सुनिल र मनिसको जोडीले जिते प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि
खाँदबारी : सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सम्पन्न कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि शुनिल कार्की र मनिस खड्काले जितेका छन्। जिल्ला ब्याडमिन्टन संघ सङ्खुवासभाको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा भारतसहितका ९२ जोडिको सहभागिता रहेको थियो।
असार ६ गते देखि भएको प्रदेश स्तरीय पुरुष डबल ब्याडमिन्टन तर्फको उपाधि सङ्खुवासभाका कार्की र मोरङका खड्काको जोडीले हात पारेको हो। खाँदबारी नगरपालिका –१ घिमिरे गाउँ स्थित सोमनाथ घिमिरे मेमोरियल इन्डोर स्टेडियममा भएको फाइनल खेलमा सुनिल र मनिसको जोडीले भोजपुरका निश्चल खत्री र संखुवासभाका प्रविन लिङ्थेपलाई सोझो सेटमा पराजित गर्दै जित हासिल गरेका छन्।
उपाधिसँगै कार्की र खड्काको जोडिले नगद ६० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेको छन्। उपविजेता निश्चल खत्री र प्रविन लिङ्थेपले नगद ३५ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसैगरी सेमिफाइनलिस्ट सङ्खुवासभाका प्रमिस श्रेष्ठ र झापाका प्रमिस सिंह ठकुरी तथा भोजपुरका विवेक श्रेष्ठको जोडीले नगद १०/१० हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
त्यस्तैगरी सय वर्ष माथिको भेट्रान्स तर्फ तर्फको प्रतियोगितामा विराटनगरका जिवन कुमार बोगटी र सुनसरीका श्रवन चौधरीको जोडी प्रथम भएको छ। पाँचथरका रामराज आङ्दामे र काठमाडौंका सञ्जय कपालीको जोडी उपविजेता भएको छ। विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाका साथमा मेडल र प्रमाणपत्र गरेका छन्। सेमिफाइनलिस्ट नेपालगञ्जका हरि खत्री र अनिल लाखे तथा काठमाडौंका इन्द्र महत र सुनसरीका देव तामाङको जोडी प्रति जोडि नगद सात हजार पाँच सय रुपैयाँ प्राप्त गरेका छन्।
जिल्ला स्तरीय सङ्खुवासभा स्तरीय वि डिभिजन पुरुष डवल तर्फ तुम्लिङटारका अनमोल बुर्जा र सफल श्रेष्ठ विजेता भएको छ। उपविजेता खाँदबारीका लेखनाथ श्रेष्ठ र नरेन्द्र तामाङ भएका छन्। त्यसैगरी मानेञ्याङका साहिद श्रेष्ठ र सन्दिपभगत श्रेष्ठ तथा खाँदबारीका सुमन गौतम र सविन तामाङको दुई जोडी तेस्रो भएको छ।
बी डिभिजन तर्फको विजेताले नगद २० हजार, उपविजेताले १० हजार र सेमिफाइनलिस्ट दुई जोडीले प्रति जोडि पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रतियोतिामा भारतको कोलकोत्ता, ग्यानटोक, सिक्किम, दार्जेलिङ सहित नेपालका ९२ टिमको सहभागिता रहेको ब्याडमिन्टन संघ संखुवासभाका अध्यक्ष श्रेष्ठले बताए।