मानव अधिकारमा न्याय

मानव अधिकारमा न्याय
सांकेतिक तस्बिर।

मानव भएको नाताले प्राप्त हुने प्राकृतिक, कानुनी अधिकारको एकीकृत नैसर्गिक अधिकार मानव अधिकार हो, जसले व्यक्तिलाई आत्मसम्मानका साथ बाँच्न सिकाउँछ। एक बच्चाले जन्मनासाथ खान पाउने, न्यानोमा बस्ने पाउने अधिकार लिएर आएको हुन्छ। हामीले मानव अधिकार नपाइकन आफ्नो कर्तव्य पूरा गर्न सक्दैनौं। अत: व्यक्तिको जीवन स्वतन्त्रता, समानता र मर्यादासँग सम्बन्धित अधिकार तथा अन्य कानुनद्वारा प्राप्त गरिएका अधिकार तथा नेपाल पक्ष भएको मानव अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि, सम्झौता मानव अधिकारअन्तर्गत पर्छन्। त्यसैले जीवनको स्वतन्त्रता र सुरक्षा नै मानव अधिकार हो।

मानव अधिकारले राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारको प्रयोग गरी सम्मानपूर्वक बाँच्न पाउने अधिकारलाई सुनिश्चितता दिन्छ। मानव अधिकार मानवको सर्वोच्च अधिकार हो। मानव अधिकार प्रत्येक मानिसलाई जाति, भाषा, लिंग, धर्म र राष्ट्रियता, सामाजिक र आर्थिक स्थिति, राष्ट्रिय सिमाना, उमेर र वर्गको भेदभावबिना प्राप्त हुने अधिकार हो। त्यसैले मानव अधिकारलाई विश्वव्यापी अविभाज्य र अपरिवर्तनीय मानिन्छ। दोस्रो विश्वयुद्धपछि अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार संरक्षणमा विभिन्न राष्ट्रले प्रतिबद्धता व्यक्त गरेका थिए।

मानव अधिकार घोषणापत्र सन् १९४८ लाई संयुक्त राष्ट्रसंघले मानव अधिकार संरक्षणको लागि अनुमोदन गरेको थियो। मानव अधिकारको संरक्षण गर्नु सबै संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य राष्ट्रहरूको अन्तर्राष्ट्रिय दायित्व हो। मानव अधिकार जन्मसिद्ध अधिकार भएको कारण यसको प्रवद्र्धन गर्ने प्रयास निकै लामो समयदेखि भएको मानिन्छ। मानव अधिकार संरक्षणका लागि भएका यी प्रयासहरूले मानव जीवनको लागि स्वतन्त्रता र सुरक्षा प्रदान गरेका छन्।

मानव अधिकार संरक्षणका लागि भएका प्रयासहरू जीवनको अधिकार, यातनाविरुद्धको अधिकार, स्वतन्त्रताको अधिकार, शिक्षाको अधिकार र सामाजिक सुरक्षाको अधिकार, काम गर्न पाउने अधिकार आदि प्राकृतिक अधिकारभित्र पर्छन् भने कानुनी अधिकारअन्तर्गत पर्ने विषयहरूले पनि मानव अधिकार संरक्षणका लागि उल्लेखनीय भूमिका खेलेका छन्। जसअन्तर्गत संयुक्त राष्ट्रसंघले अन्य अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी गरेका सन्धि, सम्झौताहरू नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र छन्।

यसैगरी, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, महिलाविरुद्ध हुने सबै प्रकारका विभेद उन्मूलनसम्बन्धी महासन्धी, यातना तथा अन्य क्रूर मानवीय वा अपमानजनक व्यवहार वा सजायविरुद्धको महासन्धि, बालबालिकाको अधिकारसम्बन्धी महासन्धि पर्छन्। आप्रवासी श्रमिक र तिनको परिवारको संरक्षणसम्बन्धी महासन्धि, अपांगता भएका व्यक्तिहरूको अधिकार, बलपूर्वक बेपत्ता पार्ने कार्यबाट सबै व्यक्तिको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि आदि सन्धि र सम्झौताहरू पनि भइसकेका छन्। उपर्युक्त महासन्धि र अभिसन्धिहरूले मानव अधिकारको स्वरूपमा निम्नबमोजिमको अधिकारलाई सम्बद्ध वर्गमा स्थापित गराउने प्रयास गरेको छ:     नागरिक तथा राजनीतिक अधिकार, आर्थिक तथा सामाजिक अधिकार र विकाससम्बन्धी अधिकार आदि।

