गाउँतिर दृष्टि दौडाउँदा

पुस्तक

गाउँतिर दृष्टि दौडाउँदा

‘समय र मान्छे’ शीर्षकको कवितामा कवि दिनेश थपलियाले ‘समयले चिन्दैन मान्छेलाई, मान्छेले चिन्नुपर्छ समय’ भन्ने भावमा कविता कथेका छन्।

दिनेशकुमार थपलिया विकास प्रशासनमा स्थापित नाम हो। हाल राज्यको महत्वपूर्ण संवैधानिक अङ्ग निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदको जिम्मेवारीमा हुनुहुन्छ। यतिभन्दा नै उहाँको गैरसाहित्यिक परिचय पर्याप्त हुन्छ जस्तो लाग्छ। साहित्य संसारमा दिनेशकुमार थपलियाले दिनेश थपलियामात्र चलन गर्नु हुन्छ। सो नामबाट शब्दसिर्जना गरेका उहाँका आधुनिक गीतहरू बजारमा गुन्जीरहेका छन्। विशेषतः युवावयका माझमा उहाँका गीतहरू लोकप्रिय छन्। ...लभ यु– लभ यु– लभ यु धेरै चलेको गीत हो।

आजको सन्दर्भ आफ्नै रहरमा कवि दिनेश थपलियाको ‘म गाउँ फर्किन्छु’ कविता संग्रहका बारेमा संक्षिप्त समीक्षा प्रस्तुत गर्नु रहेको छ। म गाउँ फर्किन्छु (कविता संग्रह) का सुरुका पानामा प्रकाशकीय, समर्पण, र समयको प्रतिबिम्ब शीर्षकमा स्रष्टाको धारणा राखिएका छन्। त्यस पछि कविताक्रम रहेको छ। 
कवि दिनेश थपलियामा बैश चढ्दै जादा कविभावको मूल फुटेको प्रस्तुत कविता संग्रहको अध्ययन गर्दा अनुभूति हुन्छ। बीस वर्षको उमेरमा उहाँले रचना गरेको ‘मेरो प्यारो संखुवासभा’ शीर्षकको कविताले उहाँको उमेर र सिर्जनाको साइनो प्रमाणित गर्दछ। 
‘म गाउँ फर्किन्छु’ कविता संग्रह साझा प्रकाशनले २०८० सालमा प्रकाशित गरेको हो। साझा प्रकाशनले गहकिला कृतिमात्र प्रकाशन गर्छ भन्ने विश्वास साहित्य प्रेमीहरूका बीचमा स्थापित छ। यस आधारमा कवि दिनेश थपलियाको कृति ओजिलो मात्र छैन साहित्यिक आकाशमा उहाँ एक चम्किलो ताराकोरूपमा देखा पर्नु भएको छ। 
प्रस्तुत संग्रहमा कवि दिनेश थपलियाले २०४० भदौदेखि २०६३ वैशाखसम्म रचना गरेका विभिन्न शीर्षकका तेत्तीस वटा कविता समाविष्ट छन्। कविता अध्ययन गर्दा कविलाई उमेरका साथै जन्मस्थल, ओहदा, कार्यस्थल, स्थानीय परिवेश र राष्ट्रिय परिस्थितिले गहिरो प्रभाव पारेको देखिन्छ। 
कविले स्वदेशका विभिन्न चौध ठाउँ र विदेशको एक ठाउँमा रहेर तेत्तीस वटा कविताको सिर्जना गरेको तथ्य प्रत्येक कविताको अन्तमा लेखिएको मिति र ठेगानाबाट स्पष्ट हुन्छ। स्थानविशेषका आधारमा क्लष्टरिङ गरेर कविताको समीक्षा गरिएको छ। यसो गर्दा कविको हृदयमा स्थानप्रेरित भावधाराको तस्वीर उतार्न सकिन्छ भन्ने पंक्तिकारको विश्वास छ।

अब लागौं, कवितापिच्छेको समीक्षातर्फ। संखुवासभाको खाँदबारीबाट कविको सिर्जना यात्रा सुरु भएको छ। यो ठाउँ कविको गृहनगर हो। आमाबुवाको न्यानो काख, आधारभूत शिक्षादीक्षा प्राप्ति तथा आफन्त एवं साथीको आलिङ्गन प्राप्त ठाउँ जो कोहीका लागि पनि सर्वाधिक प्रिय हुन्छ। कविले सिँगो जिल्ला र गृहनगरलाई हृदयमा सजाउदै यस्को अवस्थिति, सीमाना, स्वरूप, सम्पदा, सौन्दर्य, जनजीवन र योगदानलाई हृदयमा सजाएर रचना गर्नु भएका पाँच वटा कविता प्रस्तुत संग्रहमा समावेश गरिएका छन्। 

उक्त पाँच कवितामा मेरो प्यारो संखुवासभा, शुभकामना नया वर्षको, मायाको परिभाषा, साथ छुटेपछि र खाँदबारी शीर्षकमा सजिएका छन्। समय गणणाका हिसाबले पहिलो चारवटा कविता २०४० भदौ देखि २०४१ फागुनको अवधिमा लेखिएका हुन भने पाँचौ कविता (खाँदबारी शीर्षकको) २०६० कात्तिकमा लेखिएको कविता हो। 

मेरो प्यारो संखुवासभा कविता कविको उमेर भर्खर २० बसन्त पार हुँदा रचना भएको हो। यस कवितामा कविले अगाध श्रद्धा र प्रेमका शब्दले गृह जिल्लालाई सुशोभित पार्नु भएको छ। यसलाई कविको स्वदेश प्रेमको बिम्बको रूपमा अथ्र्याउन सकिन्छ। उहाँले संखुवासभाको ऐश्वर्यको तारिफ गर्दै हरेक प्रकरणको अन्तमा वाह ! मेरो प्यारो संखुवासभा ! का शब्दश्रद्धाको गुच्छा अर्पण गर्नु भएको छ। 
यस कवितामा प्रयुक्त प्रत्येक शब्द जीवन्त छन्। सारगर्भित छन्। कविता पढ्दै जादा संखुवासभाको सग्लो स्वरूप सामुन्नेमा आउछ। कविताको सानो अंश तल प्रस्तुत छ – 
अल्लो र खाँडीको पहिरनमा
रुद्राक्षको माला लगाएर
पोपटिला भन्ज्याङबाट भोटसँग सम्बन्ध गाँस्छ
निरन्तर यसै गरी 
आकर्षक बन्दै छ आफ्नो मौलिक भाकामा
बोकेर नेपालीको अस्तित्व
देशलाई चिनाएको छ, विश्वको नेत्रमा
कहिले मकालु हिमाल, कहिले अरूण उपत्यका भएर 
राष्ट्रिय गौरव बढाएको छ विश्वमानचित्रमा,
कहिले मनकामना कहिले सिद्धकाली भएर 
वाह – मेरो प्यारो संखुवासभा !
