गोरखा मिडियामा रकम अपचलनको विषयमा सुरू भयो छानबिन, समितिले झिकायो ९ वटा सहकारीका कागजात
काठमाडौं : सहकारी प्रकरणसम्बन्धी गठित संसदीय छानबिन समितिले गोरखा मिडियामा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ। समितिका संयोजक सूर्य थापाले कार्यादेशमा उल्लेखित अनुसूची २ मा रहेका सहकारीको कागजात झिकाउने निर्णय भएको बताए।
बुधबारको बैठकपछि सञ्चारकर्मीसँग उनले भने, 'अनुसूची २ मा रहेका ९ वटा सहकारीसँग सम्बन्धित कागजात मगाउने निर्णय भएको छ। जसमा साधारणसभाको प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, सञ्चालक समितिको प्रतिवेदन र अन्य वित्तीय प्रतिवेदनहरूलगायत छन्।'
उनले विभिन्न सहकारीमार्फत गोरखा मिडियामा रकम प्रवाह भएको र उक्त रकमको स्थिति अध्ययनका लागि ६ वटा बुँदासहित कागजात मगाएको बताए। उनले गोरखा मिडियामा रकम अपचलन भएको विषयमा सबैको चासो रहेको र टीओआरमा पनि छुट्टै अध्ययन गर्ने उल्लेख भएकाले सोही विषयमा केन्द्रित भएको बताए।
समितिले गोरखा मिडियामा रकम अपचलन भएका भनिएका सहकारीहरू आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीसँग कागजात झिकाउने निर्णय गरेको हो।
समितिका संयोजक थापाले यसअघि समितिले सहकारी समस्याका विषयमा गठित विभिन्न ८ समितिहरूको प्रतिवेदन मगाएको र ती प्रतिवेदनहरूबारे अध्ययन अनुसन्धान भइरहेको बताए। 'ती प्रतिवेदनहरू हामीले प्राप्त गरिसकेका छौं। अहिले अध्ययन गर्ने काम भइरहेको छ। अरु केही निकायसँग पनि छलफल गर्ने निर्णय गरेका छौं। सहकारीको समग्र विषयको अध्ययन गर्दै कार्यादेशले तोकेको विषय पनि टेक्दै जानेछौं,' उनले भने।
उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै सबुत, प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान गरे।
त्यस्तै आजको बैठकमा समितिले सहकारी विज्ञ दीपक प्रकाश बास्कोटा र केशव प्रसाद बडालसँग छलफल गरेको थियो। उनीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका ऐन कानुन र प्रवाधानका विषयमा जानकारी गराएको संयोजक थापाले बताए।