तुलसीपुर उपमहानगरपालिकाको २ अर्ब साढे ७ करोड बजेट
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि बजेट ल्याएको छ। सोमबार तुलसीपुर महानगरपालिकाकी उपप्रमुख सानी चौधरीले १५औं नगरसभा मार्फत आगामी आर्थिक वर्षको लागि २ अर्ब साढे ७ करोड बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
पालिकाका जनअपेक्षालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको उपप्रमुख चौधरीले बताइन। विकासमा लागत सहभागिता रोचक सहभागिता नगद तथा श्रमदानलाई प्राथमिकता दिएर आगामी आर्थिक वर्ष २०८१/ ८२ को बजेट ल्याइएको छ।
बजेट प्रस्तुत गर्दै उपप्रमुख चौधरीले आर्थिक वर्ष २०८१/८२ को कुल बजेट २ अर्ब ७ करोड ४९ लाख ६८ हजार ३५१ रुपैयाँ अनुमानित बजेट सभामा जानकारी गराएकी थिइन्।
बजेटको लक्ष्य अनुसारको आय आन्तरिक आम्दानी तर्फ ६१ करोड ५१ लाख ३६ हजार, संघीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २७ करोड ३६ लाख, सशर्त अनुदान ७४ करोड ९१ लाख समपूरक अनुदान १ करोड ४५ लाख बजेट अनुमान गरिएको छ।
यसैगरी राजस्व बाँडफाँट २४ करोड ३९ लाख, वन रोयल्टीबाट ४ लाख ९४ हजार गरी कुल १ अर्ब २८ करोड ७७ लाख ४२ हजार रकम अनुमान गरिएको छ। यो बजेट चालू आवको भन्दा २७ करोड बढी हो।