यस्तै गहकिला हरपहरूले कविता भरिपूर्ण छ। जसलाई बाचन गर्दै जाँदा संखुवासभाको बान्की, वैभव र विराशतको सग्लो, सङ्लो र सुरम्य आकृतिसँग स्पर्श गरेको अनुभूित हुन्छ।
खाँदबारीमै रहेर २०४० को चैत्रमा रचना गरिएको ‘शुभकामना नया वर्षको’ शीर्षकको कविता पनि असाध्यै मन छुने छ। उक्त कवितामा कविमनले अघिल्लो साल व्यक्त गरेको शुभकामनाको सिंहावलोकन गरेको छ र विरक्तिको लामो शास फेरेको छ। कविताको केही अंश –
हेर्ने रहर थियो
अलिकति सडक बढेको, पुल हालेको
बाँध बाँधेको, आबाद गरेको
धानको बाला झुलेको, सयपत्री फूलेको
विजुली बलेको, गाँस पाएको
सुरक्षा बढेको, बास पाएको
तर सालै भरि
बाढीपहिरोले खण्डहर भएका बस्तीका कथाहरू सुनियो
जमिन कटानी र वनफडानीका आयामहरू सुनियो
असार आएन, मङ्सीर भित्रिएन
बसन्त र हिउँदको लुकामारी चलेन
नीरवता र नग्नताले भरियो बस्ती 
बुद्धको आँखाले रक्ताम्य धर्तिलाई देखेन
नागरिकको पाइलाले नवीन गन्तव्य भटेन
को रमायो होला साच्चै यो वर्ष ? नागरिकलाई थाहै भएन।
अतितलाई केलाउने र आगतलाई बाटो देखाउने खुबी कविमा छ। अतिततर्फ फर्कदा देखिएको निराशाग्रसित मलिन अनुहारमा नया वर्षमा आशाको ज्योति छर्न शुभकामनाका देहायका अंश मात्रले पनि कविलाई समर्थवान तुल्याएको महसुस हुन्छ।
अन्धकारमा बाटो खोजिरहेका जवानहरूलाई
उन्मुक्तिको हुँकार बोलिरहेका जीवनहरूलाई
आशा र उत्साह भरिएको आँटिलो छातीको 
शुभकामना छ 
वर्तमानका विकृतिहरूसँग जुध्दै 
नया युगको निर्माणमा जुटौं अब 
बढ्दो अभाव र विपन्नताका विरुद्ध
उज्यालो छर्न उठौं अब,
शुभकामना नया वर्षको
बर्गभेदको धुवाँभित्र जिजीविषा उठाउँ र
हुँकार छोडिरहेका आत्माहरूलाई
ओइलाएको बसन्तलाई हरियाली भर्दै
चक्रव्यूह तोड्न संघर्षरत जीवात्माहरूलाई। 
खाँदबारीमै बसेर लेखिएको तेश्रो कविता मायाको परिभाषा हो। यसमा कवि कल्पनाशील भएर लेखिएको हो वा यथार्थ परिघटनामा आधारित भएर हो त्यो त कवि स्वयंलाई मात्र थाहा होला। जे होस उमेरले पनि रूप र योवनको छहारी खोज्ने अवस्थाका कविमा मायाको परिभाषा गर्न अग्रसर हुनु स्वाभाविक हो। यस कवितामा सारै स्पर्शी शब्दमा कवि पोखिएको पाइन्छ। थोरै अंशले पनि पूरै भाव बोकेको तलका हरपबाट बुझ्न सकिन्छ।
हामीलाई 
इसाराको गुरुत्वाकर्षणले तान्थ्यो 
परेलीको आमन्त्रणले बोलाउँथ्यो
मनमा भेट्ने आकांक्षा
आँखामा देख्ने हुटहुटी,
म भन्थेँ
तिमी मेरी आस्थाकी प्रतिमूर्ति
तिम्रो मनको तीर्थस्थलमा 
आसन जमाउन पाए हुन्थ्यो
तिमी थप्थ्यौ 
तिमी मेरो विश्वासको धरोहर 
तिम्रो मनको आकाशलाई छानो बनाएर 
तपस्या गर्न पाए हुन्थ्यो।
यस कविताले कोरेको मायाको परिभाषामा प्रेम गासिदाको रोमान्च, टाढिँदाको छटपटी, अनिश्चित बनिरहेको पुन भेटको सम्भावना बीच सुरुवाती दिन सम्झेर मनलाई कुत्कुत्याउँदै र सम्हाल्दै गरेको राधाकृष्णरूपी प्रेमको सजीव दृष्य कवितामा उतारिएको छ। 
खाँदबारीमै रचिएको कविको चौथो कविता हो– साथ छुटेपछि। यस कवितामा पनि कविको मन कुनै अमुक प्रिय व्यक्तिको तृष्णामा फनफनी घुमेको छ तर अब सँगै जीउने सम्भावना नभएको अनुभूतिका साथ आफ्ना असमान्जस भावनालाई कविले ‘सेफल्यान्डिङ’ गरेको प्रतित हुन्छ।
बल्ल थाहा भयो,
मनको बगैंचामा खडेरी परेपछि
फूलको रङ उड्दो रहेछ
मायालुको साथ छुटेपछि 
मायाको अर्थले पोल्दो रहेछ 
यी र यस्तै मर्मस्पर्शी शब्दहरूले कविता सजिएको छ। धेरैका जीवनलाई छुने प्रस्तुत कविताले प्रेमलाई बुझ्न र सम्हालिन सिकाउँछ। 
झन्डै बीस वर्षपछि खाँदवारीमै पुगेर कविले रचना गरेको पाँचौ कविता हो खाँदवारी। दुई दशकको अन्तरालमा कविको उमेर, योग्यता, ओहदा र अनुभव फेरिए पनि जन्मभूमि प्रतिको माया, प्रेम र श्रद्धा अटल रहेको खाँदबारी शीर्षकको कविताबाट स्पष्ट हुन्छ। 
जसरी मेरो प्यारो संखुवासभामा शब्दचित्रले जिल्लाको विशिष्ट चिनारी गराउन कवि अब्बल सावित हुनुभएको छ त्यसरी नै खाँदवारी कवितामा कविले गृहनगरलाई शब्दचित्रमा सुन्दर ढङ्गले उतार्न सफल हुनु भएको छ। यस कवितामा आस्था, श्रद्धा, प्रेम, आधार, विश्वास र स्वाभिमानको आलोक झलमल्ल छ। 
खाँदवारीका बासिन्दाको दैनिकीलाई जस्ताको तस्तै शब्दमा उतारेर खाँदवारी नपुगेकालाई पनि पुगेको महसुस गराउन कवि सफल हुनु भएको छ। माटोको माया, प्रकृति र संस्कृतिका सुवासलाई शब्दको शिशीमा भरेर दूरदुनियामा पुगेकालाई पुर्ख्यौली थलोको सुगन्धले मख्ख पार्ने क्षमता यस कविताले बोकेको छ। 
जम्मा पाँच प्रकरणमा पूर्ण भएको यस कविताको प्रत्येक प्रकरणको अन्तमा क्रमशः सुगन्ध हो खाँदवारी, उपहार हो खाँदवारी, पौरख हो खाँदवारी, पहिचान हो खाँदवारी र गौरव हो खाँदवारी हरप रहेका छन्। यिनलाई सिद्ध गर्ने काम प्रकरण भित्रका अरू हरपले गरेका छन्। कवितामा खाँदवारी जीवन्तरूपमा अभिव्यक्त भएको छ।
सिर्जनाको दोश्रो स्थानमा मनाङ जिल्लाको सदरमुकाम चामे रहेको छ। २०४० पुसमा प्राविधिक कर्मचारीको रूपमा कवि मनाङ जिल्लाको सदरमुकाम चामे पुगेका कारण यस ठाउँसँग साइनो जोडिएको देखिन्छ। चामेमा रहदा रचना गरिएका दुई कविता संग्रहमा समावेश भएका छन्। 
पहिलो कविता जब देखें तिमीलाई शीर्षकको छ। यसमा कविको कल्पनाशीलता व्यावहारिकरूपमा प्रकट भएको छ। कविको जीवनमा घटित वास्तविकता नै हो भन्न सकिने गरी कविको हृदय बोलेको छ। 
जव देखें तिमीलाई
तिमी पोखियौ मनको मझेरीमा आएर
पर्दा उघ्रियो संकोचको
अनुभूति हरायो लज्जाको
बिउ टुसायो आत्मीयताको
कोपिला फक्रियो मायाको
फूल फुल्यो पिरतीको
सुबास चल्यो सम्बन्धको
आभा छरियो मिठो मुसकानको
तिम्रो अनुराग 
मेरो अनुमोदन
सम्झे,
गाउँमा हुँदा देखेको
कोदोको ब्याडमा चारो टिप्न आउने ढुकुरको पे्रमिल जोडी।
