दुर्गमका बिरामीको व्यथा : हेलिकोप्टर कुर्दाकुर्दै आएन, गयो ज्यान

दुर्गमका बिरामीको व्यथा : हेलिकोप्टर कुर्दाकुर्दै आएन, गयो ज्यान
सांकेतिक तस्बिर।

गोरखा : चुमनुब्री ७ छुलेका ५८ वर्षीय घ्युर्मे लामा केही दिनदेखि बिरामी थिए । गत मंगलबार उनी बेहोश भएर ढले । 

आकस्मिक उपचार गर्न काठमाडौं जानका लागि हेलिकोप्टर मगाए । दिनभरि पर्खिंदा पनि हेलिकोप्टर नआएपछि बुधबार गाउँका सातजना युवा मिलेर उनलाई बोकेर काठमाडौं लैजाने निधो गरे ।

‘बिरामी सिकिस्त भएपछि हेलिकोप्टर मगायौँ । हेलिकोप्टर आउँछ कि भनेर दिनभरि बाटो हेरियो, तर आएन’, स्थानीय युवा भू छेतेन लामाले भने, ‘मर्नुभन्दा बहुलाउन निको भनेझैँ, हेली नपाएपछि बोकेरै भए पनि अस्पताल पुर्‍याउने भनेर गाउँका हामी छ, सात जना मिलेर स्ट्रेचरमा बोकेर तल झार्‍यौँ ।’ पहिलो दिन बुधबार दिनभर बोकेर बिरामीलाई चुम्लिङसम्म ल्याइपुर्‍याएको उनले बताए । 

चुम्लिङबाट बिहिबार दिनभर बिरामी बोकेर पाङसिङसम्म पुग्ने योजना बनाएको उनले बताए । ‘पाङसिङसम्म जीप आउने जाने गर्दो रहेछ त्यसैले त्यहाँसम्म स्ट्रेचरमा बोकेर लैजान्छौँ’, भू छेतेनले भने, ‘त्यहाँबाट एम्बुलेन्स वा जीप खोजेर काठमाडौँ पुर्याउने योजना थियो । कतै जाम परेन भने पाङसिङबाट बिहान निस्केर रातीसम्ममा काठमाडौँ पुर्‍याउन सकिन्छ भन्ने लागेको थियो ।’ ठाउँठाउँमा अक्सिजन लगाउँदै ल्याएको उनको भनाइ छ ।

व्यथाले साह्रै च्यापेपछि बास बस्ने ठाउँमा चुम्लिङ हेल्थपोस्टबाट अक्सिजन उपकरण ल्याएर अक्सिजन दिए, स्लाइन पानी दिए । ‘तर जति कोशिष गर्दा पनि बचाउन सकिएन । उहाँ रहनु भएन’, चुम्लिङका स्थानीय गोपाल लामाले भने, ‘ब्यथाले साह्रै च्यापेको रहेछ । साँझ साँढे छ बजेतिर उहाँ बित्नुभयो ।’ बिहिबार बिहान चुम्लिङमै अन्त्यष्टि गर्ने तयारी गरिएको उनले बताए ।

चुमनुब्री गाउँपालिकाको प्रवेशद्वार वडा नं. ३ बाहेक बाँकी ६ वटा वडामा सडक सञ्जाल पुगेको छैन । सुविधा सम्पन्न स्वास्थ्य संस्था पनि गाउँमा छैन ।  त्यसैले उपचारका लागि हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । काठमाडौंबाट यहाँसम्म हेलिकोप्टर चार्टर गर्न साँढे तीनलाख रुपैयाँ तिर्नुपर्छ । ऋण गरेर हेलिकोप्टर चार्टर गरी उपचार गराउन पनि भनेको बेला हेलिकोप्टर नपाइने स्थानीयबासीको गुनासो छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.