आगामी वर्षको बजेट कार्यान्वयन योजना बनाउन सुरु
काठमाडौं : अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको योजना बनाउने काम सुरु गरेको छ। मन्त्रालयले शुक्रबारदेखि योजना बनाउने काम सुरु गरेको हो। अर्थमन्त्री वर्षमान पुन अनन्तले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुखहरु र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतहरुको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गरेका हुन्। मन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार गर्न निर्देशन दिए।
उनले पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दसैं तिहारजस्ता ठूला पर्वलाई ख्याल गरेर कार्ययोजना बनाउन निर्देशन दिए। समयमै र छिटै काम गर्नेगरी योजना बनाउनुपर्नेमा उनले जोड दिए। स्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबीच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकामा सन्तोष लागेको उनले बताए।
मन्त्री पुनले नयाँ आयोजनामा भन्दा चालु र ठूला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको बताए। पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३२ अर्ब बजेट विनियोजन गरिएको चर्चा गर्दै उनले पूरा नगरी नहुने अरू चालू आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको जानकारी दिए।
मन्त्री पुनले स्थानीयतहमा जाने समानीकरण रकम तत्काल निकासा गर्न पनि निर्देशन दिएका छन्। ‘७५३ वटै स्थानीय तह बजेट ल्याउने अन्तिम तयारीमा छन्। समानीकरणको बजेट भरसक शतप्रतिशत नै पठाऔं। नभए पनि अघिल्लो वर्षको भन्दा बढी जाने व्यवस्था मिलाऔं’, मन्त्री पुनले भने।
फरक प्रसंगमा मन्त्री पुनले आफू करिब चार महिनाअघि मन्त्रीका रूपमा आउँदा एक हजार फाइल ‘पेन्डिङ’मा रहेको चर्चा गर्दै अहिले आफ्नो टेबलमा आएको फाइल एक दिन पनि नरोकिएको बताए। उनले आगामी आर्थिक वर्षका लागि सार्वजनिक वित्त नीति (बजेट) वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको बताए।
मन्त्री पुनले नेपाल राष्ट्र बैंकले वित्त नीतिसँग तालमेल हुने गरी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गरे। छलफलमा गभर्नर महाप्रसाद अधिकारी पनि सहभागी थिए। पुनले विश्व बैंक र एसियाली विकास बैंकले आगामी आर्थिक वर्ष ५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि ७ प्रतिशतसम्म आर्थिक वृद्धि हुने आधार देखिएको बताएका छन्।