मानव अधिकार प्राप्तिका लागि हाम्रो देशका जनताले पटकपटक आन्दोलन गरे। २००७, २०४६, २०६२/०६३ मा भएको आन्दोलन प्रजातन्त्र प्राप्तिका लागि भएका संघर्ष मानव अधिकारका लागि भएका हुन्। मानव अधिकारभित्र अन्य अधिकारहरू बाल अधिकार, श्रमिक अधिकार, महिला अधिकार आदि थुप्रै अधिकार पर्छन्। बालबालिकाले जन्मसिद्ध शिक्षा र सुरक्षाको अधिकार पाउनु पर्दछ। श्रमिकले न्यूनतम ज्याला र सामाजिक सुरक्षाको अधिकार पाउनु पर्दछ। एउटा व्यक्तिले अधिकार प्रयोग गर्दा अरू कति जनाको अधिकार हनन भयो भन्ने कुरा बुझ्नु जरुरी हुन्छ।

त्यसैले आफ्ना नागरिकको मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी सम्बन्धित राज्यको हुन्छ। नागरिकको मानव अधिकारको संरक्षण गर्ने जिम्मेवारी पूरा गर्न कुनै पनि राज्यले अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने हुन्छ। राज्यले मानव अधिकारको सम्मान गर्नु पर्दछ। नियम विपरीत मानव अधिकारको हस्तक्षेप गर्नु हुँदैन। आफ्नो क्षेत्राधिकार अन्तर्गत मानव अधिकारको संरक्षण गर्नु पर्दछ। मानव अधिकारको संरक्षणमा राज्य रक्षक हुनुपर्छ। कानुनी तथा संस्थागत संयन्त्र तयार गरी मानव अधिकारको संरक्षण गर्नुपर्छ। यदि राज्यले मानव अधिकारको दुरुपयोग गरेमा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्था र नागरिकले मानव अधिकार संरक्षण सम्बन्धी जिम्मेवारी वहन गर्नुपर्ने हुन्छ। गैरसरकारी संस्थाले मानव अधिकारको संरक्षण गर्न निम्न दायित्व पूरा गर्न सक्छन्।

  •      मानव अधिकारको अनुगमन र पैरवी गर्ने।
  •      नागरिकलाई शिक्षित पार्ने।
  •      अन्यायविरुद्ध सामूहिक जनमत तयार गर्ने।
  •      राज्यलाई खबरदारी गर्ने जस्ता पहरेदार कार्य गर्ने।

त्यसैगरी, अन्तर्राष्ट्रिय संस्थाहरूको भूमिकाअन्तर्गत नागरिक समाजले तयार गरेका अनुगमनका आधारमा प्रतिवेदन सुधारका बाटाहरू तयार पार्न सुझाव र सहयोग प्रदान गर्ने कार्य गर्दछ। मानव अधिकार उल्लंघन आरोपहरूको सोधपुछ अनुसन्धान गर्ने, पीडितको उजुरी उपर न्याय दिने काम गर्छ। मानव अधिकार हामी सबैका लागि हो। यसको उल्लंघन हुने अवस्थामा सबैले बोल्नै पर्छ। आफ्नो अधिकारको दाबी गर्नुपर्छ। व्यक्तिगत तहमा नागरिकको हैसियतले गर्न सक्ने मानव अधिकारसम्बन्धी कार्य अन्तर्गत निम्न कार्य पर्छन् :

  •      तथ्यहरूको खोजी गरी निष्कर्ष तथा जानकारी बाँड्ने।
  •      आफ्नो दैनिक जीवनमा आफूलाई गलत लागेका कुराको अडान लिने।
  •      आफ्नो टोलछिमेकमा मानव अधिकार संरक्षणमा भएका कार्यमा सहभागी हुने आदि कार्य।

मानव अधिकार हामी सबैका लागि हो। यसको संरक्षण र संवद्र्धनका लागि हामी सबै जुट्नु आवश्यक छ। राज्यले मानव अधिकारको सम्मान गर्नुपर्छ। मानव अधिकारको संरक्षणमा राज्य रक्षक हुनु पर्दछ। सरकारले नियम कानुनको पालना गराउने, शान्ति र सुव्यवस्था कायम राख्नेजस्ता संविधान र कानुनले निर्दिष्ट गरेका कुरा पनि मानव अधिकारभित्रै समेटिन्छन्। त्यसैले मानव जीवनको स्वतन्त्रता र सुरक्षा प्रदान गर्न राज्य तत्पर रहनुपर्छ। राज्यले देशमा मानव अधिकारको प्रत्याभूति गर्दै सुखी, खुसी, शान्त, समृद्ध र न्यायपूर्ण नेपाल निर्माण गर्न सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.