कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, एक घाइते
पोखरा : अविरल वर्षाको कारण पहिरो जाँदा कास्कीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार रातिदेखि परेको अविरल वर्षाको कारण पहिरो जाँदा कास्की जिल्लाको मादी गाउँपालिका ५ चितेपानी घुम्तीमा घर पछाडिको ढिस्को खसेर घर भत्कँदा कोठामा सुतिरहेकी १३ वर्षकी आयुस्मा रानाभाटको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
एउटै कोठामा सुतेकी ७० वर्षीया हजुरआमा लालमाया बन्जारीलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ। दुई जना मात्र सुतेको घरको पछाडिको भाग क्षति भएको प्रहरीले बताएको छ। प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरको पछाडिको माटोको ढिस्को खस्दा यो घटना भएको हो।
यसै गरी पोखरा २७ आरुपाटामा पहिरोले घर भत्कँदा घरमा सुतिरहेका तीन वर्षीय अनमोल सुनारको मृत्यु भएको छ। आरुपाटाका हरि सुनारको ढुङ्गा माटोले बनेको दुई कोठे कच्ची घर माथिबाट आएको पहिरोले भत्कँदा बालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।
घरमा सुतेको अवस्थामा हरिका तीन वर्षका छोरा अनमोलको पहिरोले थिच्दा मृत्यु भएको र उनकी श्रीमती २७ वर्षीय रितु सुनारलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको बताइएको छ। हरि सुनार र उनकी ९ वर्षकी छोरी अंजलीलाई सकुशल उद्धार गरिएको कास्की प्रहरीले बताएको छ। पहिरोका कारण घर पूर्ण रूपमा क्षति भएको पनि प्रहरीले बताएको छ।