माथि उल्लेखित हरपहरूले प्रेमको अंकुरण र पल्लवनलाई कति सरल र सिलसिलेवार रूपमा बताइदिएका छन्। कविले प्रयोग गरेको विम्ब ढुकुरको प्रेमिल जोडीलाई कवि आफ्नो जीवन पनि त्यसरी नै सदाबहार प्रेमिल बनोस् भन्ने चाहनाको द्योतकको रूपमा हेर्न सकिन्छ। रचनाको समय कविमा चढ्दो बैसको समय हो। बसन्त ऋतुमा वृक्षलाई पालुवा निकाल्न खडेरीले रोक्न नसके जस्तै यो उमेरमा प्रेमधारा प्रवल हुन्छ नै। सायद कवि भित्रको प्रेम प्रवलताले घच्घच्याएर कविता प्रस्फुटन भएको होला।
नवयोवनासँग आत्मालाप चामेमै सिर्जना गरिएको कविको दोश्रो कविता हो। आत्मालाप शब्दको प्रयोग भएकाले कवि एकांकी रूपमा भावमग्न भएर कविता लेखेको अनुमान गर्न सकिन्छ। कल्पना गर्नु र परिदृष्य देख्नु ‘माइण्ड फङ्सन’ हुन। प्राप्त गर्न लाई भने भौतिक क्रियाशीलता चाहिन्छ। कविता पढदा कवि एक पक्षीयरूपमा कल्पनाशील भएर प्रस्तुत भएको देखिन्छ। 
यस कवितामा नवयोवनाको सौन्दर्यको वर्णण अत्यन्त उदार ढङ्गले गरिएको छ। सोचे जस्तो हुँदैन जीवन भनेर स्वप्न सुन्दरीलाई सदृष्टान्त सम्झाउने प्रयास पनि गरिएको छ। आफ्नो निमित्त भने नवयोवना सर्वगुण सम्पन्न भएको यकिन हुँदै आफूलाई उनैमा समर्पण गर्न चाहेको आत्मालाप कवितामा प्रकट भएको छ। 
त्यसैले 
छातिमा हार्दिकताको कामना बोकेर
एक हुल रहरहरू भेट्न आउँछु म
हृदयमा पिरतीको भाका सजाएर
एक बथान खुसीहरू मेट्न आउँछु म 
यी हरपहरू पढ्दा सरल लाग्छन, तर गहिरो मर्म बोकेका छन्। पूरा कविता छिचोल्दा पाठकलाई समेत आफ्नो उमेर अनुसारको तरङ्ग पैदा हुन्छ। कविको यो कविता साँच्चै नै सदा जवान छ। 
कविको सिर्जनात्मक कलम चलेको तेश्रो लहरमा काठामाडौंका विभिन्न स्थान पर्दछन्। ती मध्येको पहिलो स्थान मैतीदेवी हो। मैतीदेवीमा कविबाट दुई कविता जन्मेका छन्। पहिलो कविता उन्मुक्तिको खोजी शीर्षकको छ। कविता भित्रको एउटा पंक्ति छ– मलाई जनताको आदिम मौनता तोड्न घरघरमा डुल्नु छ। यही पङतीले नै कविको आसयलाई उजागर गर्दछ। विचारको स्वतन्त्रता खोजिरहेका कविमा रूपान्तरणको अभियन्ता बन्ने अठोट पनि यस कवितामा अन्तर्निहित छ। मलाई ‘म’ हुनुको औचित्य स्थापित गर्नु छ भन्ने पंक्तिबाट बिट मारिएको प्रस्तुत कविता कवि भित्रको समुन्नत चेतनाको चिराग हो भन्न सकिन्छ। 
मैतिदेवीमै रचिएको दोश्रो कविताको शीर्षक छ– वर्तमानसँग। यस कवितामा कविको मन विगत देखेर तड्पिएको छ, वर्तमान भोगेर छटपटाएको छ र उज्ज्वल भविष्यका लागि साहसी अभियन्ता बनेर होमिने योजनाका साथ प्रकट भएको छ। कविको वर्तमानबाट अघि बढ्ने योजना यस्तो छ–
बढ्दो अभाव र विपन्नताको विरुद्ध
मोर्चा कसेर उठ्नु पर्छ
असमानताको दुर्भेद्य पर्खाल भत्काउन
जुलुस बोकेर उठ्नु पर्छ
उन्मुक्तिको यात्रा 
उज्यालो गन्तव्य नभेटी फर्किदैन
वर्तमान 
आफ्ना विकृतिहरूको चिता सल्काएर
नया युगको निर्माणमा जुट्नु पर्छ। 
कविताका हरपहरू तत्कालीन राजनीतिक परिवेशको पृष्ठभूमिमा सटिक छन्। तथापि यस कवितामा प्रयुक्त ‘अन्यायको रामराज्य’ भन्ने उपमा पचाउन अलि असजिलो लाग्छ। सो को सट्टा ‘अन्यायको कौरवकाल’ राखेको भए स्वाभाविक हुन्थ्यो भन्ने लाग्छ। 
कवि दिनेश थपलियामा कवित्व फुरेको चौथो ठाउँ हो– घट्टेकुलो। यस ठाउँमा रचना गरिएको कविताको शीर्षक रहेको छ– कुमारी सपना। एक बैश भरिएकी कुमारीले देखेको सपनालाई अत्यन्त सुन्दर तरिकाले शब्दमा उतारिएको छ। सपनामा राजकुमारको आगमन, आलिङ्गन, समर्पण, कुमारीत्वको विसर्जनका सिलसिलाबाट ब्युँझदा कुमारीका मनमा उब्जेका भावहरू ग्लानी र पश्चातापयुक्त भएको देहायका हरपबाट बुझ्न सकिन्छ –
एक्कासि ब्युझिएँ विपनाको संसारमा
चिसिएको सशङ्कित मन लिएर,
त्यति वेला मसँग
आलिंगनमा समर्पित परिवेश थिएन
भर्खरै घटित सुखद दुर्घटनाको अवशेष थिएन
विपरितलिङ्गीको सपनालाई आफ्नो शब्दमा जीवन्तरूपले उतार्न सक्नु कविको उच्च कोटीको कल्पनाशीलता हो। कविले प्रस्तुत कवितामार्फत् दिएको सन्देश नारी अस्मिता रक्षाका लागि मननीय छ। ‘सर्टर प्लेजर, लङ्गर पेन’को हेक्का राख्न यस कविताले राम्रो सन्देश दिएको छ।
कविता सिर्जनाको पाँचौं स्थान सुन्धारा हो। यस मुकाममा रहेर सिर्जना गरिएका कवि दिनेश थपलियाका तीनवटा कविता छन्। पहिलो कविता दोबाटोमा उभिएर हो। दोबाटो यस्तो विम्ब हो जहा मायालुसँग मिलन भयो र नछिप्पिदै विछोड भयो। 
जुनीजुनीलाई भनेर जुन ठाउँमा माया जोडिएको थियो त्यही ठाउँमा पुगेर मायाको वियोगले मन भक्कानो पार्दै अतीतका ती परमप्रिय सम्बाद र सम्बन्धका शृंखलाको सम्झना गर्दे मनमा विस्फोटन भएको छटपटीको ज्वालामुखीलाई कविले बडो सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ।
कसरी कल्कलाउँदो उमेरमा त्यो अनपेक्षित परिस्थिति पैदा भएको थियो भन्ने कुरा कविका तलका हरपले प्रष्ट पार्दछन् –
तिम्रो स्वाभिमानको स्वाङ
मेरो अस्तित्वको अहङ्कार 
उठेको थियो एकै चोटी 
त्यसै बला
शंकाको पहाड चुलियो
विश्वासको हिमाल पग्लियो
हामीले आफ्नै अगाडि
मायाको चिहान खनेका थियौ 
कथित स्वाभिमान र अस्तित्वको पत्थरले 
पुरिदियौ
आफ्नै पिरतीको प्रेतात्मा 
कविको पारदर्शी लेखन कला यस कवितामा झन माझिएर पोखिएको छ। प्रत्येक शब्दको संयोजन, रङ्रोगन र सार संप्रेषण अति सुन्दर छ। 
सुन्धारामा सिर्जना गरिएको दोश्रो रचना हो– तिम्रो प्रतिक्षामा। यो कविता पढ्दा जवानी भरिएका जोडीको भेट, परिचय र जुनी बिताउने कसम खाएको तर त्यो सम्बन्धलाई सामाजिक मर्यादा दिन विवाहको औपचारिक अनुष्ठान हुन बाँकी रहेको समयमा हुनेवाला दुलाहाले दुलही उपर गरिएका मिठा कल्पना र त्यसबाट सिर्जित काउकुतिको सजीव वर्णन गरिएको छ। यो कविताले पाका पाठकलाई आफ्नै अतितमा पुर्‍याउँछ र जीवनको त्यस्तै क्षण सम्झेर मिठो आनन्द अनुभव गर्ने बनाउछ। के थाहा कतै कविले आफ्नै जीवनका प्रेमिल पललाई कविता मार्फत् सदाका लागि सुरक्षित गरेको हो कि ?
