चिन्ताले जलाएको चिता

चिन्ताले जलाएको चिता

चिन्ताको सागर यस्तो सागर हो जहाँ बगेका हरेक थोपा आँसुले आगोको ज्वाला ओकलिरहेका हुन्छन्। आगोको रापमा ऊ आफैं छटपटी रहन्छ। आँसुका थोपा झरिरहन्छन्, आगोको मुस्लोमा पेट्रोल खनाएझैं। ऊभित्रको आगोको ज्वाला दन्किरहन्छ।

यो संसारमा चिन्ता नभएको मान्छे पनि हुन्छ र ! वास्तवमा कुनै न कुनै कुराले मानिस चिन्तित भइरहेकै हुन्छ। कहिले अतीतलाई सम्झेर चिन्ता गर्छ। कहिले वर्तमान हुँदै भविष्यलाई लिएर चिन्ता लिइरहन्छ। चिन्ताका विषयहरू फरकफरक हुन सक्छन्। चिन्ता मानिसको पीडासँग जोडिएको हुन्छ। पीडाहरू व्यक्तिको चाहना र इच्छाहरूसँग जोडिएका हुन्छन्। मानिसको जन्मसँगै जीवनमा चिन्ताले पनि प्रवेश गरेको हुन्छ। तर यसको अर्थ जीवनभर चिन्तैचिन्ता हुन्छ भन्ने पनि होइन।

दिनपछि रात आउँछ त रातपछि दिन। मानौं यी दिन र रात लुकामारी खेलिरहन्छन्। सूर्य र चन्द्रमा एकै पटक एउटै दिशामा देखिँदैनन्। सूर्य दिनको प्रतीक हो भने चन्द्रमा रातको। यसैगरी मानिसको जीवनमा सुख र दुःख पनि एकआपसमा लुकामारी खेलिरहेका हुन्छन्। मानिससँग खुसी छ, उमंग छ, उत्साह छ भने दुःख, पीडा, पीर, चिन्ता पनि सँगै छ। जीवनमा आएका दुःख समयसँगै बढारिन्छन् ? सुख पनि मानिसले आफ्नो अधिनमा सधैं राखिरहन सक्दैन। दुःखले सुखलाई नष्ट गर्न सक्दैन तर दुःखले सुखको परिभाषा भने गरिरहेको हुन्छ। 

के हो त सुख र दुःख ! एउटाले अनुभव गरिरहेको सुख अर्काका लागि दुःख बनिदिनसक्छ त एउटाको दुःख अर्काेका लागि सुख पनि बनिदिनसक्छ। मानिससँग खुसी र हर्षसँगै दुःख, पीडा र चिन्ता पनि सँगसँगै बाँचिरहेका हुन्छन्। यी एउटै सिक्काका दुइवटा पाटा हुन्। खुसी र हर्षले मानिसको मानसिक अवस्थालाई मजबुत बनाउँछ भने दुःख, पीडा र चिन्ताले कमजोर बनाउँछ। दुःख, पीडा र चिन्ता मानसिक विकारहरू हुन्। हरेक दुःख, पीडा र चिन्ताका अवस्थाहरू फरकफरक हुन्छन्। मनस्थितिले परिस्थिति निर्माण गर्छ। परिस्थिति र मनस्थितिको उपज हो अनुभूति। अनुभूतिले सुख या दुःखका रस्वापान गराउँछ। 

मानिसको जीवन अनौठो छ। ऊ आफैंमा दुःखी र सुखी हुनुभन्दा अरूलाई माध्यम बनाएर सुखी या दुःखी बनिरहेको हुन्छ। कहिले अरूको सुखलाई देखेर दुःखी बन्छ त कहिले अरूको दुःखलाई देखेर पनि सुखी बन्छ। वास्तवमा मानिसले आफू सुखी हुन अरूको सुख खोस्न पर्दैन। खुट्टा तान्नेहरू खुट्टामुनि नै रहने हुन्। माथि रहन त हात तान्न पुग्नुपर्छ। हातमा तराजु बोकेर बाहिर सबैका सोच र विचारलाई तौलन सक्छ मानिस। तर आफैंभित्रको मनको शुद्धतालाई तौलन नसक्दा दुःख र पीडाका पहाडहरू बनाइरहेका हुन्छन्। आफ्नै मनलाई नियन्त्रण गर्न नसकिरहेको मानिस अरूलाई नियन्त्रण गर्ने सपना देख्छ। आफू अनुकूलको सपना तथा कल्पनामा रमाउन खोज्छ अनि डुब्छ चिन्ताको सागरमा। 

