरका केही किशोरीहरू एक्कासी काम्ने, जमिनमा लछारपछार गर्ने, चिच्याउने, मुर्छा पर्नेलगायत लक्षण देखिने गरेका छन्। दिनैपिच्छे किशोरीहरूमा एकसाथ यस्तो लक्षण देखाउँदा विद्यालयको वातावरण प्रभावित बन्न पुगेको छ।
दैनिकजसो हुने यस प्रकारको घटनाले विद्यार्थीहरूको मनोविज्ञानमा असर परेको छ। ‘दिनदिनै किशोरीहरू काम्ने गरेका छन्, लछारपछार गर्छन्, केही लडेर घाइतेसमेत भए, यस्तो समस्या देखिएपछि पढाइ नै हुँदैन, सबै कक्षा प्रभावित हुन्छन्,’ कक्षा १० का छात्र बसन्त धामीले भने।
विद्यालयमा किशोरीहरू काम्ने समस्या विगत एक दशकदेखि कायमै रहेको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र धामीले जानकारी दिए। करिब एक दर्जन किशोरीहरूमा यस्तो लक्षण देखिने गरेको उनले बताए। ‘यस्तो समस्या १०/१२ वर्षदेखि नै हो। गर्मीयाममा यस्तो लक्षण बढी देखिने गर्छ,’ प्रधानाध्यापक धामीले भने।
प्रत्येक शैक्षिक सत्रको वैशाखदेखि असोजसम्म नियमित विद्यालयको वातावरण प्रभावित हुने गरेको उनले बताए। किशोरीहरू एकैपटक काम्ने, रुने, लछारपछार गर्ने र दगुर्ने गरेका कारणले केही किशोरीहरू घाइतेसमेत हुने गरेको विद्यालयले जनाएको छ। विद्यालय भिरमा रहेकाले ठूलो दुर्घटनाको जोखिमसमेत छ।
यसलाई स्वास्थ्यका दृष्टिले कन्भर्जन डिसअर्डर भन्ने गरिएको छ। कन्भर्जन डिसअर्डर अर्थात मास हिस्टेरिया एक प्रकारको मनोसामाजिक स्वास्थ्य समस्या हो।
स्वास्थ्यकर्मीहरूका अनुसार मानिसहरूको समूहले कुनै रोग वा जीवाणुको संक्रमण बिना समान शारीरिक वा मनोवैज्ञानिक लक्षणहरू देखा पर्ने गर्छन्।
विद्यालयमा गृहकार्य नगरेको अवस्थामा शिक्षकहरूले पिट्छन् कि भन्ने डर पैदा हुनु, कुनै काम गर्दा विविध कारणले गर्न नसक्नु, कुनै रोगको अफवाह फैलनु, समाजिक सञ्जालमा विभिन्न खाले सामाग्रीहरू हेर्नूलगायतका कारणले यस्तो समस्या देखिने गरिएको छ।
कन्भर्जन डिसअर्डर अथवा मास हिस्टेरियाको महत्वपूर्ण उपचार भनेको मनोपरामर्श हो। जसले तनावलाई बहन गर्ने क्षमता बढाउन हौसला तथा सहयोग प्रदान गर्दछ। विद्यालय उमेरका बालबालिकामा यस्तो समस्याहरू देखिने हुँदा विद्यार्थीहरूलाई मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराउने, शिक्षक विद्यार्थीमैत्री अध्ययन/अध्यापन गराउने र विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ।
आवश्यक परामर्शको लागि स्वास्थ्य कार्यालयसँग समन्वय भइरहेको सिगास गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए। समस्याग्रस्त विद्यालयमा आवश्यक चिकित्सकीय परामर्शको लागि टोली तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।
‘निर्देशनायलसँग समन्वय गरेका छौं। त्यहाँबाट डब्ल्युएचओको टोलीसँग समन्वय हुन्छ। त्यसपछि परामर्श सुरु गर्छौं,' स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तिर्थराज भट्टले भने।