०००
सुन्धारा मुकाममा रचिएको तेश्रो कविता हो– अनुत्तरित प्रश्न। यस कवितामा कविको दार्शनिक भाव प्रकट भएको छ। ब्रह्माण्ड, भूगोल, पृथ्वीलोक, आकाशगंगा, अनन्त खगोल, सृष्टिको वरदान, प्रकृतिको नियमितता, धरतीको वास्तविकता, दिन, महिना, वर्ष, शताब्दी, सहश्राब्दी, पूर्व, पश्चिम, उत्तर, दक्षिण अक्षांश, देशान्तर, साँध, सिमाना, देश, महादेश, स्वदेश, परदेश, गाउँ, शहर, झुपडी, महल, धर्म, संस्कृति आदि विभाजनलाई बुझेका कविले भूगोल जस्तै मान्छे पनि किन विभाजित हुन्छ ? भने प्रश्न तेस्र्याएर आफ्नो सार्वभौम पहिचान गुमाएर मानचित्रमा कोरिएका धर्साहरूबाट मान्छे किन विभक्त हुन्छ ? भन्ने प्रश्नसमेत गरेर कविबाट कविताको बिट मारिएको छ। सायद मानव सभ्यतामा कलंकको रूपमा व्याप्त विभेद, असमानता र वञ्चितीकरणको दृष्यले कविको मन द्रविभूत भएर अनुत्तरित प्रश्नमार्फत् निकास खोजेको हुन सक्छ।
सिर्जना यात्राको छैठौं स्थान जडिबुटी हो। यहाबाट कविका चार कविता फुरेका छन्। कविता लेख्दाको समयमा जडिबुटीमा नै कविको निबास थियो। उमेरले चालिस पार गरेको अवस्थामा ओहदा तथा अनुभवको सिँढी र शृंखला उचो र फराकिलो हुँदै गरेका समयमा कविले सिर्जना गरेको पहिलो कविता हो– म गाउँ फर्किन्छु।
‘म गाउँ फर्किन्छु’ कविता कविले सहरमा देखेका अनेकथरी अस्वाभाविक घटनाको उकुसमुकुसको अभिव्यक्ति हो भन्न सकिन्छ। सहर पस्दाको उत्साह कस्तो थियो र समयान्तरमा के कुराले मन विरक्त बनायो सो बारेमा कविताका देहाएका पंक्तिहरूले खुलस्त पार्छन्।
आमाको सपना 
बुबो विश्वास 
र, आफ्नो संकल्प
एकै ठाउँ पोको पारेर
गाउँबाट सहर पसेको म
अहिले,
जिन्दगीको चौबाटोमा उभिएर
हेरिरहेछु अनेक परिदृष्य
देखिरहेछु ताण्डव नृत्य
यहा के छैन ?
आवेग छ, संवेग छ
वेदना छ, वियोग छ
अहङ्कार छ, संहार छ
एकपल हाँसोको खोजीमा निस्केको म
पलपल रोएको छु 
एकक्षण खुसीको आसमा हिँडेको म
हरक्षण दुःखमा फसेको छु 
हिउँद–जाडोसँग जुझेर जान्छ
बर्षात्–पानीसँग भिजेर जान्छ 
यो 
श्रापित र भ्रमित सहर
थकित र त्रसित सहर
व्यथित र पीडित सहर
यहाँ म,
स्वाभिमान खोज्छु
अभिमानले थिच्छ
ममता खोज्छु
घृणाले किच्छ
त्यसैले
नढाँटी भन्छु 
आज अतृप्त आशाहरूमा डुबेर
मृत्युको निर्जन बस्ती बन्ने तरखरमा छ यो सहर।
सहरप्रतिको वितृष्णा र विरक्तिको समाधान स्वर्गतुल्य गाउँमा भएको ठहर गर्दै गाउँ फर्किने कविको बाचा देहाएका पंक्तिमा व्यक्त भएको छ–
गाउँको उर्वर माटोबाट उठेको म
त्यही हराउन चाहन्छु
गाउँको धुले बाटोबाट आएको म
त्यही रमाउन चाहन्छु,
यो सहरको कथित सुविधाले
छिन्न सक्दैन मेरो गाउँले स्मृतिलाई
म गाउँमै फर्किन चाहन्छु
यो सहरको देखावटी सम्पन्नताले 
किन्न सक्दैन मेरो स्वाभिमानलाई
म गाउँमै जीवन बिताउन चाहन्छु।
सहरको कोलाहलबाट मुक्त भएर एकान्त र शान्त जीवनका लागि गाउँ स्वर्ग हो भन्ने सार सन्देश सम्प्रेषित प्रस्तुत कविताको शीर्षकले कविता संग्रह चिनाउने सौभाग्य पाएको छ। कविको वास्तविक जीवनमा यस कविता मार्फत् अभिव्यक्त बाचा पूरा भएको दिनमा सबैभन्दा खुसी स्वयं कविता नै होला। कामना छ कविता खुसी हुने दिन आवोस्। 
जडिबुटीमा सिर्जना गरिएको दोश्रो कविता हो– दसैं र अनुभूतिहरू। यस कविता पढ्दा कविले बाल्यकाल र वयस्कमा अनुभूत गरेका दसैंका उत्सवमय क्रियाकलापको स्मरण गर्दे सन्तुष्टी व्यक्त गरेको तर वर्तमानको दसैंबारे आलोचनात्मक टिप्पणी प्रस्तुत गरेको छनक पाइन्छ।
कविको बाल्यकालको दसैंको अनुभूति यस्तो छ– 
दसैंं वर्षैभरि आइरहे हुन्थ्यो
दसैंको मजा वर्षैभरि पाइरहे हुन्थ्यो 
बयस्कताले छुँदा अनुभव गरेको दसैंको महत्व र महिमाको आलोक कविका शब्दमा यसरी अभिव्यक्त छ–
दसैं–
विसंगतिविरुद्धको आवाज
न्याय र समानताको राज 
प्रेम, सद्भाव र मित्रताको हात 
आदर, सम्मान र खुसीको चाड भनेर 
हामीहरू
डोरी बाटेर मायाको 
रोटे र लिंगेपिङमा 
बैंशको रमाइलो भारी बिसाउँथ्यौं
लाग्थ्यो–
दसैंं योवनको खुसी बनेर तरंगिए हुन्थ्यो
दसैंं माया, प्रेम र स्नेहमा रंगिए हुन्थ्यो 
वर्तमानमा भने कविको दसैंप्रतिको अनुभूति फरक हुन गएको छ। दसैंले समान रूपमा दिएको रमाउने अवसरलाई आर्थिक हैसियत र सामाजिक प्रतिष्ठा उचो बनाउने नाममा भइरहेका प्रतिस्पर्धाले दसैं विकृत हुँदै गएका अनेक दृष्टान्तलाई कवितामा उतारिएको छ। अनुभूतिबाट पाठ सिकेर कविको मनमा दसैं कसरी आउनु पर्छ ? भन्ने तटस्थ भावधारा पैदा भएको छ, जो देहाएका पंक्तिले बोलेका छन् –
अबदेखि, हाम्रो दसैंं
प्राकृतिक रम्यता सँगै
खुसीको पारिलो घाम बनेर आउनेछ
शारदीय स्वच्छतासँगै
उल्लास र उमंगको अर्को नाम बनेर आउनेछ
त्यसपछि 
हामी
शुभकामना मात्र साटासाट गरौंला
खुल्दै जाउन चेतनाका स्वयम्भू आँखा
आशीर्वचन मात्र ग्रहण गरौला
चुलिँदै जाओस् मित्रता र सद्भावको सगरमाथा
फैलँदै जाओस् असल संस्कारको अनुपम गाथा।
जडीबुटीमा सिर्जना भएको तेश्रो कविता हो– गाउँघरलाई सम्झँदा। कविको मन वायुवेगले पुख्र्यौली गाउँ पुग्छ र स्मृतिको चक्का घुमाउन थाल्छ। जे जे घटना सामुन्नेमा आउँछन् तिनलाई शब्दमा उतार्ने कविबाट प्रयत्न हुन्छ र कविताले स्वरूप ग्रहण गर्दछ।
कवि दिनेश थपलियाका तीन कविता मेरो प्यारो संखुवासभा, खाँदबारी र यस कविताले दिएको सन्देश एउटै छ। त्यो भनेको कविमा जन्मथलो, परिवार, समाज, सम्बन्ध, विद्यालय, गुरुवर्ग, सहपाठी, साथी, बनपाखा, प्रकृति, संस्कृति, संंस्कार, चाडवाड, रितिथिति आदि प्रति औधि आस्था र प्रेम छ। यिनैको आशीर्वाद र ऊर्जाले आफ्नो जीवन पल्लवित र पुष्पित भएको अनुभूति छ। यसरी घरिघरि कविको मन वर्तमान बसाइबाट अलिपर रहेको पुर्ख्यौली गाउ दौडन्छ। यसरी दोडेर पोखिएको मन हो प्रस्तुत कविता। कविको पुर्ख्यौली गाउँप्रतिको इच्छा तलका पंक्तिले जाहेर गरेका छन्–
