१ वडा १ उत्पादन, उत्पादनमा आधारित प्रोत्साहन

१ वडा १ उत्पादन, उत्पादनमा आधारित प्रोत्साहन

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। सबै वडामा माटो परीक्षण गरी कुन वडामा के उत्पादन हुन्छ त्यही अनुसार एक वडा एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा समावेस गरेको छ। 

निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीमुखी र प्रतिस्पर्धीमुखी बनाउन नगरपालिकामा उत्पादनमा आधारित प्रोत्साहन र अनुदान वितरण गरिने गरी आगामी वर्षको नीति तथा कार्यक्रम ल्याइएको नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए।

सन्धिखर्क नगरपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूमा आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने उद्देश्यले पर्यटकहरूका लागि वेलकम टु सन्धिखर्क अभियान सञ्चालन गर्ने भएको छ। पर्यटकहरूका लागि होमस्टे सञ्चालनका लागि स्थानीय क्लब, आमा समूह निजी क्षेत्रसँग तथा सरोकारवाला निकायसँग समन्वय गरिने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। 

जलवायु परिवर्तनका कारण पानीका मुहानहरू सुक्ने तथा पानीको अभाव हुन नदिन एक सामुदायिक वन एक रिचार्ज पोखरी अभियान सञ्चालन गर्ने भएको छ। जनज्योति माध्यमिक विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीका लागि विज्ञान छात्रवृत्ति र पाणिनि बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गर्ने विद्यार्थीका लागि नगर प्रमुख छात्रवृत्ति प्रदान गर्ने भएको छ। 

आगामी आर्थिक वर्ष २०८१।८२ का लागि १ अर्ब ७ करोड ११ लाख १७ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरपालिकाको १६ औं नगरसभामा उपमेयर मिश्रा आचार्यले १ अर्ब ७ करोड ११ लाख १७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए। 
सन्धिखर्क नगरपालिकालाई कृषि, पशुपालन र पर्यटनको माध्यमबाट विकास गर्ने गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको नगरपलिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताएका छन्। 

पाणिनी गाउँपालिकामा आर्थिक वर्ष २०८१/८२ को बजेट सर्वसम्मत रूपमा पारित गरेको छ। गाउँपालिका उपाध्यक्ष नर्मदा पौडेलले प्रस्तुत गरेको बजेट दोस्रो गाउँसभाको पाँचौँ अधिवेशनबाट सर्वसम्मत रूपमा पारित गरिएको हो।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ८१ करोड ३८ लाख २२ हजार २५६ रुपैयाँ बराबरको बजेट ल्याएको हो। गाउँपलिकाको विकास जनप्रतिनिधिहरूको अभिभारा रहेको भन्दै पालिका उपाध्यक्ष नर्मदा पौडेलले एकै पटक सबै योजना समेट्न नसकिने भएकाले क्रमशः विकासलाई गति दिने बताइन्। गाउँपलिकाले आर्थिक वर्ष २०८०/०८१ मा हाल सम्म चालुतर्फ ५९.६४ प्रतिशत र पुँजीगततर्फ ५२.९५ प्रतिशत गरी समग्रमा ५७.८५ प्रतिशत बजेट खर्च भएको उपाध्यक्ष पौडेलले जानकारी दिईन।गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम पेस गरी सर्वसम्मत पारति गरेको थियो।

मालारानी गाउँपालिकाकाको आव २०८१।०८२ मा दीर्घ रोगीहरूलाई निःशुल्क औषधि वितरण गर्ने कार्यलाई आगामी आवमा समेत निरन्तरता दिइएको छ। 

शीतगंगाको स्थानीय मदिरालाई ब्रान्डिङ गर्ने योजना 

क्षेत्रफलका हिसाबले नेपालकै सबैभन्दा ठूलो स्थानीय तह अर्घाखाँचीको शीतगंगा नगरपालिकाले स्थानीय रूपमा उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ। जंगलमा पाइने मौवाको फूलबाट बनाइने रक्सी, स्थानीय रैथाने बाली र फलफूलबाट बनाइने रक्सीको ब्रान्डिङ गरिने लक्ष्य रहेको योजना अधिकृत नुमलाल खनालले बताए। संघीय कानुनमा टेकेर स्थानीय रूपमा उत्पादन हुने मदिराको गुणस्तर र ब्रान्डिङ गरेर आयआर्जनमा जोडिने लक्ष्य रहेको योजना अधिकृत खनालको भनाइ छ। 

नगरले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ। 
आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ८६ करोड ८६ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। नगरको १५औं सभामार्फत नगर उपप्रमुख गीता भाटले सार्वजनिक गरेको बजेटमा चालुतर्फ ६२ करोड ९५ लाख ६५ हजार र पुँजीगततर्फ २३ करोड ९१ लाख २५ हजार रुपैयाँ रहेको छ।

नगरपालिकाले नगरभित्रका ८४ वर्ष उमेर पुगेका नागरिकलाई सम्मानस्वरूप २५ हजार रुपैयाँ दिने कार्यलाई निरन्तरता दिएको नगर प्रमुख छविलाल पौडेलले बताए। उनले वृद्ध अवस्थामा हेरचाह गर्ने घरपरिवारको लागि पनि सहज होस् भनेर रकम उपलब्ध गराउने निर्णय गरिएको बताए। 

शीतगंगाले कृषि उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलाई बजेटमा प्राथमिकता दिएको छ। शीतगंगा कृषि, पशुपालनको लागि सम्भावना राम्रो भएको नगर हो। तराईका जिल्लासँग सिमाना जोडिएको यहाँको उत्पादन बुटवल, कपिलवस्तु, दाङसहित भारतीय सीमा नाका कृष्णनगर हुँदै भारत निर्यात हुन्छ। पढेलेखेका युवालाई कृषि उद्यममा जोड्ने नगरको लक्ष्य रहेको उपमेयर भाटको भनाइ छ। 

नगरभित्रका ६ वटा नगर गौरवका सडक ठाडा–अमराई–जुकेना देउराली ऐरावती, भेडामारे–सिमलपानी–बौरीभाट गाउँ चिदिचौर हुँदै चोलारानी दाव पावरा बिक्रमसोता, चाक्ला–हरेबरे–बहखोर– पाकुरी धानखोला, सीतापुर–सुवर्णखाल–मन्द्रे– नेटापोखरा र ढुंगेसेरा–टिकरी–मौवाबारी–वनकासवासलाई निर्माण गर्न नगर, संघ र प्रदेशबाट समपूरक अनुदानसमेत गरी ५ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ। 

त्यसैगरी खडरबट्टी–फोर्सल–सुपारीनेटा–बाँके हरे, सातमारा–लाहापे–सिलिङखोला–चिदीचौर सडक र हरे–लौरी–लामाताल सडकलाई २ करोड २० लाखसहित नगरभित्रका सडक मर्मत तथा स्तरोन्नतिका लागि कुल ९ करोड २० लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। सुशासनतर्फ १३ करोड ५२ लाख ७० हजार बजेट छुट्ट्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.