बालविवाह मुक्त पालिकामै बालविवाह गराउने महिला पक्राउ
राजविराज : मधेस प्रदेशमा हालसम्म दुईवटा पालिका बालविवाह मुक्त घोषणा भएको छ। सप्तरीको सुरुङ्गा नगरपालिका २०७९ मङ्सिर १४ गते र खडक नगरपालिका २०८० पुस १३ गते बालविवाह मुक्त नगरपाालिका घोषणा भएको हो।
पहिलो बालविवाह मुक्त घोषणा भएको सुरुङ्गा नगरपालिकाकी एक महिला दोस्रो बालविवाह मुक्त घोषणा भएको खडक नगरपालिकाबाट बालविवाह गराउन खोजेको आरोपमा पक्राउ परेकी छिन्। सुरुङ्गा–३ दौलतपुरकी ४२ वर्षीया श्यामदेबी मण्डल बालविवाह गराउन खोजेको आरोपमा खडक नगरपालिका–२ बेल्ही टोलस्थित माइतीघरबाट पक्राउ परेकी हुन।
पक्राउ परेकी श्यामदेबीले आफ्नो बालक छोराका विवाह बोदे बर्साइन नगरपालिका–९ सिमरा टोलकी बालिकासँग गर्न खोजेकी थिइन्। बालक छोरालाई बेहुला बनाई बाजागाजासहित जन्ती पठाएपछि प्रहरी टोलीले श्यामदेबीलाई पक्राउ गरेको हो।
पक्राउ परेको स्थान पनि मधेश प्रदेशको दोस्रो बालविवाह मुक्त पालिका हो। खडक नगरपालिका–२ बेल्ही टोलस्थित माइतीघरबाट श्यामदेबीले छोराको विवाह गर्न खोजेकी थिइन्। बालविवाह गराउन जन्ती पठाइरहेकै बेला पुगेको प्रहरीले आरोपितलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक निलमप्रसाद उप्रेतीले बताए।
पक्राउ परेकी आरोपितले विवाहका लागि छोराले जिद्दी गरेकाले विवाह गराउन खोजेको बताइन्। जन्ती लिएर हिँडेका बेहुला बालक भने गिरफ्तारीको डरले फरार भएका छन्। आरोपितविरुद्ध सुरुङ्गा नगरपालिकाको कार्यालयले इलाका प्रहरी कार्यालय कडरबोना, सप्तरीमा उजुरी दिएको छ।