मलाई
सफलताको मकालु चुम्नु छ
मनकामनाको महिमा फैलनु छ
रुद्राक्षको प्रतिष्ठा अग्लिनु छु
अरूणको पवित्रता सङ्लिनु छ 
जुनी जुनीसम्म पनि
त्यही गाउँमा जन्मिन्छु 
त्यही माटोमा हुर्किन्छु
त्यही आकाशमा फैलिन्छु
त्यही क्षितिजमा झुल्किन्छु
त्यही धरतीमा विलाउछु 
आफ्नै लयमा बगिरहेका
अरूण र सभाका बहावहरू सुनेर। 
जडीबुटीमा रचना गरिएको चौथो कविता हो– अँध्यारो रातको अवसान। यो कविता २०६३ वैशाखमा सिर्जना भएको हो। २०६२/६३ को संयुक्त आन्दोलनले नतिजा हासिल गरेको त्यो क्षणमा लेखिएको यो कवितामा राजनीतिक अभिप्राय छ। अँध्यारो रातलाई तत्कालीन राज्य व्यवस्थाको विम्बको रूपमा प्रयोग गरिएको स्पष्ट बुझ्न सकिन्छ। कविताका अन्तिम तीन पंक्तिले अँध्यारो रातको अवसान उप्रान्तको उज्यालोलाई दर्शाउने काम गरेका छन्। 
घामको सन्देश लिएर नया बिहानी ब्युँझेको छ
निरंकुश अँध्यारो रातको अन्त भएको छ 
अँध्यारो अराजकताको अवसान भएको छ
यो कविता कविले लेखको कवितात्मक राजनीतिक इतिहास हो। शिल्पकला भएकाहरूले कवितात्मक शैलीमा इतिहास लेख्न सक्छन् भन्ने अब्बल दृष्टान्त हो प्रस्तुत कविता।
अव काठमाडौं बाहिर रचना गरिएका कविताका उद्गमस्थलतर्फ लागौं। सातौं क्रममा आउँछ धुन्चे, रसुवा। कवि राष्ट्रसेवाको सिलासिलामा धुन्चे, रसुवा पुगेको र त्यहाको बसाईमा जम्मा ६ वटा कविता सिर्जना भएको देखिन्छ। यी कविताहरू २०४५ साउनदेखि २०४७ वैशाखको अवधिमा रचना गरिएका हुन्। यो समय कविको अविवाहित अवस्था, ओभरसियर पदको जिम्मेवारी तथा घरदेखि परको कार्यस्थलमा रहँदाको हो। 
धुन्चे, रसुवामा कविले रचना गरेको पहिलो कविता हो– वर्तमानसँग। यस कवितामा विगतका धेरै परिघटना वा दुर्घटनाको साक्षी बनेको पीडाबोधलाई प्रकट गरिएको छ। वर्तमानले पनि सम्हाल्न वा सान्त्वना दिन नसकेको यथार्थ तस्वीर कवितामा खिचिएको छ। वर्तमानको चरित्र र योगदान बदल्न कवि हृदयमा पैदा भएको आँट कस्तो छ ? तलका पंक्तिमा पढौं र यकिन बनौं वर्तमानले दिने प्रतिफल कस्तो हुनु पर्ला ?
बढ्दो अभाव र विपन्नताका विरुद्ध
मोर्चा कसेर उठनुपर्छ
असमानताको दुर्भेद्य पर्खाल भत्काउन
जुलुस बोकेर उठ्नुपर्छ
उन्मुक्तिको यात्रा
उज्यालो गन्तव्य नभेटी फर्किदैन 
वर्तमान
आफ्नो विकृतिहरूको चिता सल्काएर
नयाँ युगको निर्माणमा जुट्नुपर्छ।
धुन्चे रसुवाको सिर्जनाको दोस्रो नम्वरमा ओभरसियर कविता रहेको छ। कवि स्वयंको ओहदा र अनुभवको इमान्दार मूल्यांकन हो प्रस्तुत कविता। यस कवितामा ओभरसियरको प्रोटोकलको नालीवेली छ। सप्तरंगी सपना बोकेको ओभरसियरको सोच, विचार, संकल्प र कर्तव्यको फेहरिस्त छ। आफ्ना कर्मको नतिजाले कहिले उत्साहित भएको र कहिले उदासिन हुनु परेको ओभरसियरको कटु सत्यको वयान हो प्रस्तुत कविता। अनिच्छापूर्वकको आज्ञाकारिताले मन खिन्न भएको पीडा कवितामा छर्लंग देखिन्छ। पटक्कै चित्त बुझिरहेको छैन ओभरसियरको त्यो जागीर। अनुमान र यथार्थको फराकिलो खाडलका बीच कवि हृदयबाट उम्रेका हरप यस्ता छन्–
त्यसै वेला
मनको एउटा कुनामा 
धिपधिप बलिरहेको
निष्ठाको दियोको उज्यालोमा आउँछन् 
स्कूले जीवनका गुलावी यादहरू
क्याम्पस पढ्दाका इन्द्रेणी कल्पनाहरू
अन्तर्मनको आँखीझ्यालबाट चिहाउँदै
समवेत स्वरमा भन्छन्–
त हारे पनि ओभरसियर
त जिते पनि ओभरसियर।
धुन्चेमा रचिएको तेश्रो कविता हो – बन्द कोठाभित्र। यो कवितालाई कविको स्वतन्त्ररूपले विचरण गर्ने चहनाको द्योतकको रूपमा अथ्र्याउन सकिन्छ। जुन समयमा कविता रचना भएको छ त्यो बेलाको राजनीतिक परिवेश विचार अभिव्यक्तिका हिसावले सकसपूर्ण थियो। नागरिक स्वतन्त्रता देखावटी मात्र थियो। सायद यही परिवेशलाई विम्ब बनाएर कविले कवितामार्फत् उकुसमुकुुस जाहेर गरेको हो भन्न सकिन्छ। कविता प्रतिकात्मक त छ नै, आत्मपरक जस्तो पनि लाग्छ। कविताले बिट मार्दाका हरपहरू यस्ता छन्–
कतै म
आफूभित्रको अस्तित्वलाई सम्मान गर्न नसकेर
आफैसँग पराजित भएँ कि ?
आफूभित्रको आफैलाई सुरक्षित गर्न नजानेर
आफ्नै लाचारीमा फसे कि ?
यो बन्द कोठाको परिवेश
जीवनको पर्याय भएर उभिन खोज्छ
जीवनको क्रम भएर गाँसिन खोज्छ।
धुन्चैमै रचना गरिएको चौथो कविताको शीर्षक रहेको छ – गाउँको यथार्थ। प्रकृतिको काखमा अवस्थित गाउँबस्ती र तीनमा स्वचालित प्रणाली र प्राणी बीचको तादात्म्यतामा जीवन जीउने कलाको सुन्दर चित्र कोरिएको छ यस कवितामा। गाउँको सुन्दरतामा पछिल्लो समय ग्रहण लाग्दै गएका घटनाको बारेमा सुनेका तथ्यहरू एकएक गरेर औंल्याइएको छ यस कवितामा। 
कविताको पहिलो खण्डमा गाउँको सभ्यता र समृद्धिका कुरा तथा दोश्रो खण्डमा समयान्तरमा गाउँमा भित्रिएका थरिथरिका समस्याको नालीवेली छ। तेश्रो खण्डमा के छ भन्ने कुरा तलका पंक्तिबाट जान्न सकिन्छ – 
म 
सहरमा बसेर सुन्दै छु
मेरो प्यारो गाउँको कथा
मेरो प्यारी बस्तीको व्यथा
के साँच्चि नै 
विकृत भयो मेरो सभ्यताको प्रदीप्त इतिहास
म हृदयको करुण कहानी लेखिरहेछु 
खै के गौरव गर्नु अव सुन्दरतामा
निस्तब्ध आकाशमुनि
मस्त निद्रामा सुतिरहेको छ मेरो गाउँ
आमाको निर्बस्त्र शरीर ढाक्न कहिले ब्युँझिने हो ?
म वेदनाको मधुर पीडा बोलिरहेको छु
खै के सन्तोष गर्नु जीवन प्रभातको सुनौलो बिपनीमा
प्रतिबन्धित सपनासँगै
अगेनाको डिलमा बसेर दन्त्यकथा हाल्नमै व्यस्त छ मेरो गाउँ
बाबुको बलियो इच्छा पूरा गर्न कहिले जुर्मुराउने हो ?