चिन्ताको सागर यस्तो सागर हो जहाँ बगेका हरेक थोपा आँसुले आगोको ज्वाला ओकलिरहेका हुन्छन्। आगोको रापमा ऊ आफैं छटपटी रहन्छ। आँसुका थोपा झरिरहन्छन्, आगोको मुस्लोमा पेट्रोल खनाएझैं। ऊभित्रको आगोको ज्वाला दन्किरहन्छ। दन्किरहेको आगोले आखिर बनाउने त खरानी नै हो। सपना अर्थात् लक्ष्य पूरा गर्न त मानिसले चिन्तालाई चुनौतीमा बदल्न सक्नुपर्छ। आफ्नो मनलाई रिसराग द्वेष, बदलेर ईष्र्याबाट मुक्त गरेर तनावरहित ढंगबाट अगाडि बढ्न सक्नुपर्छ। मानसिक विकारबाट मुक्त हुन आफ्नो मनलाई परिवर्तन गर्न सक्नुपर्छ। नकारात्मक सोचबाट टाढा रहने मानिसले मनलाई सजिलै नियन्त्रणमा लिन सक्छ। मनले सोच र सोचले लक्ष्यमा सुधार गर्दै मानिस चिन्ताको सागरबाट बाहिर निस्कन सक्छ।

मानिसको जीवनमा सकारात्मक सँगसँगै नकारात्मक इच्छाहरू पनि जन्मिरहेका हुन्छन्। आफ्ना इच्छाहरू पूरा नहुँदा मानिस कहिले आफैंसँगै त कहिले अरूसँग क्रोधित हुन पुग्छ। कहिले आफूलाई अरूसँग दाँजिरहेको हुन्छ। कहिले अरूको सफलतालाई आफ्नो हार सम्झन्छ। हरेक रहर तथा इच्छाहरूलाई आफ्नो आवश्यकता बनाउँछ। इच्छा र आवश्यकतालाई छुट्ट्याउन सक्दैन वा चाहँदैन। आवश्यकता र इच्छालाई एउटै बास्केटमा राख्छ। बिर्सन्छ कि सबै रहर तथा इच्छाहरू पूरा हुन सक्दैनन्। म को हुँ र मेरो आवश्यकता के हो ? भन्ने जान्न खोज्दैन। इच्छा पूरा हुने या गर्ने अपेक्षामा दौडिरहन्छ। जहाँ अपेक्षा हुन्छ त्यहाँ गुनासोले जन्म लिन्छ र जहाँ गुनासोले जन्म लिन्छ त्यहाँ चिन्ता पनि मौलाइरहेको हुन्छ। 

डा.वेन डब्लू डायर भन्छन्, ‘यो भौतिक संसारमा सामान्यतया तनाव, चिन्ता, डर र रिसजस्ता तŒवहरूको स्वतन्त्र अस्तित्व हँुदैन। न यिनीहरूको भौतिक अस्तित्व नै हुन्छ। संसारमा कुनै वास्तविक तनाव वा चिन्ता नै छैन। यो मानिसको विचारहरू हो जसले यी झुटा विश्वासहरूलाई सिर्जना गर्दछ।’ वास्तवमा मानिस सधैं नकारात्मक चिजहरूबाट नै डराइरहेको हुन्छ। राम्रोभन्दा नकारात्मक चिजहरूमा बढी ध्यान दिइरहेको हुन्छ। मस्तिष्कमा नकारात्मक सोचले प्रवेश पाउँदा मन भविष्यप्रति चिन्तित हुन थाल्छ।

पूर्वीय संस्कृतिमा मन्त्रहरूलाई धेरै महŒवपूर्ण शक्तिको रूपमा मानिन्छ। एउटै मन्त्रलाई हजारौं पटकसम्म पनि जप गर्ने गराउने प्रचलन छ। हरेक मन्त्रहरू सकारात्मक ऊर्जाले भरिएका हुन्छन्। जुन सकारात्मक ऊर्जालाई आफैंले बारम्बार भनिरहँदा दोहोर्‍याइरहँदा वा कसैलाई सुनाउँदा सुन्ने मानिसमा पनि सकारात्मक ऊर्जाले प्रवेश गर्छ। यसैगरी नकारात्मक ऊर्जाले भरिएको सोच बारम्बर आफूभित्र दोहोर्‍याइरहँदा पनि पूरै वातावरणमा नकारात्मक ऊर्जा सञ्चार हुन थाल्दछ। रिसराग बदला लोभ ईष्र्याजस्ता नकारात्मक जराहरू पनि पलाउन थाल्छन्। अनि खडा हुन्छ चिन्ताको रुख। 
मानिस चेतनशील प्राणी हो र चिन्ता हुन्छ नै। मानवीय जीवनमा चिन्ता हुनु स्वाभाविक पनि हो। तर, जब चिन्तालाई व्यवस्थापन गर्न सक्दैनौं, त्यसले हामीलाई मानसिक रोगी बनाउँछ। सही ढंगले व्यवस्थापन गर्दा सही नतिजा दिन सक्ने चिन्तालाई व्यवस्थापन गर्न नसक्दा चितासम्म पनि पुर्‍याउँछ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.