लोकेसन पत्ता लागिसक्यो भनेर अभियुक्त भगाउने नियत हो ? किन पक्राउ नगरेको ?
सहकारी ठगी प्रकरणमा कांग्रेसले भन्यो : फरार भएका व्यवसायिक साथी जीबीलाई गृहमन्त्रीले गिरफ्तार गर्न सक्नुहुन्न
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगीमा संलग्न जिबि राई किन पक्राउ नगरेको भन्दै गृहमन्त्रीमाथि प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै शर्माले प्रहरीले अनुसन्धान र खोजी गरिरहेका जीबी राईको लोकेसन पत्ता लागिसक्यो भनेर लामिछानेले चितवनमा पुगेर सार्वजनिक गरेको भन्दै गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।
उनले गोरखा मिडियाका तत्कालिन मालिकमध्ये एउटा फरार छ र अर्को मालिक गृहमन्त्री रवि लामिछाने भएकाले जोगाउन खोजिएको हो भन्दै सरकारलाई प्रश्न गरे। ‘सहकारी ठगीमा फरार भएको व्यवसायीक साथीलाई,सहकारी ठगीमै अनुसन्धानको दायरा रहेका गृहमन्त्रीले गिरफ्तार गर्न सक्नु हुन्न।’ शर्माले भने,‘जिबि राई मलेसियामा रहेको लोकेसन पत्ता लागिसकेको बताउनु भएको छ। त्यसैले लोकेसन पत्ता लागिसक्यो भनेर अभियुक्त भगाउने नियत हो ? पक्राउ गर्ने कि स्टन्ट बाजी हो ? ’
शर्माले नेपाललाई लोकेसन होइन,जिबि राई चाहिएको उल्लेख गरे। प्रतिपक्षमा रहँदा पक्राउ गर्ने यतिको दिन किन लाग्छ भनेर प्रश्न गर्ने गृहमन्त्रीले लोकेशन पत्ता लागिसक्दा पनि चार दिनसम्म पक्राउ किन नगरेको भन्दै शर्माले प्रश्न गरे।
उनले गृहमन्त्री लामिछानेमाथि नैतिकता नभएको उल्लेख गरे। उनले सूर्यदर्शन सहकारीका पीडित अदालतमा इजलासमा बहस सुन्न जाँदा प्रहरीले रोकेको भन्दै आपत्ति जनाए।