भ्रष्टाचारको भीमकाय रूप

भ्रष्टाचारको भीमकाय रूप

पदमा भइरहेका मन्त्री भ्रष्टाचारको मुद्दा लागेर पदमुक्त भएका उदाहरण छन् । कर्मचारी प्रशासनतर्फको मूलीका हकमा त्यस्तो इतिहास थिएन । इतिहासमा नामै लेखाउनेमात्रै उद्देश्य राखेर अनेक तिकडमबाजी गर्दै कर्मचारी राजनीतिक नेतृत्वका प्यादा पनि बन्छन् । सम्भवतः वैकुण्ठ अर्याल त्यही कोटीका कर्मचारी थिए र त सचिवबाट अवकाश हुनु दुई दिनअघिमात्रै मुख्यसचिवको जिम्मेवारी पाएका थिए । सचिवमात्रै हुँदा पाँच वर्षमा अवकाशमा जानुपर्ने अवस्थाबाट मुख्यसचिव बनेर फेरि तीन वर्ष सेवामै रहने मौका त पाए तर उनले नाम होइन बदनामीको इतिहास पनि सँगसँगै कोरेका छन् ।

मुलुकको इतिहासमै बहालावाला मुख्यसचिवमाथि भ्रष्टाचार अभियोगमा मुद्दा लाग्यो, वैकुण्ठ अर्यालले भ्रष्टाचारबाट त्यही बदनामी आर्जे । मुख्यसचिवमा शंकरदास बैरागी हुँदाहुँदै उनलाई प्रधानमन्त्रीको सल्लाहकार बनाएर कांग्रेससँगको गठबन्धनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्याललाई मुख्यसचिव बनाएका थिए । अर्याललाई राजनीतिको छत्रछाया कतिसम्म थियो भन्ने मुख्यसचिवमा उनको नियुक्तिबाटै प्रष्टिएको थियो । 

मुख्यसचिव वैकुण्ठसमेत विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको छ । उनीमाथि भ्रष्टाचारको एउटा अभियोगमा मुद्दा दर्ता भए पनि अनेक प्रकरणमा उनी संदिग्ध पात्र हुन् । एक किसिमले भन्दा पदमा रहँदा अर्यालले भ्रष्टाचारको योजना रचेको बुझिन्छ ।

अन्तःशुल्क स्टिकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ अनियमितता गरेको भ्रष्टाचार मुद्दा लाग्नुमा अर्यालले सञ्चार सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रको अध्यक्षका हैसियतमा गरेको बदमासीको प्रतिफल हो । त्यसो त उनीमाथि टेरामक्स प्रणाली खरिद गर्न दिने प्रक्रिया अघि बढ्न लगाउने र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा विकल पौडेललाई ल्याउनकै लागि मापदण्ड संशोधन पनि अर्यालले नै गरेका थिए । ती पौडेलसँग कमिसनको लेनदेन गरेका तथ्य पनि बाहिर आएका थिए । त्यसका बाबजुद पनि सरकारले भने उनलाई कुखराले चल्ला छोप्दा झै छोपेरै राखेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक आयोग भएकै हुँदा उसले अर्यालविरुद्ध मुद्दा चलायो र उनी स्वतः निलम्बनमा परे । नेपालको कर्मचारीतन्त्र कमिसनखोरी र घुस्याहा छ भन्ने आमजनताको धारणालाई मुख्यसचिव अर्यालको भ्रष्टाचार प्रकरणले पुष्टि गरेको छ । र, उनकै उदाहरण हेर्दा पनि राजनीतिक नेतृत्व त्यस्तै कर्मचारीको संरक्षक र दाहिना भइरहेको पनि पटाक्षेप हुन्छ । भ्रष्टाचार एउटा तप्काबाट मात्रै नभई कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वको मिलिभगतमा हुँदै आएको तथ्य यो प्रकरणले प्रष्ट्याएको छ । र, विकल पौडेलजस्ता चतुर खेलाडी जोसुकैको सरकार आउँदा पनि सुरक्षण मुद्रण केन्द्रको निर्देशक वा अरू राजनीतिक नियुक्तिका योग्य पात्र बन्नुमा पनि राजनीतिक नेतृत्वकै आशीर्वाद थियो ।

अर्यालको भ्रष्टाचारविरुद्ध मुद्दा चलाएर अख्तियारले ठूलालाई पनि ऐन लाग्ने सन्देश पनि प्रस्टसँग दिएको छ । अब दोषीमाथिको सजाय अदालतबाट पक्कै हुनेछ । तर, यो प्रकरणबाट संलग्नमात्रै नभई तिनका संरक्षकहरूलाई पनि तान्न सक्ने हो भने भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा ठूलो उपलब्धि हुनेछ । भ्रष्टाचारका कुनै पनि संरचनाहरू भत्काइनुपर्छ । कसैसँग कुनै पनि खालको सम्झता गरिनुहुन्न ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.