धुन्चे, रसुवामा रचना भएको पाँचौ कविता हो– बदली रातपछि। यो कविता पढ्न सुरु गर्दा नितान्त प्रकृति प्रेममा समर्पित भएर लेखिएको जस्तो भान हुन्छ। शब्द संयोजन र सार सम्प्रेषण प्राकृतिक प्रणालीमा आधारित जस्तो लाग्छ। तर कविता अध्ययनको क्रम अघि बढाउँदै जादा देहायका पंक्तिहरू आँखा सामुन्ने आउँछन्, तब यकिन हुन्छ यो त २०४६/४७ को परिवर्तनको बिहानीलाई कविले कवितामा उतारेको परिदृष्य पो रहेछ।
बदली रातपछि
नयाँ बिहानीसँगै
एउटा अवसर ब्युँझेको छ 
अब
यथास्थितिको मियो समातेर हैन
परिवर्तनको दियो बालेर हिँड्नुपर्छ
भावनामा डुवेर हैन
सम्भावना खोजेर भिड्नुपर्छ
सिद्धान्त र दर्शनको रटान लगाएर हैन
परिश्रम र पौरखमा रमाएर संसार बदल्नुपर्छ 
राजनीतिक चेत भएका व्यक्तिमा कर्तव्य निर्वाहको अठोट पनि देखिनु पर्दछ। यसमा कविको दृढसंकल्प देहायका पंक्तिले उजागर गरेका छन्– 

इतिहास सम्झेर वर्तमानलाई डोर्‍याउन चाहन्छु
फेरि एकपटक
धर्ती जोत राजर्षि जनक
सीताहरू भेटाउनु पर्छ
यज्ञ गर राजा दशरथ
राम–लक्ष्मण पाउनु पर्छ
गर्भधारण गर मायादेवी
बुद्धहरू जन्माउनुपर्छ
२०४७ वैशाखमा रचित यस कविताको प्रस्थानमा प्रकृतिलाई विम्बको रूपमा प्रयोग गरिएको भएता पनि समापनमा राज्य प्रणालीको अनुहार र आचरणमा आभा र अनुशासन भरेर समृद्धि हाँसिल गर्ने अठोट र अभिलाषा प्रकट गरिएबाट कविता सारगर्भित बन्न पुगेको छ। कवि स्वयंको अठोट प्रकट हुनुले कवितामा सुनमा सुगन्ध थपिएको महसुस हुन्छ।
धुन्चे, रसुवामा रचना भएको छैठौ कविता हो– हामी आइरहेछौं। यो कविता लेखनको मितिमा नजर नपर्दासम्म कविता अमूर्त लाग्छ। तर जब रचना मितिमा नजर पर्छ अनि यकिन हुन्छ यो कविता त बदली रातपछि कविताको परिपूरक रहेछ।
जनताको बर्कतले गरेका राजनीतिक परिवर्तनलाई कसैले कमजोर पार्ने हर्कत नगरोस् भनेर नागरिक हाँकको रूपमा प्रस्तुत कविता देखापरेको छ। तत्कालीन परिस्थितिको बीज कविको हृदयमा बास गरेको र त्यही बीजले शरीर धारण गरेर कविको मनको गर्भबाट यो कविता पैदा भएको भन्न सकिन्छ। कविताका पुछारका सात पंक्तिले कविताको शीर्षकको सारलाई शान्त र सभ्य तवरमा सम्प्रेषण गरेका छन्। 
मोर्चामा उभिएका योद्धाका आँटिला पदचाप पछ्याउँदै
गाउँबस्तकिा कुनाकाप्चा चाहार्दै
सहरबजारका गल्लीगल्छेडा हेर्दै
विद्रोहको भाषा सुनाएर
विजयगाथा गुनगुनाएर 
आइरहेछौं हामी श्रद्धाका फूलहरू सँगालेर
आइरहेछौं हामी शुभकामना अँगालेर 
अब धुन्चेबाट कविको रचनास्थल पत्थरी, मोरङतर्फ सर्छ। पत्थरी, मोरङ सिर्जना यात्राको आठौं स्थान हो। यहाँबाट कविले २०५० वैशाखमा एउटा मात्र कविता रचना गर्नु भएको छ। कविताको शीर्षक हो– सुहागरात।
प्रणयसूत्रमा बाँधिएका नवजोडीको पहिलो रात नै सुहागरात हो। कविका शब्दमा सुहागरातको परिभाषा यस प्रकार अभिव्यक्त भएको छ–
दाम्पत्य जीवनको पहिलो पाइला
र, बिस्तारै लम्किन्छ सुखद गन्तव्य यात्रा
विश्वासको इँटा थपेर
भरोसाको शृंखला जोडेर
सुरु भएको यो पिरतीको पाइला
हरेक पल प्रेमोत्सव
हरेक दिन प्रेमदिवस
जीवनभन्दा माया अमूल्य हुन्छ भनेर 
उदात्तताका साथ समर्पित
पूर्णचन्द्रले स्वागत गरेको 
रोमाञ्चक र मिठासपूर्ण रात
कसरी वयान गरुँ म 
रंगीन सुहागरात।
शब्दाभुषणले सिँगारेर रंगीन, स्वप्नमयी र इन्द्रेणी शब्दको विशेषणसहित अनेक शब्दावलीमा सुहागरातको परिभाषा दिइएको छ। परिभाषामा रूप, यौवन र सौन्दर्य प्रशाधनले धपक्कै बलेका नवजोडीको प्रेमालापको वर्णण गरिएको छ। यो कविता ‘एडल्ट’का लागि बोधगम्य छ। ‘ब्याचलर’ कविता पढेर जिज्ञासु बन्छन्। कवि पारदर्शी स्वभावका भएकाले कतै कविले आफ्नै जीवनको त्यो क्षणलाई कवितामा अभिलेखीकरण गरेको हो कि भनेर अनुमान गर्न सकिन्छ।
कविले कविता जन्माएको नवौं स्थान पर्वत जिल्लाको सदरमुकाम कुश्मा हो। कवि दिनेश थपलिया निजामती सेवामा भएको र स्थानान्तरण भइरहने क्रममा कुश्मा पुगेका बखत मान्छे मान्छे नै हुन्छ शीर्षकको कविताको जन्म भएको हो। कविताको जन्म २०५१ जेठ उल्लेख छ।
मान्छे मान्छे नै हुन्छ कविता मानवतावादी छ। मानिस जन्म, बृद्धि, परिपक्व र मृत्युको चक्रमा प्रकृतिले कतै कहिल्यै विभेद गर्दैन भन्ने सत्य कविताबाट पुनर्पुष्टि गरिएकोछ। सुन्छु, हेर्छु, सोच्छु, सम्झन्छु, खोज्छु, फेरी सम्झन्छुको उपशीर्षकबाट बनेका कविताका प्रत्येक खण्ड पढ्दा तार्किक आधारमा मानव जीवनबारेका उपयोगी अन्तर्दृष्टि लिपिबद्ध भएको पाइन्छ।
मान्छे मान्छेका बीचमा गहिरिँदै गएको विभेदको खाडलले कविलाई विक्षिप्त बनाएको र त्यसैको अभिव्यक्ति स्वरूप यो कविता प्रकट भएको कविता पढ्दा महसुस हुन्छ। 
कवितामा कविको समानता प्रतिकोे दृढभाव दरिलो गरी प्रकट भएको छ। कविताको समापन खण्डमा कविले गरेको उद्घोष यस प्रकार छ– 
म भन्छु
जहिले पनि
जहाँ पनि
मान्छे मान्छे नै थियो
मान्छे मान्छै नै हुन्छ
मान्छे मान्छे नै रहिन्छ 
राष्ट्रसेवाको सिलसिलामा वीरगन्ज पुग्ने अवसर कवि दिनेश थपलियालाई प्राप्त भयो। सिर्जनाका दृष्टिले यो दसौं स्थान हो। यहाँबाट एउटा कविताको सिर्जना भएको दखिन्छ। सिर्जित कविताको शीर्षक रहेको छ– साथीलाई चिठी। यो कविता पढ्दा विदेशमा बस्ने साथीले पठाएको चिठीको प्रत्युत्तरको रूपमा यसको सिर्जना भएको प्रतित हुन्छ। विदेशमा बस्ने साथीले लेखेको पत्रमा सायद देशको खबर पठाउन आग्रह गरेका हुन्छन्। यता जवाफ पठाउने साथीले मन फुकाएर लेख्ने विचार गर्छन् तर देशको विद्यमान परिस्थितिले खुम्चिन बाध्य बनाउँछ। यसरी उठान भएको कवितामा प्रत्युत्तर पठाउन खुम्चिनुको कारण यसरी बताइएको छ–
मन फुकाएर लेख्ने विचार थियो 
तर देशको आयतन खुम्चिन खोज्दा
मन फुकाउन कहाँ सकिँदो रहेछ ?
