झोलुंगे पुलबाट सामग्री तारेरै आम्दानी
हुम्ला : कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ च्वाखोलाको कर्णाली नदीमा पक्की पुल निर्माण नहुँदा नागरिकहरूले सास्ती खेप्नु परेको छ। नेपाली सेनाले छारे सुनाखाडा लालिबगरको कडा चट्टानी भागको ट्याक खोलेसँगै खार्पुनाथ गाउँपालिकाको खार्पु दोभानसम्म ट्याक्टर टिपरहरूले आउजाउ गर्न थालेका हुन्।
तर, खार्पु र च्वाखोला नदीमा पुल पक्की पुल निर्माण नहुँदा नेपालगञ्ज,सुर्खेतबाट ल्याइएका दैनिक उपभोग्य वस्तुहरू झोलुंगे पुलबाट बोकेर तार्नुपर्ने बाध्यता रहेको छ।
सुर्खेत नेपालगञ्जबाट दैनिक १५/१६ वटा ट्रकहरू आउजाउ गर्न गरेको खार्पुनाथ गाउँपालिका-४ छिप्रा गाउँका हिरु दमाईले जानकारी दिए। छिप्रा नल्ला, माझा, याङ्चु,खर्पेल गाउँ आसपासका महिलाहरूले झोलुंगे पुलबाट ओसारपसार गर्ने गरेको दमाईले बताए।
यही समस्यालाई केहीले अवसरका रूपमा पनि लिएका छन्। सामान पुल तार्ने काम पाउँदा यहाँका महिलाहरूको दैनिक आम्दानी समेत राम्रो हुँदै गएको उनले बताए। पुल तारेपछि सदरमुकाम तर्फबाट ट्याक्टरहरूले सामान बोकेर सदरमुकाम सिमकोट पुर्याउने गरेका छन्।
दिनभर झोलुंगे पुलबाट सामान तारेपछि दिनमा १ हजारदेखि २ हजारसम्म आम्दानी हुने गरेको खार्पुनाथ गाउँपालिका ५ कर्ण कामीले बताए। ‘पुल भन्दा पारी गाडीले सामान ल्याएर छोड्छन्। दिनभर बोकेर तारी दिएपछि साहुले १/२ हजार दिन्छन् घरमा नुनतेल खर्च हुन्छ,’ कामीले भने। नदी पारी नेपालगन्जबाट गाडी आयो नदीमा पुल छैन सामान झारेर गाडी फर्किने कामीले बताए।