नेताहरू सांसद, मन्त्री, प्रधानमन्त्रीका लागि दौडधुपमा लागेपछि राजनीतिक यात्राको उद्देश्य बिर्सिए : गगन थापा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूले राजनीतिक यात्राको उद्देश्य बिर्सिने अवस्था आएको बताएका छन्। नन्दप्रसाद जानुका फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थ बिमोचन गर्दै थापाले नेताहरू सांसद,मन्त्री,प्रधानमन्त्रीको रेसमा दौडनका लागि व्यस्त हुने गरेकाले राजनीतिक यात्राको उद्देश्य बिर्सिने अवस्था आएको बताएका हुन्।
उनले पटकपटक प्रधानमन्त्री बन्नुको कारणबारे अहिलेको प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको जिकिर गरे। अहिलेको राजनीतिक सरकार ढाल्ने,गिराउने, चुनाव लड्ने जित्नेमा केन्द्रीत हुँदा मिसन हराएको जस्तो देखिएको उनको भनाइ छ ।
थापाले कांग्रेसभित्रको फोहोर थोरै र सफा धेरै भएपनि सफाको चर्चा कम हुने गरेको धारणा राखे । पार्टीभित्र फोहोर गर्नेलाई भगाउँदै सफा गर्न सहि पात्रहरू खोज्नुपर्ने उनले बताए। थापाले अग्रह नेताहरूको योगदानका कारण अहिले आफूहरु विभिन्न पद र जिम्मेवारीमा पुगेको भन्दै उनीहरूको भूमिकालाई बिर्सन नहुने धारणा राखे।