देशको स्वाभिमान खण्डित हुन खोज्दा
मन एकीकृत गर्न कहाँ सकिँदो रहेछ ?
कविभित्रको राष्ट्रप्रेमको उच्च भाव यस कवितामा प्रकट भएको छ। कविले देशको मौजुदा अवस्थालाई अनेक कोणबाट सरल शब्दले सहीरूपमा औंल्याउन गरेको प्रयास प्रशंसनीय छ। कतै आक्रोसको राँको बालिएको छ भने कतै आश्वासनको उपहार बाँडिएको छ। कवितामा साथीलाई सम्झाएका कुरा यसरी व्यक्त भएका छन्–
हामीले चाह्यौं भने
अझै पनि नयाँ युग कोरल्न सक्छौं
मलाई त
चौतारीमा बसेर राष्ट्रियताको सुस्केरा हैन
सिमानामा उभिएर स्वाधीन स्वास फेर्नु छ
दशगजामा टेकेर उन्मुक्त हाँसो हाँस्नु छ
त्यसपछि म तिमीसँग
देशभक्तिका कुरा गरौंला
स्वाधिनताका प्रसंगहरू जोडौंला
राज्यको अक्षुण्णता र अखण्डतालाई जतनसाथ राखेर
फेरी अर्को पत्र लेखौंला
विश्वास गर मेरो आँखाको सत्यलाई
सम्मान गर मेरो मनको दृढतालाई
समय घर्किदैमा सत्य मर्दैन
छिमेकीले भन्दैमा सिमाना सर्दैन।
सिमाना सहरको बसाईमा देखिएका दृष्य वा व्यहोरिएका घटनाले कविमा राष्ट्रभक्तिको भावना जागृत भएको र त्यसैको अभिव्यक्तिको रूपमा प्रस्तुत कविता सिर्जना भएको अनुमान गर्न सकिन्छ। कविता राष्ट्रप्रेमको सुवासले मगमग छ।
वीरगन्जबाट कविको स्थानान्तरण जाजरकोट हुन्छ। जिम्मेवारीको क्षेत्र पनि परिवर्तन भएको हुन्छ। विकास प्रशासक अब सुरक्षा अधिकारी बन्ने स्थिति बन्छ। यो २०५४ सालतिरको सन्दर्भ हो। त्यो बेला मध्य पहाडी क्षेत्रमा माओवादी सशस्त्र द्वन्द्व चर्किदै गएको हुन्छ। यसले जिल्लाको प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा प्रबन्धमा गम्भीर चुनौती दिएको सहजै अनुमान गर्न सकिन्छ। यही कठिन कालखण्डमा जाजरकोटबाट कविले दुई कविताको सिर्जना गर्नु भएको छ। जाजरकोट सिर्जना यात्राको एघारौं स्थान हो। 
जाजरकोटको सदरमुकाम खलंगामा सिर्जना भएको पहिलो कविताको शीर्षक छ– हतियार बोकेको मान्छे। यो कविता पढ्दा आङ सिरिङ हुन्छ। कविताका प्रत्येक शब्दले हतियार बोक्ने मान्छेलाई विचार शून्य, विवेकहिन, हिंस्रक आदिको संज्ञा दिन्छ। कविताको खण्ड तीनमा रहेका देहायका हरप पढौं त कस्तो छ कविको सल्लाह–
हतियार बोकेको मान्छेसँग 
कहिल्यै विश्वास नगर्नू
हतियार बोकेको मान्छे 
हतियारभन्दा भयानक हुन्छ। 
कविताको प्रत्येक हरपमा शब्दका गोली फुत्त फुत्त निस्केका छन् र हतियार बोकेको मान्छे तारो बनेको छ। शब्दका गोलीमा अपनत्व र अमरत्व, अस्तित्व र आदर्श, आस्था र विश्वासका रसायनहरू मिसाइएको च्यवनप्रास छ। यसबाट हतियारमा सर्वस्व देख्ने मानिसलाई शास्त्रका सामू शस्त्रको जोर चल्दैन भन्ने ब्रम्हचेत खुलो्स भन्ने कविको अपेक्षा रहेको प्रस्टरूपमा बुझिन्छ। 
कविले कविता भित्रैबाट मानव विजयको उत्सव मनाउन गरेको आह्वान पनि उत्तिकै दमदार छ। पढौं त कविताका अन्तिम हरपहरू जो बहुतै सहासी लाग्छन्–
भर्खरै मैले
एकजोर सेता परेवा उडाएर आएको छु
तिमी हतियार फ्याँकेर
अभिशप्त मनलाई बलि चढाऊ
शान्तिलाई सलामी टक््रयाऊ 
आऊ सँगै 
मानव विजयको उत्सव मनाऊँ
अब
युद्धको काखमा गिद्ध बस्नु हुँदैन 
मान्छेको आँखाले युद्ध हेर्नु हुँदैन
जाजरकोट खलंगामै कविले रचना गरेको दोश्रो कविता हो– समय र मान्छे। समयको चरित्रलाई विहङ्गम रूपमा अथ्र्याइएको छ यस कवितामा। कविले प्रयोग गरेका शब्दावली ‘मिनिङफूल’ र ‘फिलिङफूल’ छन्। ‘समयले चिन्दैन मान्छेलाई मान्छेले चिन्नु पर्छ समय’ लगायतका हरपहरू सारै उपयोगी छन्। देहायका कवितांशले कविको समयप्रतिको धारणा छर्लंग्याउँछ–
समय
भोगाइ हो, अनुभव हो
प्रतीक्षा हो, अपेक्षा हो
म प्रतीक्षा गर्छु नयाँ समयको
म अपेक्षा गर्छु नयाँ उत्साहको 
अब बाह्रौं स्थानको पालो। यसमा पर्छ इलाम। यहा रचित कविताको शीर्षक छ–क्यालेन्डर। यस कविताको सिर्जना समय २०५६ वैशाख रहेको छ। झ्वाट्ट सुन्दा मामुली लाग्ने विषयलाई गहन तरिकाले निफन्ने कविको क्षमता यस कवितामा प्रकट भएको छ। कविले क्यालेन्डरको नियतिको घोचक प्रस्तुतिका साथ कविता अघि बढाउनु भएको छ:
वर्ष, महिना, गते, वार र तिथि
काला, राता, निला, र पहेंला अक्षरहरू
बिफरग्रस्त अनुहारमा 
झुन्डिरहन्छ निरन्तर
फाँसीको सजाय पाएको अपराधि झैं क्यालेन्डर।
अनेक तर्कले सजाएर क्यालेन्डरलाई परिस्थितिको दर्दनाक विवरण, घटना, दुर्घटना र संवेदनाको मिसिल तथा वार्षिक मुचुल्काको ठेलीको रूपमा चिनाउन कविको कौशल उत्कृष्ट छ। क्यालेन्डरप्रति कविको उपेक्षाभावको हरपहरू पनि होसियारी साथ समेटिएका छन्। क्यालेन्डरलाई फगत साल फेरिएको जनाउने पानाभन्दा पनि वास्तविक मूल्यको खजाना तुल्याउन कविले केही शर्त अघि सार्नु भएको छ। जसलाई तलका पंक्तिले स्पष्ट पार्दछन् –
मेरो आग्रह
क्यालेन्डरका लेखक र निर्माताहरूलाई
मेरो बिन्ती 
क्यालेन्डरका प्रकाशक र वितरकहरूलाई
अबदेखि क्यालेन्डरमा
बर्ष, महिना, गते, बार र तिथि मात्र नराख
नयाँ वसन्त आगमनको मिति पनि राख
क्यालेन्डरमा 
विवाह, ब्रतबन्ध र जात्रापर्वका साइतहरू मात्र नराख
अहिंसा, शान्ति र सदाचारको उद्घोष र संकल्प पनि राख
अनि म 
मनको पानसमा खुसीको बत्ती बालेर
भित्ताको त्यही किलामा
शान्तिको क्यालेन्डर झुन्ड्याउँला
भित्ताको त्यही खाली ठाउँमा
नयाँ युगको नयाँ क्यालेन्डर राखौंला।
इलामबाट भरतपुर चितवन पुग्नु भएका कविले यहा रहदा दुई कविता सिर्जना गर्नुृ भएको छ। सिर्जना यात्राको यो तेह्रौं स्थान हो। यहा सिर्जना भएका दुई कविता मध्ये पहिलो हो– आमा, सन्तान र सम्झना। यस कविताले आमाको दैनिकीको विस्तृत तालिका समेटेको छ। आमालाई सदा सन्तानका खातिर समर्पित साक्षात् देवीको स्वरूपमा मर्यादा दिइएको छ। आमाले व्यहोर्नु पर्ने तमाम किसिमका प्रतिकुलताको विवेचना पनि गरिएको छ। आमाका परिश्रम र पसिनाको कदर नभएको यथार्थ पनि कविताले बोलेको छ। 
आमाको काखमा मिलेको वात्सल्य, आमाले सिकाएको पाठ, आमाको अनुहारमा छाइरहने सहनशीलताको अभेद्य शक्तिको सचेत साक्षी बनेर पनि होला कविको हृदय द्रविभूत भएर प्रस्तुत कविता पैदा भएको छ। कविताका हरेक हरप ओजिला छन्:
ढिलै भए पनि आमा
तिम्रो हृदयको गहिराइमा शान्तिको आभास दिनु छ
तिम्रो मनको आकाशमा उन्मुक्तिको निःश्वास छोड्नु छ
भन त आमा !
