सांसदद्वारा मन्त्रीलाई प्रश्नै –प्रश्न

सांसदद्वारा मन्त्रीलाई प्रश्नै –प्रश्न
फाइल तस्बिर।

काठमाडौं : प्रतिनिधिसभा सदस्यहरूले सय दिनको अवधि पूरा गरेको गठबन्धन सरकारका मन्त्रीहरूलाई र्‍याखर्‍याख्ति पार्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले मन्त्रीहरूलाई व्यंग्य गर्दै प्रश्न गरे। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित रक्षामन्त्री हरिप्रसाद उप्रेती, भौतिक पूर्वाधारमन्त्री रघुबिर महासेठलगायतका मन्त्रीहरूलाई प्रश्न गरे। सभामुख देवराज घिमिरे बैठकको कारबाही सुरु भएको घोषणा गरेलगत्तै प्रमुख प्रतिप्रक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री लामिछानेमाथि खनिए। 

गृहमन्त्री लामिछानेले बिहीबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जीबी) राई मलेसियामा रहेको र नेपाल ल्याउन मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलसँग आफ्नो संवाद भइरहेको जानकारी दिएका थिए। ‘प्वाइन्ट टुबी नोटेड सभामुख महोदय,’ कांग्रेस महामन्त्रीसमेत रहेका सांसद शर्माले भने, ‘संसारलाई थाहा छ, गोरखा मिडिया नेटवर्कका दुई जना मालिकमध्ये एकजना फरार छन्। अर्को गृहमन्त्री हुनुहुन्छ। सहकारी ठगीमा फरार भएको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ। लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ? अभियुक्त पक्रिने यो नयाँ शैली हो ? केटाकेटीपन हो ? या भगाउने नियत हो ?’

सांसद शर्माले लोकेसन पत्ता लागिसक्यो भनेको चार दिनसम्म पनि किन पक्राउ नगरिएकोप्रति रोष व्यक्त गरे। ‘लोकेसन पत्ता लागिसकेको भनेको जीबी राईलाई के भगाउनलाई हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्ने ? कि सरकार चाँडै नै जीबी राईलाई हाजिर गराउँदै छ ? देशलाई जीबीको लोकेसन चाहिएको होइन। जीबी राई चाहिएको हो,’ उनले भने। सांसद शर्माले सूर्यदर्शन ठगी प्रकरणमा अनुसन्धान गरिरहेका प्रहरी अधिकृत सूर्यबहादुर राना मगरलाई कास्कीबाट महोत्तरी पुर्‍याइएको बताए। 

सांसद एवं सत्तारुढ नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले असार ७ गते पर्सा वन्यजन्तु आरक्षका कर्मचारीले चलाएको गोली लागेर सुकबहादुर तितुङको हत्या गरिएको प्रतिध्यानाकर्षण गराउँदै पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरे। ‘छातीमा गोली ठोक्ने जस्तो जघन्य अपराध भएको छ। गणतन्त्रमा नागरिकलाई दिनदहाडै गोली ठोकेर मार्ने जे परिस्थिति विकास भयो। दोषी सुरक्षाकर्मीलाई पहिचान गरी कारबाहीको तहमा अघि बढाउने र पीडितलाई क्षतिपूर्तिका लागि माग गर्छु,’ उनले भने, ‘आगामी दिनमा यस्ता घटना नहोऊन्।’ कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रप्रति चुरे संरक्षणका लागि सप्तरीबाट २० दिन हिँडेर काठमाडौंं आइपुगेका अभियन्ताहरू ३२ दिनदेखि माइती घरमा रहेको चर्चा गर्दै सरकारका प्रतिनिधि भेट्न नगएकोमा प्रश्न गरे। ‘भुइँमान्छेले यो गम्भीर विषय उठाएको छ, तर सिंहदरबारमा बसेको सरकारले त्यसलाई बेवास्ता गरेको छ,’ सांसद पौडेलले भने, ‘माइतीघरमा बसेर चुरे संरक्षणका निम्ति लडिरहेकाहरूको आवाज सरकारले सुनोस्।’

नेपाली कांग्रेसकी सांसद कुसुमदेवी थापाले भौतिक पूर्वाधारमन्त्री रघुबिर महासेठलाई नेपालको भू–भागका विषयमा अनभिज्ञता रहेको भन्दै भ्रमणका लागि निम्तो दिइन्। ‘भौतिक पूर्वाधार मन्त्रालयको रातो किताब हात प‍र्‍यो, मनमा एउटा गम्भीर प्रश्न उविजयो। यो देशको मन्त्रीलाई नेपालको भूगोल, त्यहाँँको अवस्थाका बारेमा यतिसम्म अनभिज्ञता पनि हुन सक्छ र ? देशको भू–भाग र अवस्थाबारे सामान्य जानकारीसमेत नहुने कस्तो मन्त्री देशले पाएछ ?’ उनको प्रश्न थियो।

कांग्रेस सांसद उमरावतीदेवी यादवले आफ्नो निर्वाचन क्षेत्रमा योजना नपारिदिएकामा मन्त्रीलाई धन्यवाद दिइन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘मेरो बारा क्षेत्र नम्बर २ मा एउटा पनि योजना नपारिदिने सबै माननीय मन्त्रीज्यूलाई धन्यवाद दिन चाहन्छु, मेरो बारा जिल्ला नेपालमा होइन ?’

डा. चन्दा कार्की भण्डारीले मुलुकमा हाल १५ सय ७ जना विशेषज्ञ नर्ससहित करिब १ लाख साढे २३ हजार नर्स रहेको जानकारी दिँदै भनिन्, ‘नर्सिङ सेवा स्वास्थ्य सेवाको मेरुदण्ड हो। मुस्कानकासाथ जनसेवा गर्ने नर्सहरूको मुस्कानभित्र दुःख र पीडा झल्किएको देखिन्छ। दरबन्दी, पारिश्रमिक र सुविधा न्यून छन्। कार्यस्थल असुरक्षित छ। योग्यताअनुसार दरबन्दी र जिम्मेवारी पाएका छैनन्। उच्च शिक्षा र तालिमको अवसर छैन। ४० प्रतिशतभन्दा बढी नर्स बेरोजगार छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.