निरन्तरको वर्षासँगै विराटनगरमा सुरु भयो डुबान, विद्यालयहरुमा बिदा

निरन्तरको वर्षासँगै विराटनगरमा सुरु भयो डुबान, विद्यालयहरुमा बिदा

विराटनगर : कोशी प्रदेशको राजधानी विराटनगरमा डुबानको समस्या सुरु भएको छ। निरन्तरको वर्षासँगै ठाउँठाउँमा डुबान हुन थालेको हो। 

विराटनगरको पूर्वतर्फ सिंघिया र पश्चिमतर्फ केसलिया खोला छन्। मंगलबार रातिदेखिको अविरल वर्षासँगै दुवै खोलामा पानीको बहाव उच्च भएको छ। खोलामा आएको बाढी ‘ओभरफ्लो’ भएर बस्तीतिर पस्न थालेको प्रहरीले जनाएको छ। 

विराटनगरमा पानी निकासको उचित प्रबन्ध छैन। जसका कारण सामान्य वर्षामै विराटनगर डुबानमा पर्ने गरेको छ। निरन्तरको वर्षापछि विराटनगरका अधिकांश स्थान जलमग्न बनेका छन्। विराटनगर महानगरपालिकाले विराटनगर बजारलाई डुबानमुक्त गर्ने योजना अनुरुप काम भइरहेको दाबी गरेपनि पानीको निकासलाई व्यवस्थित गर्न सकिरहेको छैन। 

महानगरपालिकाकै लापरबाहीका कारण बर्सेनि सयौं सर्वसाधारण बाढी र डुबानको चपेटामा पर्ने गरेका छन्। विराटनगर–५ का सनोज मण्डलले महानगरपालिकाको बेवास्ताका कारण सर्वसाधारण समस्यामा परिरहेको बताए। ‘वर्षा भएर डुबान सुरु भएपछि जनप्रतिनिधिहरु डुबान प्रभावित क्षेत्रमा पुग्ने गरेका छन्। तर, बेलैमा निकासको उचित प्रबन्ध गरिदिएको भए यस्तो अवस्था आउने थिएन,’ उनी भन्छन्, ‘डुबान हुन थालेपछि अनुगमन गर्ने र काम देखाउने प्रवृत्ति हावी भयो। सर्वसाधारण समस्यामा परिरहेका छन्।’ 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिंघिया खोलाको बाढी हाटखोला आसपासका बस्तीतिर पस्न थालेको छ। ‘हाटखोला क्षेत्रका ५/७ वटा घर डुबानमा परेको जानकारी आएको छ। पूर्ण विवरण प्राप्त हुन बाँकी छ,’ उनले भने, ‘केसलिया खोलाको बाढी पनि ‘ओभरफ्लो’ भएर बस्तीमा छिरेको जानकारी आएको छ। वर्षा रोकिएन भने बाढी र डुबानले राम्रैसँग जनजीवन प्रभावित बनाउने देखिन्छ।’

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीका अनुसार बाढी र डुबानबाट पीडित भएकाको उद्धारका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ। जोखिमयुक्त स्थानका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ लैजान पहल भइरहेको उनले बताए। ‘सम्भावित जोखिमलाई ध्यानमा राखेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ,’ एसपी कार्कीले भने, ‘जोखिमयुक्त ठाउँहरुको निरीक्षण गर्ने र सर्वसाधारणलाई सचेत गराउने काम भइरहेको छ।’ 

उनका अनुसार निरन्तरको वर्षासँगै खोलानजिक रहेका बस्ती बढी जोखिममा परेका छन्। विपद्को सम्भावित जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन एसपी कार्कीले सबैलाई अनुरोध गरेका छन्। 
विराटनगर महानगरका प्रवक्ता एवं विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपानेले वर्षासँगै विराटनगर जलमग्न भएको बताए। विराटनगरका अधिकांश स्थान डुबानमा परेको उनको भनाइ छ। उनका अनुसार सर्वसाधारणका घरघरमा पानी पस्न थालेको छ। पानीको निकास भएपनि धेरै स्थानमा बनाइएका ठूला पर्खालले अवरोध पुर्याएको न्यौपाने बताउँछन्। 

उनका अनुसार विराटनगरका करिब ५ सय घरमा पानी पसेको आकलन छ। 

पीडितलाई उद्धार गरेर राख्नका लागि विद्यालय र सामुदायिक भवनलाई ‘सेल्टर’का रूपमा तयारी अवस्थामा राखिएको जानकारी न्यौपानेले दिए। विराटनगरमा ६० वटा ‘सेल्टर’ तयारी अवस्थामा राखिएको उनले बताए। उनका अनुसार विराटनगर– १९ का ८ परिवारलाई उद्धार गरेर शिवशक्ति विद्यालयमा राखिएको छ। 

महानगरले डुबान क्षेत्रमा उद्धार र नाला निकासका लागि ३ वटा जेसीबी, २ वटा टिपर र महानगरप्रहरीसहित करिब १ सय ५० बढी जनशक्ति उद्धारमा खटाएको न्यौपानेले बताए। 

त्यस्तै, अविरल वर्षाले जनजीवन प्रभावित भएसँगै विराटनगर महानगर क्षेत्रका विद्यालयमा बुधबार बिदा दिइएको छ। सरकारी तथा निजी विद्यालयमा एक दिन पठनपाठन नहुने भएको हो। अधिकांश स्थान जलमग्न भएपछि विद्यार्थी आउनसक्ने सम्भावना नरहेकाले बिदा दिइएको प्याब्सन विराटनगरका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए। 

‘वर्षासँगै केही विद्यालयसमेत डुबानमा परेका छन्। पठनपाठन गराउन सक्ने अवस्था छैन,’ उनले भने, ‘विद्यार्थी विद्यालयसम्म आइपुग्नसक्ने अवस्था छैन। वर्षाकै कारण पठनपाठन प्रभावित भएको हो।’ वर्षा रोकिएर अवस्था सामान्य बनेपछि पठनपाठन नियमित गराइने बुढाथोकीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.