तिम्रो रित्तो पोल्टामा खुसीको भारी कहिले खन्याउँ ?
तिम्रो दुःखको संसारमा सुखको प्रवेश कहिले गराउँ ?
अब भरतपुरमा रचना गरिएको दोश्रो कवितातर्फ लागौं। कविताको शीर्षक छ– मृत्युलाई सलाम। यो कवितामा कविले धारिला शब्दले मृत्युको अर्थ बुझाउनु भएको छ। मृत्युको स्वभाव र चरित्रको सांगोपांगो बयान गरिएको छ। मृत्यु निश्चित छ भन्ने जान्दाजान्दै पनि मानिस किन संवेदनाहीन हुँदै छ, किन पहिचान गुमाउँदै छ जस्ता प्रश्नको कसीबाट मानिस र मृत्युको साइनोको महिमा बताउन कवि सारै सिपालु गरी प्रस्तुत हुनु भएको छ। 
जीवनको बहुआयाममा आलोक भर्न मानिस चुकिरहेका प्रति चिन्तित रहँदै मृत्युलाई अन्य उपनाम दिएर सम्बोधन गर्न थालिएको प्रति कविको चित्त बुझ्दैन। कवितामा भावना छ, यथार्थ पनि छ। 
तर मृत्युलाई सलाम शीर्षक राखेर कविले त्यस्को कारण बताउन वा औचित्य सावित गर्न नसकेकोमा कविता अपूर्ण जस्तो लाग्छ। 
कविता सिर्जनाको चौधौं स्थान हो – विराटनगर। यहाँ कविले एउटामात्र कविता सिर्जना गर्नु भएको छ। सो एकमात्र कविताको शीर्षक रहेको छ– बुढो घर।
कवितालाई सतहमा कुनै कालखण्डमा निर्मित सारै जीर्ण घरको रूपमा बुझ्न सकिन्छ र यसको अनगिन्ती जोखिम पक्षबारे यकिन हुन सकिन्छ। तर कविले आफ्नो सिर्जनात्मक मन फगत बुढो घरलाई शब्दचित्रमा उतार्नमा मात्र सीमित गरे जस्तो लाग्दैन। त्यसैले अन्तर्यमा के छ भनेर घोत्लिन बाध्य भइन्छ। कविता लामो छ। अन्तर्यमा देश देखिन्छ। व्यवस्था भेटिन्छ। बुढौतीका ठाडा तेर्छा ‘रिंकल’ देखिन्छन्। अतः कविता विम्बात्मक छ। भावनात्मक छ। 
कविका अन्तिम खण्डका हरपहरू पढ्दा लाग्छ, हाम्रो चिन्तन प्रणाली नै बुढो भएको छ:
त्यसैले अब
उठ साहसी मनहरू
जुट पौरखी हातहरू
पुरानो नभत्काई नयाँ बन्दैन
भत्काएर यो जराजीर्णलाई
अर्को छुट्टै सुरक्षित घरको जग खन्नुपर्छ
र बिस्तारै बिस्तारै
तला थपेर
त्यसलाई पूर्णता दिनु पर्छ
यस कविताका अन्तिम लाइनहरू कवि स्वयंको संकल्पको रूपमा अभिव्यक्त छन्। 
मलाई नयाँ घरको निर्माण पूरा गर्ने हतार छ 
नयाँ घरको ढोका उघार्ने रहर छ 
म त्यही घरको बुइँगलमा बसेर
मेरो अभिशप्त कलमले 
अग्रगमनको इतिहास लेख्न चाहन्छु
मेरो उन्मुक्त आवाजले 
स्वतन्त्रताको गीत गाउन चाहन्छु
हामी सबै 
नयाँ घरको आँगनमा बसेर
मुक्तियात्राको अखण्ड धुनी बालौंला
पिँढीमा बसेर
सुखद भविष्यको योजना थालौंला।
यस समीक्षाको अन्तिम लहरमा कविले विदेश भ्रमणमा रहँदा टुरमुकाममा सिर्जना गरेको कविताको पालो परेको छ। श्रीलंकाको कोलम्बो सिर्जना यात्राको पन्ध्रौ स्थान हो। यहा रचित कविताको शीर्षक छ– मैले श्रीलङ्का देखें। २०५७ जेठमा यस्को सिर्जना भएको दखिन्छ। पहिला स्वदेश भित्रका सिर्जनाको पालो राखेर त्यसपछि विदेशमा गरिएको सिर्जनाको बारेमा समीक्षा प्रस्तुत गर्ने योजनाका साथ अघि बढेकाले प्रस्तुत कविताले समीक्षालाई पूर्ण गर्ने अवसर प्राप्त गरेको छ। 
रामायणमा सुनेको वा पढेको सुवर्णनगरी लंका आधुनिक कालमा श्रीलंका नामबाट परिचित देशमा कवि पुगेर देखेको दृष्यलाई सिर्जनात्मक उत्तेजनाको अनुभूतिका साथ वर्णण गरिएको छ। श्रीलंकाको भूबनोट, अवस्थिति, प्रकृति, संस्कृति, सम्पदा, समाज, सुविधा, सुन्दरताका पक्षको तस्वीर कवितामा राम्रोसँग उतारिएको छ। 
श्रीलंकनहरूमा स्वतन्त्रताको नाममा स्वछन्दता बढेको पक्षमा पनि कविको कलम चलेको छ। आफ्नै घरभित्र शरणार्थी बन्दै गएका अनाथहरू, अनुहारमा कान्ति हराएका जमातहरू, गरिबीको चङ्गुलबाट उन्मुक्ति खोजिरहेका हातहरू र सम्पन्नताको मात चढेका उत्ताउला रंगीन रातहरू देखेका कुरालाई जस्ताको तस्तै कवितामा उतारिएको छ।
आन्तरिक द्वन्दको लामो शृंखलाबाट गुज्रीरहेको त्यस बखतको श्रीलंकाको आँखौदेखा हाल उतार्न सक्नु कवि दिनेश थपलियाको सीप अरूका लागि पनि अनुकरणीय छ। कविताको आरम्भ खण्ड सकारात्मक छ भने उप्रान्तका खण्डहरू नकारात्मक लाग्छन्। कविले कामनाका केही शब्दहरू जोडेर कविता टुंग्याएको भए कविता झन गहकिलो हुन्थो भन्ने लाग्छ।
‘म गाउँ फर्किन्छु’ (कविता संग्रह)को समीक्षाको बिट मार्दै गर्दा स्वदेशका चौध ठाउँ र विदेशको एक ठाउँ गरी जम्मा पन्ध्र ठाउँबाट सिर्जना गरिएका तेत्तीस कविताको अध्ययनका आधारमा म के भन्न सक्छु भने कवि दिनेश थपलिया समय र परिस्थितिको नाडी छामेर वा कल्पनाशील भएर विषय टिप्न र ओजनदार शब्दले आकर्षक स्वरूप दिन सिपालु हुनुहुन्छ। उहाँको प्रस्तुत कविता संग्रह सबै उमेर समूह र पेशाधर्मीका लागि रसिलो साहित्यिक खुराकको रूपमा प्रकट भएको छ। यो पढ्दा अरू पढ्ने रहर जाग्छ। यस अवसरमा २०६३ उप्रान्तका कविका सिर्जनाहरू पनि यथासम्भव छिटो पुस्तकाकारमा सार्वजनिक होउन् भनी प्रिय कविलाई शुभकामना दिन चाहन्छु। व्यक्तिगत तवरमा एक निर्भिक, सिपालु र सफल प्रशासकको रूपमा संगत गरेका व्यक्ति साहित्यिक विधामा समेत अब्बल भएको पाउँदा म समीक्षकलाई रोमाञ्चक खुसी मिलेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.